मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

उत्सव चाड दसैं

उत्सव चाड दसैं


  • काजी गाउँले श्रेष्ठ
  • असोज २५ २०८१, शुक्रबार

आश्विन शुक्ल पक्षको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने पर्व, उत्सव चाडलाई दसैं भन्ने गरिन्छ । नवमी तिथिमा महिषासुर दैँत्य माथि दुर्गा देवीको विजयको संस्मरणमा शाक्त सम्प्रदायले विशेष रूपमा यो उत्सव मनाउँछन् । दशमीमा दुर्गाका प्रतिमा नदी तथा तलाउमा विसर्जन भएपछि दुर्गा उत्सव सकिन्छ । दशमीको दिन रामले रावणको बध गरेका हुँदा रामलिला मनाई दशमीकै दिन रावणको प्रतिरुपको दहन गरी यो पर्व समाप्त हुन्छ । पुराणमा आधारित आस्थाका कारण उत्तर भारतमा उक्त परम्परा चलि आएको हो । मराठा र मैसुरका लडाईहरुका कारण जिर्ण भएको चामुण्डा देवीको मन्दिर टिपु सुल्तानले मर्मत गराएका थिए । दशमीको दिन चामुण्डा देवीको सम्मानमा मैसुर नगरमा हुने प्रदर्शन उत्सव एसियाको ठुला उत्सवहरु मध्य एक मानिन्छ ।

प्रतिपदादेखि नवमी सम्मको समयलाई नवरात्र मानिन्छ । नवरात्रमा कुमारिका (दुई वर्षिया वालिका), त्रिमूर्ति (३ वर्षिय बालिका), कल्याणी, रोहिनी, काली, चाण्डिका, शाम्भवी, दुर्गा र शुभद्रा गरी नौ कुमारीहरुको पूजा गर्नुपर्ने मान्यता छ । दुर्गाकवचका अनुसार–शैलपुत्री, ब्रम्टचारिणी, चन्द्रधण्टा, कूष्माण्डा स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरी दुर्गाको नौ रुपको पूजा हुने कुरा उल्लेख छ । म्लेच्छ, दस्यु, किन्नर, वर्व, शक एवं अंग वंग, कनिङ्ग देशका बासिन्दाहरु पनि दुर्गा पूजा गर्छन् ।

नेपालमा मल्लकालभन्दा अगाडी उपत्यकामा ढुंगा थापना गरी राज्य प्रमुखको रुपमा अजिमा पुजिन्थ्यो । मल्लकालमा अजिमालाई ब्रम्हायणी, रुद्रायणी (महेश्वरी), बैष्णावी, वराही, इन्द्रायणी, चमुण्डा, महालक्ष्मीका नाम दिई तिनका मूर्तिहरु बनाई पूजा गर्ने प्रचलन आयो । किराँत र ज्यापूले मान्ने अजुलाई मल्लकालमा भैरव बनाईयो । आजसम्म पनि ज्यापु, रन्जीत र नायहरु पंचमीमा पचिमह आजुको पूजा गरी चाड मनाउँछन् । मल्लकालमा तलेजु भवानीलाई अष्टमीमा बलि दिई दसैं मनाउने प्रचलन चल्यो । दरबारमा काम गर्ने कर्मचारी हिन्दु हुनुपर्ने थिति बसाली नेवार जातिमा हिन्दुहरुको संख्या बढाउने काम भयो । म्वःनि (मोहनी) नेवारहरुको चाड हो । म्वनितिय (कालो टीका) दशमीमा लगाउने प्रचलन छ । नेवारहरु मोहनी ९ दिन मात्र मनाउँथे, मल्लकालमा त्यो मोहनी दसैं भयो र शाहकालमा वडा दसैँ । नवरात्र तिथीमा जनजातिहरु पितृ पूजा गर्ने चोखिने पितृलाई जाँड, रक्सी, मासु, रोटी चढाएर चाड मनाउँछन् । कोहीकोही सराय नाच पनि नाच्दछन् ।

