मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

प्रगतिवादी साहित्य : सैद्धान्तिक र दार्शनिक अवधारणा

प्रगतिवादी साहित्य : सैद्धान्तिक र दार्शनिक अवधारणा


  • माधव चापागाईं
  • कार्तिक ८ २०८१, बिहिबार

प्रगति भन्नाले राम्रोसंग अगाडि बढ्ने प्रक्रिया हो, भने वाद भन्नाले तत्वदर्शीहरुले निश्चित गरेको कुनै मत वा सिद्धान्तलाई बुझिन्छ । अर्थका तहमा उन्नति, अग्रगति वा विकासलाई समेट्ने प्रगतिवादले सामान्य अर्थमा समाज वा साहित्यलाई प्रगतितर्फ डो¥याउँदै लैजानमा हित मान्ने सिद्धान्तका रुपमा लिन सकिन्छ । साहित्यिक क्षेत्रमा प्रगतिवाद भन्नाले कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भैतिकवादी विश्वदृष्टिकोणको द्योतक हो । यो निश्चित दार्शनिक र सैद्धान्तिक मान्यतासित सम्बन्धित वाद भन्ने बोध हुन्छ । समाज र जीवनको यथार्थलाई स्वीकार गरेर यथास्वरुप प्रस्तुत गर्नु सामाजिक यथार्थवाद हो, भने त्यस यथार्थलाई क्रान्तिकारी विकासका सन्दर्भमा चित्रण गर्नु समाजवादी यथार्थवाद हो । साहित्यमा यसैलाई प्रगतिवाद भनिन्छ । यसरी हेर्दा प्रगतिवाद भन्नाले समाज र जीवनको यथार्थलाई प्रस्तुत गर्दै समाजलाई प्रगति पथमा डो¥याउने माक्स र एङ्गेल्सद्वारा प्रतिपादित सैद्धान्तिक मान्यता भन्ने बुझिन्छ ।

प्रगतिवादलाई राम्ररी बुझ्न माक्र्सवादी दर्शनलाई नियाल्नु पर्छ । यो देश, काल, परिस्थिति अनुसार विभिन्न नामले चिनिन्छ । यसलाई माक्र्सवादी, क्रान्तिकारी, सर्वहारावादी साहित्य र समाजवादी यथार्थवाद भनेको पाइन्छ । नेपाली साहित्य जगतमा भने माक्र्सका मौलिक सिद्धान्तलाई आधार मानेर सिर्जना गरिने साहित्यलाई माक्र्सवादी साहित्य भनिन्छ र यसैको समानार्थी शब्दका रूपमा प्रगतिवादी साहित्यलाई लिइन्छ । वास्तवमा प्रगतिवादी साहित्य र प्रगतिशील साहित्यमा फरक छ । प्रगतिवाद सधैं माक्र्सवादी विश्वदृष्टिकोणमा आधारित हुन्छ तर प्रगतिशीलता यथास्थितिको सामान्य विरोधमा देखा पर्छ र यो समयक्रमसंगै प्रतिक्रियावादी र प्रतिगामी पनि हुन सक्छ । प्रगतिवादले अन्धविश्वास र ईश्वर इतर मानवीय चेतनामा विश्वास गर्दै धार्मिक आडम्बर, पाखण्डी भाग्यवादको विरोध, श्रम र भौतिक संसारप्रति विश्वास राख्छ । मान्छेले मान्छेद्वारा मान्छेमााथि गरिने शोषण, दमन र थिचोमिचोको विरोध गर्दै स्वच्छ, स्वस्थ र सुन्दर समाज निर्माणका लागि सबैलाई जुट्न आह्वान गर्दछ ।

