मुस्ताङ/ गण्डकी प्रदेश सभामा म्याग्दीबाट निर्वाचित सांसद हरिबहादुर भण्डारीले बुधवार फेसबुकमा एउटा स्टाटस लेख्दै केही फोटो पनि पोष्टाए । उनको स्टाटस यस्तो छ, ‘कोरला नाका (पानी छैन, शौचालय यस्तो छ नेतालाई उद्घाटनको हतारो) । सामान्य संरचना त बनाउ सरकार । यस्तो अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको छ ।
माटोको शहरको रुपमा विश्व सम्पदा सूचीमा सूचीकृत लोमन्थाङ उपल्लो मुस्ताङमा पर्छ । लोमन्थाङदेखि २१ किलोमिटर उत्तरमा पर्छ चीनसंगको २४ नम्बरको सीमास्तम्भ । सोही सिमा स्तम्भ रहेको तिब्बती पठार नेचुङ–लेक्जे अर्थात कोरला एक महत्वपूर्ण नाका हो । सोही नाकामा बुधवार (आज) देखि पहिलोपटक अध्यागमन (इमीग्रेशन) कार्यालय संचालनमा आएको छ । उक्त कार्यालयको गृहमन्त्री रमेश लेखकले आजै उद्घाटन गरे । गण्डकी प्रदेश सभाको अर्थ तथा बिकास समितिले सोमबार उक्त नाकाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो । समिति सभापति भोजराज अर्याल नेतृत्वको टोली समक्ष स्थानीयले नाकामा भएका विभिन्न समस्याबारे जानकारी गराएका थिए । स्थलगत अवलोकन गरेपछि सांसद भण्डारीले तस्वीरसहित उक्त स्टाटस सामाजिक संजालमा लेखेका हुन् ।
चीनतर्फ भव्य र आधुनिक प्रविधियुक्त अध्यागमन, भन्सार, क्वारेन्टाइन, प्रयाप्त सुरक्षा व्यवस्था, गोदाम, पार्किङ, व्यापारिक केन्द्र, सुरक्षा पोष्ट संचालनमा आइसकेको छ । निकट भविष्यमा नेपाली बजार लक्षित व्यापारिक केन्द्रको पनि धमाधम निर्माण भइरहेको छ ।
नेपालतर्फ भने गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँमा बनेको प्रिफ्याव भवन र चीनले दिएका केही कन्टेनरलाई अध्यागमन कार्यालयको रुपमा संचालनमा ल्याइएको हो । भवनमा ३ कोठा, एउटा हल, एक किचन, शौचालय र बाथरुम छन । चीनले दिएको ५ वटा कन्टेनरमा ९ वटा बेड र केही तिब्बतियन चुल्हो राखिएको छ । तर कार्यालयमा खानेपानीको व्यवस्था छैन । विद्युत पुगेको छ, तर ‘डीम’ आउँछ । सोलार सिस्टम जडान गरे पनि घाम लाग्न छाड्नसाथ विद्यूत आपूर्ति बन्द हुन्छ । मोबाइलमा फोरजी सेवा उपलब्ध भए पनि वाइफाईको व्यवस्था छैन । सुरक्षाकर्मीका लागि उचित पूर्वाधार छैन । सार्वजनिक शौचालय, प्रतिक्षालय पनि छैन ।
हेरौं चीनतर्फको पूर्वाधार

चीनले बनाएको प्रस्थान र आगमन भवन । यसभित्र अध्यागमनलगायत नाकामा चाहिने सबै पूर्वाधार भएर संचालनमा आइसकेको छ ।

चीनभित्र निर्मित गोदाम तथा अन्य कार्यालय ।

चीनियाँ भूमीमा नेपाली र तिव्वतीयन (चिनीयाँ) उपभोक्तालाई लक्षित गरि संचालनमा ल्याइएको मार्केट ।

चीनियाँ भूमीमा निर्माणाधीन व्यापारिक भवन ।

चीनियाँ भूमीमा निर्मित सडक ।


हेरौं नेपालतर्फको पूर्वाधार

बुधवार उद्घाटन गरिएको अध्यागमन कार्यालय भवन ।

सुरक्षाकर्मी बस्ने कन्टेनर ।


नेपालतर्फको व्यापार ।

शौचालयको अवस्था ।

नेपाली सडक





