मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

रविको प्रकरणमा दोषी को ?

रविको प्रकरणमा दोषी को ?

रास्वपाले त यतिबेला सरकारलाई, सुरक्षा निकायलाई र अदालतलाई सहयोग गर्ने समय हो । किनकि, उनमा आफूले कुनै गल्ती नगरेको भन्ने पूर्ण विश्वास भए जतिसुकै र जसले छानबिन गरे पनि त त्यो सत्य नै रहन्छ नि !


  • डा. नरनाथ पाण्डे
  • कार्तिक ९ २०८१, शुक्रबार
फाइल तस्विर

रवि लामिछाने देशका एक होनहार युवा हुन् र उनमा राजनितिक चेतना पनि उच्च स्तरको रहेको छ यसमा कुनै कसैको दुईमत छैन । उनी संसारभर नै आफ्नो वाक्कलाका लागि प्रख्यात र गिनिज बुकमा नाम लेखाउन पनि सफल भएका युवा हुन् । उनको विगतको इतिहास सञ्चारकर्मीबाट उदाएको देखिन्छ । त्यसो त उनले देश विदेशमा विभिन्न कामहरू पनि गरे । उनको स्वभाव पहिलादेखि नै आफू चर्चामा आउन जे जस्ता परिस्थितिको सामना पनि गर्न तयार हुने खालको थियो । उनले टेलिभिजनमा लामो समय काम गरे र त्यहाँ काम गर्दा प्रत्यक्षरुपमा जनतासँग सरोकार राख्ने विषयवस्तुलाई कोट्याउँदै राम्रा वा नराम्रा जे जस्ता गतिविधि गरेर भए पनि अधिकांश जनताको नजरमा राम्रो काम गर्ने छाप पारेका व्यक्ति हुन् । यही कारणले उनको जनमत बलियो भयो र सामाजिक सञ्जालमा समेत उनको चर्चा भाइरल भयो । फलस्वरुप रबिलाई पनि सबै काम छाडेर राजनीतिमा आएमा भलो हुने सोच आयो र उनी राजनीतिमा हाम फाले । उनले राजनीतिमा आउन भने केही हतार गरेकै हुन् । दलहरूप्रतिको वितृष्णाले ग्रस्त भएको समाजमा केही जनपक्षीय काम गर्ने र जनतालाई समेत आश्वासन दिएपछि उनले आफूले नै पार्टी खोल्ने निर्णय गरी बिना पूर्ण तयारीका साथ पार्टी खोल्ने हतारो गरे त्यो पनि निर्वाचनको मुखैमा । उनले एकाएक चर्चा बटुले र निर्वाचनमा पनि होम्मिए । निर्वाचनमा जाँदा जनताबाट तिरस्कृत प्रदेश सरकारको चुनावमा भाग नलिने बरु आफू सरकारमा गए प्रदेश संरचनाविरुद्धका लागि लड्ने लोकप्रिय कुरा बताएर चुनावमा गए ।
चुनावमा रबिलाई नसोचेकै परिणाम आयो । उनको पार्टीले कल्पना पनि नगरेजस्तो सफलता हात पार्दै संसदमा छिर्न सफल भयो त्यो पनि चौथो ठुलो शक्तिका साथ । यति भएपछि रबिलाई के चाहियो र उनी निकै हौसिए । सरकार गठनको क्रममा पनि उनले चासो राखे र छिटै आफ्नो बार्गेनिङ पावरको सदुपयोग गर्दै गृहमन्त्री बन्ने प्रस्ताव राखे । गृह मन्त्रालय प्रधानमन्त्री पछि दोस्रो रोजाइको मन्त्रालय हो र उनले गृहमा आफ्नो दाबी छाडेनन् । फलस्वरुप उनले गृह मन्त्रालय लिएर सरकारमा पनि गए । एकाएक यसरी रबि चम्किए कि उनका फलोअर्सले समेत उनको निकै गुनगान गाए र थप हौसला दिने काम गरे । रबि यसरी चम्किएको विपक्षी दललाई मनपर्ने कुरै भएन र उनका विगतका काम कारबाही कोट्याउन कुनै कसर बाँकी राखेनन् । अब बिस्तारै रबिका विगतका कर्तुतहरू देखिन थाले । जसरी उनी उदाएका थिए उनको विगत चाहिँ त्यति स्वच्छ र सुखद रहेनछ । उनको नागरिकता, पासपोर्ट र सहकारी सम्बन्धी काण्ड यति बलियो भएर प्रमाण सहित आयो कि यसले उनलाई क्रमशः गलाउँदै लैजान थाल्यो । यसलाई ढाकछोप गर्न प्रखर वाक्कला भएका रबिलाई पनि धौ धौ भयो र नागरिकताको केसमा चिप्लिए । यही काण्डले उनको सांसद पद पनि गयो र पुनः चुनाव लडेर जितेर संसदमा छिर्ने सम्मका घटनाहरू घटे ।

