बागलुङ/अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई धम्की दिएका धौलागिरि अस्पतालका मेडिकल अधिकृत नन्दनप्रसाद शाहले सार्वजनिक माफी मागेका छन् ।
पीडितले सेवा ठप्प पारेर प्रशासनमा सुरक्षा माग्न पुगेपछि शाहले आगामी दिनमा त्यस्तो कार्य नगर्ने लिखित प्रतिवद्दता जनाएका छन् । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई शाहले केही दिनअघि निधारमा गोलीको टिका लगाइदिने धम्की दिएका थिए ।
उक्त धम्की दिएपछि काम गर्न असहज भएको भन्दै सुरक्षा मागेर प्रशासनमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले सुरक्षाको प्रत्याभूति दिने समेत बताए । प्रशासनमै भएको सर्वपक्षिय बैठकमा शाहले लिखित माफी मागेका हुन् ।
अत्यावस्यक सेवा भएकोले चिकित्सक र स्वास्थ्यकर्मीले पनि आन्दोलन छाडेर काममा फर्केका छन् । प्रजिअ सुवेदीसहित अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेल, व्यवस्थापन समितिका सदस्यहरु, प्रमुख मेडिकल अधिकृत रविरन्जन प्रधान लगायतको उपस्थितिमा उक्त सहमति भएको हो ।
अस्पतालमा दैनिक ४ सय जनासम्म बिरामी उपचारका लागि जाने गरेका छन् । तर, शाहको धम्कीले चिकित्सकले काम गर्न सकेका थिएनन् । शाहले डाक्टरहरुलाई निधारमा गोलीको टिका लगाइदिने धम्की दिएको पीडितले गुनासो गरे । उनीहरुले अस्पताल प्रशासनलाई पनि ध्यानाकर्षण पत्र बुझाएका थिए । शाहले धम्की दिएपछि कतिपयले उनी भएको स्थानमा जान समेत डराएका थिए ।
अस्पताल व्यवस्थापन समितिले पनि शाहलाई स्पष्टीकरण सोधेर पीडितलाई काम गर्ने वातावरण बनाउने निर्णय गरेको एक सदस्यले बताए । पछिल्लो समय अस्पतालमा विभिन्न कारणले उपचार सेवा प्रभावित भएको गुनासो आएको छ । मेसु प्रधान र व्यवस्थापन समितिबीच पनि राम्रो सम्बन्ध छैन । जसका कारण उपचार सेवामा पनि असर परिरहेको छ । काम गर्ने वातावरण नभएको भन्दै डा. किरण तिवारी सहितका चिकित्सकले हस्ताक्षर गरेरै प्रशासनमा सुरक्षा मागेका थिए ।