राणा शासन कालमा अड्डाहरु बन्द गरिन्थे । कर्मचारीहरूको थमौति र पजनी यहीं समयमा गरिन्थ्यो । नवरात्रमा रेजिमेन्टका मुख्यालयमा ठूलो सख्यामा रांगाहरू बलि चढाइन्थे । निसान पुजिन्थे । तरबारको आडमा आफ्नो अभ्युदय हुन्छ भन्ने विश्वास गर्थे । तरबारलाई दुर्गाको प्रतिक ठान्थे । बाजा बजाउने, बन्दुक पड्काउने र एकपछि अर्को बलि दिने क्रम चलिरहन्थ्यो । दशमीको दिन राजाले जम्दारदेखी माथिका पदाधिकारीलाई दर्शन दिन्थे, रु. १।– देखि माथि सलामी राजालाई चढाउँथे । टीका लगाई राजाले कर्मचारीहरुको पद थामी दिन्थे । राणाकालमा नेवाहरुले ज्यासल र मन्दिरहरुमा बलि दिने र राई, मगर, गुरुङ र थारुहरुले बलि दिएको रगतले घरको भेट्टामा पंजा छाप लगाई दसैं मनाएको सबुत दिनुपर्ने प्रचलन चलाए ।

किराँत राजा जितादस्तीको समयमा कोशलका राजा विडडभले कपिलवस्तुमा हमला गरेको समयमा कपिलवस्तुका शाक्यहरु उपत्यका आईपुगेका थिए, सो समयमा उपत्यकामा माछा मार्ने र पशुपालन गर्ने बासिन्दाले शाक्य र कोलियहरुसँग धान रोप्ने, चिउरा कुट्ने प्रविधि सिके । नयाँ धानको चिउरा परिवारका सदस्यहरू मिलेर खाए रमाए । अष्टमीको दिन कूछिभ्वय खाएर नेवारहरू चाड मनाए त्यो नेवारी समुदायमा अझै जीवित छ । शाक्यहरू आउनु अगाडी उपत्यकाका बासिन्दाले नेपाफै (भेंडा)बवलि चढाउँथे, त्यो चलन अझै जीवित छ ।

वर्षा पछि नदीहरू सुक्दै जाने एक ठाउँबाट अर्को ठाउँमा जान–आउन सकिने अवस्थामा शत्रुका आक्रमणबाट बच्न र दशमीको तिथि अत्यन्त शुभ भएकोले शत्रु माथि आक्रमण गर्न तयारीका लागि पनि कोटघरका हतियारहरु अर्जाब्ने, पूजा गर्ने प्रचलन बसेको हुनुपर्छ ।

नयाँ अन्न चढाउने खाने, धानका बालाहरूको पुतली बनाई ढोका माथी झुण्डाउने, गहुँ र जौ को जमरा शीर कानमा सिउरीने, चामलको अच्छेताको टीका लगाउने प्रचलनले दसैलाई कृषि उपज महोत्सवको रूपमा मानी आएको देखिन्छ । कृषि भूमि नै समृद्धिको प्रतिक मानिने समयमा कृषि उत्सव प्रचलनमा आउनु स्वभाविकै हो । वर्षायाममा पशुवस्तुको चरन उपलब्ध हुने र हिउँद लाग्न थालेपछि पशु वस्तुको आहारा जुटाउन कठिन पर्ने हुँदा पशु वध गरी खाने अर्थ संस्कृतिको विकास हुँदा त्यसलाई बलिको जामा लगाइदिनु स्वभाविक थियो ।

नयाँ लुगा, पिङ्ग, लिपपोत, सरसफाई, चिउरा, रोटी, मासु, कुराउनी जमिन र पानीको शारदीप सौन्दर्यता, ताढा रोजगारमा गएका आफ्नो मानिसको आगमन, तीनपाने आदी र श्रमिक शिल्पी व्यापारी र पशुपालकको आम्दानीले दसैं घमाइलो र रमाइलो बनाईरहेको हुन्छ । देखासिकी र अन्धविश्वासको भूमरीले रमाइलोलाई मलिनो बनाउन पनि सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->