लेखक
तत्पश्चात पनि उनी पुनः गृहमन्त्री र उपप्रधानमन्त्री बनेर काम गर्न थाले भने उनको शक्ति यति भयो कि सरकार बनाउने र गिराउने खेलमा उनलाई प्रधानमन्त्रीको समेत अफर आएको चर्चा चल्यो । तैपनि सरकार, संसद, छानविनका निकायहरू र सुरक्षा निकायको शङ्कामा रहिरहेका उनी यतिबेला अर्को फन्दामा परेका छन् । सर्वसाधारण जनताको सहकारी रकम ठगीमा उजुरी परेपछि र उनीमाथि छानबीन हुनुपर्ने तत्कालिन प्रतिपक्ष नेपाली काङग्रेसको अडानपछि संसदीय छानबीन समिति नै बन्यो र उक्त समितिले रबिलाई दोषी देखाएर छानविन गर्नुपर्ने प्रतिवेदन दियो । त्यसपछि भने नयाँ परिस्थिति देखापरिरहेको अवस्था विद्यमान छ । अन्ततः उनी पक्राउ परेपछि अहिले प्रहरी अनुसन्धान र अदालतको निर्देशनमा हिँडिरहेका छन् । तर उनी स्वयम्, उनको पार्टी, विपक्षी दल तथा शुभेच्छुकहरूले रबिको पक्राउलाई राम्रो मानिरहेका छैनन् र उनको पक्षमा बोलिरहेका छन् । रास्वपाले त आधिकारिक निर्देशन नै जारी गरेर सम्पूर्ण शक्ति पोखरामा केन्द्रित गरेको छ । पोखरामा दिनहुँ आन्दोलन, धर्ना, कोणसभा र दबाबमुलक विभिन्न कार्यक्रमहरू गरेर निर्दोष रविलाई छाड्नुपर्ने र ओलि सरकार ढल्नुपर्ने जिद्धी कसिरहेको छ । रबि निर्दोष हुन् तर उनलाई फसाउन सरकार, सत्तापक्षका दलहरू, अदालत, सुरक्षा निकाय सबै कसिएर लागेका छन् भनेर उनका समर्थकहरूले नियमित भाषण गरिरहेका पनि छन् । तर सबैले यस्ता गतिविधिलाई राम्रो मानेका छैनन् । कुनैपनि व्यक्ति यदि दोषी हो भने उसले सजाय पाउनुपर्छ र दोषी भए/नभएको अन्तिम फैसला न्यायालयले गर्छ, यो केस पनि अदालती केस भएकाले अब अदालतको फैसला कुर्नुबाहेक अन्य कुनै पनि उपाय नभएकाले अनावश्यकको रोइलो बेकार रहेको पनि बताउँछन् । सहकारी ठगीमा रबि प्रत्यक्ष होलान् नहोलान् जुन सुरक्षा निकायको अनुसन्धान पछि पत्ता लाग्ने र अन्तिम टुंगो अदालतले लगाउने नै छ । तर, यसरी प्रक्रियागत तरिकाले केस अघि बढ्नुपर्ने नियममा भाँजो हाल्न, अदालतका र स्वतन्त्र छानबिनका प्रक्रियामा अवरोध गर्न, प्रभाव पार्न र सर्वसाधारणलाई अन्यौलमा राख्न रास्वपाले गरेको प्रदर्शन ठिक होइन भन्ने जनमत पनि बलियो छ । विभिन्न दलका ठूलाबडा नेताहरूलाई पनि यस्ता आरोप लाग्ने गर्छन् र त्यस्ता आरोप माथि छानबिन हुँदा दोषी भएमा नियमानुसार सजाय पाउने गरेको र दोषी नभए सफाइ पाउने गरेका उदाहरण प्रसस्तै छन् । तर रबिको केसमा यो प्रदर्शन किन भएको होला भन्नेमा अन्यौलता छाइरहेको अवस्था छ । रबिका समर्थकहरूले आफ्ना भ्रष्टाचारका विषय लुकाउन, आफूहरू फस्न लागेको अवस्था छल्न, उदाउँदै गरेका युवा शक्तिलाई शक्तिहिन बनाइ आफैले रजगज गर्न र प्रतिशोध साँध्न मात्र रविलाई आरोप लगाइएको हो तर रवि निर्दोष छन् भन्ने दाबी गर्छन् । यो प्रपञ्च देशका दुई ठूला दलहरू र अदालत समेत मिलेर गरिएको हो भनेर आरोप