बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

इतिहासका पानामा भैलो र चुनावी यात्राका संस्मरणहरु

इतिहासका पानामा भैलो र चुनावी यात्राका संस्मरणहरु


  • यामबहादुर थापा मगर
  • कार्तिक ३ २०८१, शनिबार

शहरतिर साउन्ड सिष्टम बजाएर भैलो खेल्ने संस्कृतिको विकास भएपनि गाउँघरमा भैलो खेल्ने चलन हराउँदै गएको छ । कतै गाउँबस्तीबाट देउसी भैलो खेल्ने प्रचलन हराउने त होइन भन्ने आभास हुन्छ ।

तिहारमा देउसी भैलो खेल्दा ४ रुपियाँ कार्तिक दान मेरो भागमा
नेपालका हाल चर्चित संगीतकार वि.वि. अनुरागी (बल बहादुर विश्वकर्मा) दाजुसँग गाउँमा तिहारको समयमा भैलो खेल्नका लागि दशैलगत्तै पुर्णिमाको आसपासबाट तयारी हुन्थ्यो । गाउँघरमा वि.वि. अनुरागी दाजुलाई बाबुराम भनेर बोलाउँथे । बाबुराम दाजुसँगै श्यामकाजी श्रेष्ठ दाजु, शुभु विश्वकर्मा दाजुहरुको आफनै जिम्मेवारी भैलो समुहमा थियो । अरु साथीहरुको मादल बजाउने, नाच्ने, गीत गाउने लगायतको जिम्मेबारी हुन्थ्यो । मैले भट्टाउने काम गर्दा भैलो भन्ने मात्र काम गर्दथे । नाच्ने र गाउने कला–गला मसँग थिएन । तिहार आउनुभन्दा अगाडिबाटै हामी देउराली गाउँतिर जाँदा कोही घरमा मान्छे नहुने, कोही घरमा भैलो आएको थाहा पाएर लुक्ने गर्दथे । हामीले पुछार, मौरीभिर, इधारा, ढुंगेटोल, चमचामुनी, चौडिला, नयाँबारी, दोकान, धौलेचउर, चउर, माझघर, सतभैया, पुर्णपानी, समुन्नेडाँडा, पात्ले, तल्लाथर, लामीडाँडा, इन्द्रेणी टोलमा सिमित भएर भैलो खेन्थ्यिो । भैलो समुहले सकभर धेरैभन्दा धेरै कार्तिक दान माग्नका लागि सुरिलो स्वरमा आर्शिबाद स्वरुप भैलो भट्टाउने गर्दथे । गाउँघरमा हामीहरु पिङ, चमचा, तास, पासा नखेलेर हाम्रो युवा समुह भैलोमा खेल्न गाउँभरी घर नछोडीकन डुल्थ्यौ । तर तिहारमा टोल टोलमा विभिन्न थरिका घरपरिवारमा जान्थ्यौ । मैले भट्टाउने मात्र काम गर्दथे । कसै कसैले त एकदुई माना मकै, कोदो लैजाउन भन्थे । तर हामी भैलो समुहले पैसा दिनका लागि अनुरोध गर्दथ्यौ । नाँच्ने साथीहरु बहुत शरीर दुखेको छ भन्थे । तर अन्य गाउँभरिका भैलो समुहले भन्दा हामीले धेरै घर जानुपर्ने होडबाजी हुन्थ्यो । तर हामीको खाजा खर्च, मादल लगायतका खर्च, बनभोज खर्च सहितको जोहो गरेपछि बाँकी रहेको भैलोको कार्तिके दान रकम भैलो समुह बिच पद र जिम्मेवारी अनुसार बाँड्ने काम गरिन्थ्यो । सायद यो घटना भैलो खेलेको २०४५÷४६ सालको तिहार हुनुपर्छ ।

