बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

५ सय वर्षदेखि सामुहिक टीका (फोटो फिचर)

५ सय वर्षदेखि सामुहिक टीका (फोटो फिचर)


  • लालप्रसाद शर्मा
  • असोज २६ २०८१, शनिबार
oplus_34

खौलालाँकुरी (पर्वत)/  शनिवार वडादसैंको दशमीको दिन । विहान ११ नबज्दै सर्वसाधारण जम्मा भइसकेका थिए । फूल, अक्षता, जमरा र दहीसाथ बाक्लो उपस्थितिले भुमेकोतको रौनक बेग्लै थियो । ५/७ वर्षका बालबालिकासहित ९० वसन्त पुग्नै लागेका बुढापाकाको जमघटले पारिवारिक माहौल सिर्जना गरेको थियो ।

टीकाको साइत थियो ११.३६ बजे । चारजना पुजारी ११ बजेर २३ मिनेटतिर कोत अगाडिको मौलोमा (जहाँ राँगोको बली दिइन्छ) टपरीमा फूल लिएर बेद र चण्डीको मुलमन्त्र पढ्न थाले । मन्त्र पढीसकेपछि मौलो र कोतको चारकुनामा रहेका विभिन्न थानमा दही र फुलअक्षता खन्याइयो । स्थानीय दमाई जातिले कर्नाल, सनई र दमाहा बजाएर नगरा लगाए । पूजारीले साइत छोपेर मौलोमा टीका लगाए । लगत्तै एकापसमा टीका लगाउन शुरु भयो ।

पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीस्थित ज्ञादी खौला भूमेकोतमा दशैमा सामुहिक टीका लगाइन्छ । नेपाल एकिकरण पूर्वका भूरेटाकुरे राजारजौटाको पालादेखिको संस्कृतिलाई स्थानीयले निरन्तरता दिदै आएका हुन् । ‘यो गाउँको संस्कृति हो । सामुहिक टीका ग्रहणले गाउँलेबीच एकता गराउँछ,’ कोत ब्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर क्षेत्री भन्छन्, ‘सामुहिक टीका लगाउँदा कसैको निधार खाली हुदैन ।’ कोतमा टीका लगाएर घर पुगेपछि कोतबाट लगेका अक्षता दैलो, बाकस र दलानमा लगाइन्छ । त्यसपछी बल्ल घरमा लगाउने चलन छ ।

दसैमा आफुभन्दा जेठोबाट टीका थापेर आशिष लिइन्छ । तर कोतमा भने बाबुछोरा र हजुरबा नातीबीच पनि टीका लगाउने चलन छ । धेरै ब्यक्तिको हातबाट टिका लगाएमा मोक्ष प्राप्त हुने विश्वास गर्छन, पुजारी शिवप्रसाद सुवेदी । ‘सामुहिक टीका लगाउने यो पुरानो चलनलाई हामीले निरन्तरता दिएका हौं । यसले बुढापाकाको निधार खाली राख्नु परेन,’ उनी भन्छन, ‘कोतमा आउने सबैले टीका लगाउने र लगाइदिने अधिकार हुन्छ ।’ टीकाका लागि खौलालाँकुरी, ठूलीपोखरी, आर्थरडाँडाखर्क, पकुवा, स्याङजाको बिचारीचौताराबासी आउने गर्छन । कोतमा दलित समुदायको पनि छुट्टै सामुहिक टीका हुन्छ । पटकपटक प्रयास भए पनि अहिलेसम्म दलित र गैरदलितबीच सामुहिक टीका भने भएको छैन ।

कोतमा घटस्थापनाको दिनदेखि पुजारी बसेर पूजापाठ गर्छन । सप्तमीको दिन फुलपाती भित्राइन्छ । अष्टमीको मध्यरातमा बली दिइन्छ । नवमीमा भूमे देवताले मनोकांक्षा पुरा गर्ने विश्वासमा भाकल गर्नेले पंचावली लिएर आउछन ।

अहिलेसम्म कोतको ऐतिहासिक पक्षबारे खासै खोजबिन भएको छैन । यसको गुठीसमेत रहेकोमा विभिन्न ब्यक्तिले हडपे पनि त्यो खोज्ने पहल भएको छैन । जुम्लाबाट आएका राजा र त्यसपछि थुप्रै भुरेटाकुरेले शासन गरेको बुढापाका बताउँछन । महाअष्टमीको मध्यरातमा बली दिइएको बोकाको प्रसाद हनुमानढोका पुराउने चलन भएपनि अहिले बन्द छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->