लगाइरहेका छन् । के वास्तवमा यो आरोप सही हो त ? रविको केसमा के रवि निर्दोष नै हुन् त ? के रविलाई फसाएर उनी र उनको उदाउँदै गरेको वैकल्पिक शक्तियुक्त दललाई नामेट बनाउन चालिएको चाल हो त ? के यसमा अदालत र सबै निकायहरू रबिका विरुद्ध जाइलाग्न र उनलाई फसाउन मिलेका छन् त ? बडो सोचनीय विषय बनेको छ र अहिले यसमा बहस पनि चलिरहेको छ । यसमा शंका उपशंका गर्ने थुप्रै चरहरू पनि देखिन्छन् ।
एकातिर सरकार ढल्नुमा भ्रष्टाचारका फाइलहरू रविले धमाधम खोल्दै व्यक्ति पक्राउ गर्ने अभियान चलाउनु, ठुला ठुला काण्डमा ठुला ठुला नेताकै नाम आउन थाल्नु, ठुला नेताहरू नै पक्राउ पर्ने सम्भावना बढ्नु र अर्कातिर संसदमै रबिलाई सहकारी ठगको आरोप लगाइ नांगेझार पार्नु, प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिन समितिको माग राखेर महिनौं संसद अवरुद्ध पार्नु, रबिलाई जेलमा नहाली नछाड्ने अभिव्यक्ति दिनु दुवै शंकाको घेराभित्र रहेको मान्न सकिन्छ । यसैक्रममा सहकारी रकम अपचलनमा रबिको नाममा किटानी जाहेरी पर्नु, उनीहरूले आरोप लगाएका दुई ठुला दलहरू साँठगाँठ गरी सरकार गठनको प्रक्रियामा जानु, संसदीय समिति बन्नु, समितिले छानबिन गरी रविलाई दोषी ठहर गर्नु, प्रतिवेदन प्राप्त हुनासाथ कार्यान्वयन गर्ने हतारो निर्णय गर्नु, लगत्तै रबिलाई पक्राउ आदेश जारी गरी पक्राउ गर्नु मुख्य उदाहरण हुन् । त्यस्तै, रबि पक्षबाट पनि अदालतबाट फैसलाको प्रतीक्षा गर्नुपर्नेमा सरकार विरुद्ध विषवमन गर्दै सम्पूर्ण शक्ति प्रदर्शन गर्नु जस्ता गतिविधि त्यति सुपाच्य छैनन् । यस्ता गतिविधिले गर्दा दुवै पक्षलाई शंकाको घेरामा राख्न सकिन्छ । आखिर यो केसमा दोषी को होला, रवि वा सरकार पक्ष ? यदि रवि दोषी होइनन् भने अहिलेको प्रक्रियाले त उनलाई जीवनभरका लागि उनका पक्षमा अदालतले सकारात्मक फैसला गर्छ र उनले सधैंका लागि सफाइ लिन्छन् नि । यदि रवि दोषी नै रहेछन् भने उनले आफूले गरेको कर्तुतको सजायँ पाउनेछन् र साथसाथै उनी सधैँका लागि राजनितिबाट हात धोएर जानेछन् । यसरी यो अन्यौलपूर्ण तनावको अवस्था अहिले रास्वपाले नगरेको भए राम्रो हुने थियो । यो त एउटा अवसरको रुपमा रास्वपालाई आएको हो जहाँ रबिलाई लागेका सबै आरोप समाधान गर्ने माध्यम यो हुनसक्थ्यो । रास्वपाले त यतिबेला सरकारलाई, सुरक्षा निकायलाई र अदालतलाई सहयोग गर्ने समय हो । किनकि, उनमा आफूले कुनै गल्ती नगरेको भन्ने पूर्ण विश्वास भए जतिसुकै र जसले छानबिन गरे पनि त त्यो सत्य नै रहन्छ नि । उनलाई कतै फसाउन लागेकै रहेछ भने पनि त्यो एकदिन छर्लङ्ग हुने नै थियो, नबिराउनु न डराउनु भन्ने उखान चरितार्थ हुने थियो नि । यसमा दोषी को हो, सरकार पक्ष वा रबि ? यसको निष्पक्ष छानबीन गरी यथाशीघ्र सत्यतथ्य जान्न जनता आतुर छन् । अस्तु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->