सो वर्षपछि गाउँमा अर्कै माहोल आएकोले भैरव माध्यमिक विद्यालय भकुण्डेलाई सहयोग गर्न भैलो खेलिएको थियो । भैलोमा बाँकी भएको रकम जनही दामासाहीले नबाँडी गाउने, बजाउने, नाच्ने, भट्टाउने साथीहरुलाई बढी रकम दिने सरसल्लाह गरेर साथीहरुबाट भागबण्डा भयो । मेरो भागमा चार रुपैयाँ मात्र परेको थिए । म खुशी भएको थिए । लाग्दछ मलाई सो चार रुपैयाँ रकम अहिलेको बजार मुल्य अनुसार चार सयभन्दा बढी को हुन्छ जस्तो लाग्दछ । चार रुपैयाँबाट मैले के के काममा खर्च गरे भन्ने बारेमा अहिले जानकारी भएन । त्यस समयमा पाँच पैसा, दश पैसा, पच्चिस पैसा, पचास पैसाका सिक्काबाट हामी जस्ता केटाकेटीहरुका लागि मिठाइ, चकलेट, विस्कुट लगायतका सामानहरु दोकानबाट किन्न सकिन्थ्यो । अरु नाच्ने, गाउने बजाउने साथीहरुलाई पन्ध्र, बिस रुपैयाँसम्म प्रत्येकको भागमा परेको थियो ।

भैलोमा कार्तिके दान स्वरुपमा एक, दुई, पाँचदेखि अधिकतम दश रुपैयाँभन्दा बढी दिदैनथे । हाम्रो समुहभन्दा महिला दिदीबहिनीहरुको देउसी समुह फरक हुन्थ्यो । नखेल्नु जुवा र तास, धनको नाश जिवनको बनिवास भन्ने गीत लगभग सबै घरमा गाइन्थ्यो । लौ बली राजाले पठाएर आएकोले घरबेटी बाबा, घरबेटी आमाले सन्दुकबाट धनको कुटुरो फुकाउँदै छिन् भन्दै घरबेटीलाई परफुल्ल बनाउने तरिकाहरु सुनाउँथे । वि. वि. अनुरागी दाजुले त्यो समयमा पनि बाँसुरी, हारमोनियम, मादल बहुत कलात्मक तरिकाले बजाउनु हुन्थ्यो । कम बोल्ने दाजु वि.वि. अनुरागी पढाइमा पनि अब्बल हुनुहुन्थ्यो । तिहारमा भैलो खेल्ने बाहेक अन्य सांगीतिक कार्यक्रममा मेरो सहभागिता भएन । तर वि.वि. अनुरागी दाजुले बहुत संघर्ष गरेर अहिले स्थापित संगीतकार हुनुभएको छ । उहाँले भाइ श्याम रसाइली, दाजु सुकुराम विश्वकर्मालगायत सबैलाई नेपालको सांगीतिक यात्रामा डोर्याउनु भएको छ । अहिले त्यो बेलाको देउसी भैलोको सम्झना गर्दा बहुत रमाइलो बालापनको यादगर घटनाहरु श्रङखला बनेर आउँछ । तर आजभोली पछिल्लो दश वर्ष देखिका हालका वर्षहरुमा गाउँघरमा भैलो खेल्ने युवाहरु समेत पाउन गाह्रो भएको छ । वि.वि. अनुरागीको बारेमा धेरै पहिला दक्ष संगीतकारका बन्नका लागि संर्घषशील साधक भनेर फिचर लेखेको थिए । पाँच सात वर्ष बढी भए होला भेटघाट नभएको । आगामी दिनमा लामो भलाकुसारी गरेर सांगीतिक यात्राको परिचर्चा गर्ने परिवेश बनेर टिपन टापनको सन्दर्भ सामाग्री बनाउने योजना छ ।

शहरतिर साउन्ड सिष्टम बजाएर भैलो खेल्ने संस्कृतिको विकास भएपनि गाउँघरमा भैलो खेल्ने चलन हराउँदै गएको छ । कतै गाउँबाट देउसी भैलो खेल्ने प्रचलन हराउने त होइन भन्ने आभास हुन्छ । अहिले कुनै कुनै गाउँमा महिलाहरु आमा समुहको भवन बनाउन, समाजको भाडाकुँडा किन्न, गोरेटो बाटो निर्माण गर्न भैलो खेल्ने गरेको पाउन सकिन्छ । विद्यालयको आर्थिक अवस्थालाई सहयोग गर्ने हिसाबले गाउँमा खेल्ने गरेको पाउन सकिन्छ ।