प्रगतिवादी साहित्य सामन्तवाद, पुँजीवाद र साम्राज्यवाद जस्ता शोषणमूलक व्यवस्थाको विरोधमा उत्रन्छ र द्वन्द्वात्मक भौतिकवादी जीवन दर्शनमा पूर्णतः आश्रित हुन्छ । यो आशामूखी हुन्छ । यसले युद्ध र हिंसाको अन्त्य चाहन्छ । समाजवादी राज्य व्यवस्थाको पक्ष लिदै शोषण र वर्गविहीन समाज निर्माणका लागि सुस्पष्ट दार्शनिक सोच जनप्रतिबद्धता र मानव कल्याणको केन्द्रमा प्रगतिवाद रहन्छ । पाश्चात्य साहित्यमा परिष्कार, स्वच्छन्दता र यथार्थवाद हुँदै प्रगतिवादको प्रादुर्भाव भएको हो । यथार्थवादलाई आफैंभित्र समेटेर त्यसभन्दा पनि गहिरो रूपमा यथार्थको व्याख्या गर्ने प्रामाणिक र वस्तुगत सिद्धान्त बनेर सर्वहारा वर्गको पक्ष लिंदै प्रगतिवाद अगाडि बढेको छ । श्रमजीवी जनताका आडमा हुर्किएको प्रगतिवाद यथार्थवादको उच्चतम उत्पादन हो । दर्शन, कला, साहित्य, भाषा र विज्ञानका नयाँ–नयाँ चिन्तन र आविष्कारहरूले गर्दा प्रगतिवाद जनजागरणका लागि हतियार बनेको यस किसिमको साहित्यले जनतालाई सचेत र सङ्गठित पार्न, कुसंस्कारका विरुद्ध लड्न, श्रमप्रतिको आस्था जगाउन, न्याय र समानताका लागि जुट्न लिङ्ग, जाति, वर्ग, र वर्णको भेदभाव विरुद्धमा समानताको विगुल फुक्न सहयोग गरेको छ । माक्र्स र एङ्गेल्सद्वारा प्रतिपादित यो मान्यता लेनिन स्टालिन, माओत्सेतुङ् जस्ता राजनीतिक विचारक, रुसी गेओर्गी, प्लेखानोभ, आनातोली, चिनिँया लुस्युन र भारतीय डा. मैनेजर पाण्डे लगायतका साहित्यिक स्रष्टाबाट स्वीकृत वाद हो । त्यसैले प्रगतिवादी साहित्यिक मान्यता वामपन्थी राजनैतिक विचारबाट प्रभावित देखिन्छ ।

साहित्य र कलामा समाजको प्रतिविम्व देखिने गर्दछ । ठुला र साना जाति, गोरा र काला वर्ण, धनी र गरिब आदि विभिन्न तह र तप्काका मानिसहरूको सम्मिश्रणबाट हाम्रो समाजको निर्माण भएको छ । सामन्तवादमा मुठीभर जमिनदार र कुलीन वर्ग व्यापक किसानहरूमाथि अन्याय गर्छन् । पुँजीवादमा पुँजीपतिहरू श्रमजीवी जनतालाई नाफा र पुँजी थुपार्नका लागि अन्यायपूर्ण तरिकाले शोषण गर्दछन् । प्रगतिवादीहरू यी दुवै किसिमका व्यवस्थालाई नङ्ग्याउने, निन्दा गर्ने र निर्मूल पार्ने किसिमको साहित्य सिर्जना तथा प्रचारप्रचार गर्न चाहन्छन् । त्यसैले सामन्तवाद र पुँजीवादको विरोधी साहित्य नै प्रगतिवादी साहित्य हो । यही प्रगतिवादी एवं जनकल्याणकारी विचार धाराको मर्म अनुसार साहित्य रचना गर्ने वाद नै प्रगतिवाद हो । धर्तीको तिर्खा मेट्न आकाशमा कुलो खन्ने सम्पूर्ण दर्शनहरूको विरोधी दर्शनका रूपमा मार्क्सवादी दर्शन उभिएको छ । यही माक्र्सवादी दृष्टिकोण नै दर्शनमा द्वन्द्वात्मक भौतिकवाद, राजनीतिमा साम्यवाद र साहित्यको क्षेत्रमा प्रगतिवाद हो । साहित्यले समाज र मानवको चित्र उतार्ने काम गर्छ । सर्वहारावादी मानवतालाई आत्मसाथ गर्दै साहित्यमा माक्र्सवादी दर्शनले कला–सृजनाका सन्दर्भमा प्रगतिवाद शब्दकै व्यापक प्रयोग गरेको पाइन्छ त्यसैले सैद्धान्तिक रूपमा प्रगतिवाद शब्द प्रचलित र लोकप्रिय देखिन्छ ।

