बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गाउँभरीका पैंयूका रुख सुके

गाउँभरीका पैंयूका रुख सुके


  • लालप्रसाद शर्मा
  • कार्तिक ८ २०८१, बिहिबार

खौलालाँकुरी, पर्वत/ मध्य कात्तिकदेखिनै पैयूंको र र सेताम्मे र राताम्मे फुलले गाउँनै रंगीन देखिन्थ्यो । धान काटेर थन्काउने, दाइ राख्ने मौसम पनि यही बेला । एकातिर बाली थन्काउने मेसो, अर्कोतिर सेतोरातो पैयूं फुलले मनै चंगा हुन्थ्यो । रंगीन पाखापखेराले थकाइ पनि बिर्सादिन्थ्यो ।

तर पछिल्ला केही वर्षयता भने त्यस्तो दृश्य नदेख्दा कुश्मा नगरपालिका–१३ खौलालाँकुरी, गैराथोकका चोलाखर चालिसेलाइ न्यास्रो लाग्छ । घरछेउमात्र नभएर खेतबारीमा रहेका संयौ पैयूंका रुख एकैसाथ फुलेर गाउँको दृश्यनै रमाइलो बन्ने गरेकोमा अहिले भने त्यो कथाजस्तै बनेको उनले बताए । पुराना र नयाँसमेत रुख सुकेका छन । ‘कात्तिक, मंसिरमा पैयूं फुलले गाउँनै रमाइलो देखिन्थ्यो, एक्कासी रुख मरे’ चालिसेले भने, ‘के रोग आयो कुन्नि । सबै सखापै बनायो ।’

पहिला पैंयू फुल्दा गाउँ यस्तो देखिन्थ्यो । अहिले यी सबै रुख मरेका छन ।

छिमेकी ठूलीपोखरीमा पनि रुख मर्न थालेको चालिसेले बताए । उनका अनुसार गाउँका सबै पैयूंका रुख सुकिसकेका छन । फाट्टफुट्टमात्र बचेका रुख पनि मर्न थालेका छन् । स्थानीयका अनुसार गाउँका ९९ प्रतिशत पैंयू सुकिसकेका छन । नयाँ पात नपलाउने, पात पहेलो हुने, टुप्पोबाट सुक्दै गएर पुरै रुख सुक्ने, हाँगाविगा कुहिएर झर्नेजस्ता लक्षण देखिएको उनीहरुको भनाई छ । ‘सबैलाइ अचम्म पार्नेगरी पैयूंको रुख सुके’ गाउँले भन्छन् । पैयुंको काठ बलियो मानिन्छ । स्थानीयले घर बनाउँदा दलिन, झ्यालढोका, खप्पा, खाँवा, करायाको रुपमा प्रयोग गर्दै आएका थिए । साथै विभिन्न फर्निचर पनि बनाइन्थ्यो । ‘पैयूं पहाडका लागि सालजस्तै एक नम्बर काठको रुपमा थियो’ स्थानीय कृष्णप्रसाद सुवेदीले भने, ‘अव त्यो अवस्था रहेन ।’ पैयूंको पात गाइबस्तुलाई घाँसको रुपमा पनि प्रयोग गरिन्थ्यो ।

करीव एकहजार ७ सय ५० मिटरसम्मको उचाइमा गाउँ रहेको छ । दक्षिण फर्केको फराकिले मोहोडा, खुलेको र पहारीलो ठाउँमा पैयूं राम्रोसंग हुर्कदै आएको थियो । विशेषगरी १३ सय देखि १६ सय मिटरसम्ममा पैयूं बढी थिए । स्थानीयका अनुसार अन्य बोटबिरुवामा भने कुनै असर छैन ।

वन बिज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका उपप्राध्यापक उदयकुमार सिंहले किराका कारण जरा सुक्ने (रुट रट डिजिज) रोगले यस्तो समस्या देखिने बताउँछन । यसलाई फंगल डिजिज पनि भनिन्छ । फंगल प्रभावले गर्दा सुरुमा जरामै रोग लाग्ने तर त्यसको प्रत्यक्ष असर भने बिरुवा सबैमा देखिने सिंहले बताए । ‘जरामा लाग्ने किराले बिरुवालाई आवस्यक मलजल रोकिदिन्छ’ उनले भने, ‘यसले बोटका पात पहेलिएर झरेर टुप्पोबाट मर्दै आउछ ।’ सिंहले पोखरा क्षेत्रमा हावापानीका कारण पैंयूमा यस्तो रोग बढी देखिएको बताए । स्थलगत अध्ययनविना बिस्तृत कुरा भने भन्न नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->