पुलिस आयो भन्दा राती नालीमा खसे
म वि.स. २०५७ सालको त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस, बागलुङ (हाल धवलागिरी बहुमुखी क्याम्पस) को स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सचिव पदमा अनेरास्ववियु माले, अनेरास्वविय क्रान्तिकारी, अनेरास्ववियु छैठौंको गठबन्धन भएको समिकरणमा उम्मेदवार थिए । चुनावी प्रचार प्रसार तिव्र गतिमा दिनरात सबै पक्षमा चलिरहेको थियो । अहिले जस्तो सामाजिक सञ्जाल थिएन । पर्चा, पम्पप्लेट, पोष्टर, आर्टस्ले लेखेको व्यानर लगायतका सामाग्रीहरु हुन्थ्यो । जुलुस निकाल्ने, नाराबाजी गर्दै आमसभा गर्ने चलन थियो । हाम्रो अनेरास्ववियु (नेकपा माले) को तर्फबाट चुनावी अभियान उम्मेदवारी छनौट पछिको चुनावी अभियानको जिम्मा बाबुलाल शाक्यको नेतृत्वमा भै राखेको थियो । बाबुलाल शाक्यसँग म पनि कुनै अखिल गठबन्धनको रणनीतिक, चुनावी तयारी बैठकमा जाने गर्दथे । तर, पार्टीको तहबाट हुने योजनाबद्धमा हुने तयारी बैठकमा सहभागी हुन भने म सकेको थिइन् । तर, चुनावी कमान्डर बाबुलाल शाक्यलाई तोकेर पठाएको थियो ।

केही सरसल्लाह माग्नु पर्यो भने बाबुलाल शाक्यमार्फत जिल्ला कमिटि र पार्टीमा कुराकानी जान्थ्यो । चुनावी जित्नुपर्छ भनेर पार्टीको कार्यालयमा पटक पटक समुहमा छलफल नेतागणहरुमा गर्दथे । त्यस समयमा लालीगुराँस चोकमा रहेको नेकपा मालेको पार्टी कार्यालयमा स्व. हरि बहादुर कार्की (रेश), मोहनालाल शर्मा (अधिकारीचौर), नर बहादुर थापा मगर (भकुण्डे, हाल सविधान सभा सदस्य), प्रेम बहादुर के.सी.( तित्याङ), शुभशंकर कँडेल, दिपक थापा (भिमगिठे), हरिनारायण गौतम, राजेन्द्र खड्का (तित्याङ), विष्णु बहादुर भण्डारी (धम्जा) नेताहरुसँग बारम्बार सम्पर्क हुन्थ्यो । तर दैनिक रुपमा चुनावी कार्यक्रममा क्याम्पसको कार्यक्रममा सबै नेताहरु उपस्थित हुँदैनथे । धेरैजसोः बाबुलाल शाक्य, दिपक शर्मा (रात्माटा), सन्जय शर्मा, राजु केसी (पाला), हरिनारायण गौतम, दुर्गा प्रसाद शर्मा (पर्वत) लगायतको समुह चुनावी अवधीभर छुट्दैनथे ।

चुनावको दिन फागुन १४ को दिन आउन लगभग पाँच÷छ दिनको समय थियो । हामी राती अबेरसम्म एघारबाह्र बजे बजार, क्याम्पस डुलेर, दिनभरका क्रियाकलापका बारेमा समिक्षा गरेर भोलिको दिनको कार्यक्रमको योजना बनाउने गर्दथ्यौ । हामीहरु नौदश जनाको गोप्य बैठक बसेर चुनाव प्रसार प्रचार समिति एक सय एकाउन्न जनाको कमिटि निर्माण गरेको प्रेस विज्ञप्ती बनाई वितरण गर्ने र स्थानीय पत्रपत्रिकामा समाचार प्रकाशन लागि दिन्थ्यौ । प्रचार प्रसार उपसमिति, स्वंयसेवक उपसमिति, मतदान स्थल व्यवस्थापन उपसमिति, महिला उपसमिति आदि समितिहरु बनाइ प्रचार प्रसारसहित समाचार प्रकाशन प्रशारण गर्दथ्यौ । क्याम्पस गेटको सुचना पाटीको अलावा कक्षाकोठाहरुको ढोका, बागलुङ बजारका चोक–चोकका घरहरुमा पोष्टर, पर्चा टाँसेर प्रचार प्रसार गर्दथ्यौ । गाउँ गाउँमा गाउँ विकास समितिको नाम लेखेर कमिटिका अध्यक्षका नाममा पर्चा, नमुना मत पत्र, फोटो सहितको पोष्टर पठाउने गर्दथ्यौ । तर मलाई सुरुमा चुनाव जितुला जस्तो लागेको थिएन । तर नेपाल मगर विद्यार्थी संघको नेतृत्व, मैले स्थानीय पत्रपत्रिकाहरुमा नियमित लेख, समाचार प्रकाशन गर्र्ने बानी र अखिल गठबन्धन भएका कारणले पछिल्लो समयमा हल्का आशा पलाएको थियो । सचिव पदमा सर्वाधिक मत लिएर चुनाव जितेको थिए ।