माक्र्सवाद भनेको जीवन र जगतको अध्ययन गर्ने वैज्ञानिक पद्धति हो । यसअन्तर्गत संसारलाई चिन्न र अध्ययन, विश्लेषण गर्न आवश्यक पर्ने समाजको अध्ययन गरिन्छ । जीवन र जगतको अध्ययन गर्दा समाजसँग सम्बन्धित दर्शन, राजनीति र अर्थशास्त्र जस्ता पक्षबारे वैज्ञानिक धारणाको ज्ञान लिन् आवश्यक छ । यिनै पक्षमा आजसम्म विकास भएका वैज्ञानिक धारणाहरूको योग नै माक्र्सवाद हो । यसले हामीलाई प्राकृतिक जगत् र मानव समाजको स्तरोन्नतिपूर्ण कार्य सञ्चालन सम्बन्धी नियमको ज्ञान गराउँछ । प्रकृति र मानव समाजका यावत् परिघटनालाई बुझ्ने र विश्लेषण गर्ने चिन्तन पद्धति नै विश्वदृष्टिकोण हो । यसरी हेर्दा प्रकृति र मानव समाजको विकास प्रक्रियालाई वैज्ञानिक तरिकाबाट बुझ्ने र विश्लेषण गर्ने पद्धति नै भौतिकवाद हो ।

यस चराचर विश्वब्रह्माण्ड सञ्चालनार्थ आवश्यक दुई तत्वहरू चेतना र भौतिक तत्वमा कुन बढी अपरिहार्य छन् भन्ने बारेमा धेरै पहिलेदेखि नै चिन्तन मनन् भएको पाइन्छ । यी दुई तत्वहरूमा आ–आफ्ना धारणाहरू राख्दै अध्यात्म र भौतिकवादीहरूका बिचमा सत्रौं र अठारौं शताब्दीमा ठुलो संघर्ष देखा पर्यो । अध्यात्मवादीहरूले चेतना तत्वद्वारा चराचर विश्वब्रह्माण्ड सञ्चालन भएको तथ्य अगाडि सार्छन् भने भौतिकवादीहरू भौतिक तत्वद्वारा सञ्चालन भएको मान्दछन् । उन्नाइसौं शताब्दीको पूर्वार्धमा माक्र्स र एङ्गेल्सले भौतिकवादको व्याख्या गरेबाट यी दुईमा स्पष्ट अन्तर देखियो, भन्ने कुराले पनि प्रगतिवाद भौतिकवादसँग सम्वन्धित रहेको स्पष्ट हुन्छ ।

माक्र्सवादलाई भौतिकवादी दर्शनकै पर्यायका रूपमा लिइन्छ । माक्र्सवादले अध्यात्मवाद इतर जीवन र जगतको विकासलाई द्वन्द्वात्मक तरिकाले हेरि समाजको विकास चाहन्छ । त्यसैले माक्र्सवादका दार्शनिक आधारमा द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद देखिन्छन् । यी दुवैलाई मिलाएर माक्र्सवादको दार्शनिक आधार द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो भन्न सकिन्छ । त्यसैले माक्र्सवादले जीवन जगत्को व्याख्या गर्ने र जीवन जगतबाट नै कला साहित्यले पनि विषयवस्तु समेट्ने भएकाले यी दुई बिच सम्बन्ध रहेको छ । प्रगतिवाद माक्र्सवादी चिन्तनबाट कला साहित्यलाई चिन्तन गर्ने वाद हो । तसर्थ माक्र्सवादको सैद्धान्तिक आधार द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादलाई प्रगतिवादी कला साहित्यको पनि दार्शनिक आधार मान्नुपर्ने देखिन्छ ।

द्वन्द्वात्मक भौतिकवादले भौतिक पद्धतिद्वारा घटनाको विश्लेषण गर्दछ । माक्र्सले जीवन र जगतको व्याख्या गर्ने क्रममा यान्त्रिक भौतिकवादलाई आदर्श मान्दै भौतिक संसारको विश्लेषण गर्ने भौतिकवादको नै आवश्यकता पर्छ भनि द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रतिपादन गरेका हुन् । जुन वाद दर्शनहरूमध्ये सबैभन्दा वैज्ञानिक दर्शन पनि मानिन्छ । द्वन्द्ववादले प्रकृतिका घटनामा निरन्तर परिवर्तन हुने र त्यो परिवर्तन हुनु अगाडि त्यसमा रहेका आन्तरिक विरोधी शक्तिहरूका विरोधी तत्वहरूको संघर्षले गर्दा नै प्रकृतिमा परिवर्तन वा विकास हुन द्वन्द्वात्मक प्रक्रियालाई बुझाउँछ । माक्र्सले हेगेलको यही द्वन्द्वात्मकता र द्वन्द्ववाद विमुख तर चेतनाको अस्तित्वलाई अस्वीकार गर्ने जर्मन दार्शनिकहरुको भौतिकवादी सिद्धान्तलाई स्वीकार गरी माक्र्सवादमा द्वन्द्वात्मक भौतिकवादलाई प्रमुख सिद्धान्त बनाए । यसरी हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादमा रहेका आदर्शवादी नैतिक र धार्मिक आवरण हटाएर त्यसमा एउटा सुसङ्गत र वैज्ञानिक रूप दिई माक्र्स र एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादको स्थापना गरेका हुन् । जुन वाद र यससँग सम्बन्धित कला साहित्यको पनि आधारभूत दृष्टिकोण बन्न पुगेको छ । द्वन्द्वात्मक भौतिकवादले चेतनालाई वस्तुको एक प्रकारको गुणका रूपमा लिन्छ तर अध्यात्मवादले वस्तुलाई चेतनाको उपज मान्दछ । भौतिकवादले अध्यात्मवादले झै जगतलाई मिथ्या र परम् तत्वलाई सत्य मान्दैन । यसले वस्तुलाई अविनाशी तत्वका रूपमा स्वीकार्छ । यसरी द्वन्द्वात्मक भौतिकवाद अध्यात्मवादको ठिक विपरीत हुन्छ । अध्यात्मवादीहरू पहिले चेनताको प्रादुर्भाव भएको, त्यही चेतनाबाट नै जगत्को सृष्टि भएको र चेतनाद्वारा मानव अस्तित्व निर्धारण नभई सामाजिक भौतिक अवस्थाद्वारा चेतना निर्माण हुने कुरामा जोड दिन्छन् । यसरी हेर्दा द्वन्द्वात्मक भौतिकवादले प्रकृतिमा हुने परिवर्तनलाई मात्र नभई प्रकृति, समाज, चेतना, उत्पत्ति र सौन्दर्य सम्बन्धी सम्पूर्ण धारणाहरूलाई वस्तुगत एवं वैज्ञानिक किसिमले अध्ययन गर्नु पर्नेमा जोड दिन्छ । द्वन्द्व र गतिशीलताकै कारण पदार्थमा परिवर्तन आइरहन्छ भन्ने मान्यता द्वन्द्वात्मक भौतिकवादको रहेको छ । द्वन्द्ववादले ‘विरोधीहरूको समागम’ नियम लागू गर्दै दुई विरोधी वस्तुहरूका बिचमा संघर्ष भएर एकता पनि हुन्छ र यसबाट नयाँ परिस्थिति, स्वभाव र गुणको विकास हुन्छ भन्ने मान्यता राख्छ, भने ‘गुणात्मक परिवर्तनको नियम’ले पदार्थमा परिवर्तनको आवश्यक मात्रा पुगेपछि मात्रात्मक परिवर्तन मात्र नआई गुणात्मक परिवर्तन पनि आउँछ भन्ने मान्यता राख्छ । यसैगरी ‘निषेधको निषेध’ नियमले प्रत्येक नयाँ पुस्तालाई नकारिरहेको हुन्छ भन्ने देखाउँछ । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण भने कला–साहित्यका क्षेत्रमा समेत लागु हुने दृष्टिकोण हो । यसलाई ‘निषेधको निषेध सम्बन्धी’ दृष्टिकोण भनिन्छ । यसकै कारण नयाँ कला र साहित्यले पुरानोलाई निषेध गर्दै अगाडि बढेको छ र कला तथा साहित्यमा नयाँ–नयाँ प्रयोग र मान्यताहरूको विकास भएको छ । यस दृष्टिकोणबाट सामाजिक जीवन र इतिहासको भौतिकवादी अध्ययन गर्ने सिद्धान्त ऐतिहासिक भौतिकवाद हो । अध्यात्मवादले ‘ईश्वरको चाहना बिना केही पनि हुन सक्दैन र ईश्वरको चाहनामा नै नयाँ इतिहास जन्मिन्छ भन्ने भनाइका विपरीत ऐतिहासिक भौतिकवादले इतिहास विकासको आफ्नै निश्चित पद्धति एवं प्रक्रिया छ भन्दछ । यस सिद्धान्तको सुरूवातले इतिहासको क्षेत्रमा क्रान्तिकारी फड्को मारेको छ । समाज परिवर्तन र अग्रगामी प्रक्रिया कुनै अदृश्य शक्ति वा परम् चेतनाको नभई उत्पादन सम्बन्ध र शक्तिबीच श्रमसंघर्ष चल्दै त्यसबाट वर्गसंघर्षको बाटो हुँदै समाज विकसित हुन्छ भन्ने धारणा यस सिद्धान्तको रहेको छ । यही सिद्धान्तले नै वर्तमान समाजले उन्नयनको बाटो अवलम्बन गरेको पाइन्छ । हाम्रो समाजमा शोषित, पीडित अनेकौं वर्गहरू छन् । यी वर्गहरूबीच कहिल्यै पनि मेलमिलाप हुन सक्दैन । यिनै वर्गहरूबीच वर्गीय अन्तर्विरोध चर्किदै जाँदा वर्गसंघर्ष सुरू हुन्छ । अन्ततः त्यस युद्धमा सर्वहारा–निम्नवर्गको नै विजय हुन्छ । यही दृष्टिकोणलाई आत्मसात् गर्दै इतिहासको विश्लेषण गर्ने परिपाटीलाई नै ऐतिहासिक भौतिकवाद भनिन्छ । यो समाज विज्ञानको क्षेत्रमा माक्र्सवादको योगदान हो ।