तर एक साँझ झण्डै रातीको दश बजेको थियो होला । अहिलेको जिपपार्कबाट क्याम्पस डुलेर हामी सेल्टरमा जाने समयमा बाटोहरु सुनसान जस्तो थियो । बाटोमा कहिलेकाँही प्रहरीको मात्र गस्ती हुन्थ्यो । जब हाम्रो टोली जिपपार्क उकालोतर्फ चोकहुँदै हाडेपाखाको बाटोमा जाने मोडमा थियौ । समुहमा आपसमा हल्का कुराकानी भएको थियो । तर जिपपार्कको चोकनिर पुग्ने बेलामा एक्कासी बाबुलाल शाक्यले ओहो पुलिस आयो भनेर झस्काउँदै ठुलो स्वरमा भनेपछि अरु साथीहरु दुर्गन थाले । म पनि सुरक्षित स्थानमा भागेर जान्छु भन्दा नजिकैको सडकको नालीमा खसे । नालीबाट निस्कदा त हल्का चोट पनि लागेको थियो । शरीरभरि नालीको हिलो लागेको थियो । साथीहरु मलाई देखेर खित्का छोडेर हाँसेका थिए । वास्तवमा प्रहरी आएको थिएन । ढाँटेर हाँसी मजाकका लागि बाबुलाल शाक्यले ठटयौली गरेका रहेछन् । फेरी मलाई प्रहरी झडप, प्रहरीको लखेटाईमा परेको विगतको अनुभव थिएन । पछि विस्तारै पटक पटक प्रहरीको झपडमा परेको थिए । म बल्ल बल्ल नालीबाट उठेर बाटोमा उक्ले । हिलो शरीरबाट झार्न खोजे तर झरेन । हाम्रो सेल्टर भएको कोठामा गएर हिलो राम्रोसँग पखाले । खाना खाने समयमा पनि हिलोको गन्धले राम्रोसँग खाना खाइन । साथीहरुले रिसाएर कम खाना खायो भनेर अझै जिस्काए । म नबोली सुते तर साथीहरु भोलिका कार्यक्रमका बारेमा सरसल्लाह गरेर सुतेका थिए ।

म अहिले पनि सो स्थानको बाटो हँुदै हिंडदा पहिला पहिला खुब सम्झिने गर्दथे । अहिले सो स्थान बाटो पिच भएर बाटो चाक्लो बनाएर अझै फराकिलो स्थानमा नाली बनाएको छ । पहिला नाली ढलान नगरेको थियो । अहिले नाली ढलान भएको पक्की भएको छ । राजनीतिक क्रियाकलापका ति दिनहरु संघर्षका रुपमा अहिले पनि ताजा रुपमा आउँछ । अहिले मलाई सँगै विद्यार्थी राजनीति गरेका साथीहरु एक स्थानमा जम्मा भई चिया पार्टी गरेर फोटो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने तिव्र इच्छा जाँगेको छ । सम्भव भए र इच्छुक साथीहरु भएमा यो लेख अध्ययन गराउने योजना छ । अझै फरक राजनीतिक, सांगठनिक, सामाजिक, साँस्कृतिक, वातावरणीय पक्षका विषयमा रोचक, ज्ञानबद्र्धक टिपन टापनका पहलहरु नयाँ नयाँ परिवेश र इतिहासका पाटाहरुमा सजाउने मन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->