निम्नवर्गको विजय हुने संघर्ष पूर्ण प्रक्रियासँगै हाम्रो समाजमा परिवर्तत हुँदै आएको छ । यसरी विभिन्न समयमा परिवर्तित हुँदै वर्तमानसम्म आइपुगेको समाजलाई माक्र्स र एङ्गेल्सले ऐतिहासिक भौतिकवादी अवधारणावाट हेर्दै आदिम साम्यवादी, दास, सामन्ती, पुँजीवादी र साम्यवादी युग गरी पाँच ओटा चरणमा विभाजन गरेका छन् । हाम्रो समाज प्रारम्भ अर्थात् आदिम साम्यवादी युगबाट आजको युगसम्म आइपुग्दा साहित्यमा पनि यावत् परिवर्तन आएको छ । समाज विकासको यही मान्यतामा अडिंदै साहित्यमा पनि तदनुकूल व्याख्या र विश्लेषण गरिनुपर्छ भन्ने मान्यता प्रगतिवादले राख्दछ । यही परिवर्तित समाजलाई नै आधार मानेर समाजको अध्ययन र विश्लेषण गरिने पद्धति ऐतिहासिक भौतिकवाद हो र यो माक्र्स वा प्रगतिवादको सैद्धान्तिक आधार हो । यो समाजका साथसाथै साहित्यका क्षेत्रमा पनि लागु हुन्छ किनकि साहित्य समाजको ऐना हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->