मुस्ताङ/ हिमालपारीको मुस्ताङ जिल्लामा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको आस्थाको संगमस्थल हो । पछिल्लो समय मुक्तिनाथ आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । कालीगण्डकी करिडोर र कागबेनी मुक्तिनाथ सडकको पहुँचसंगै नेपाली तथा भारतीय भक्तजनको भीड बढ्न थालेको हो । अन्य मुलुकका पर्यटक पनि उल्लेख्य मात्रामा यहाँ पुग्ने गर्छन् ।

सडकको सुविधा र नेपालीमा घुम्ने बानी र धार्मिक आस्थामा बृद्धि भएकाले मुक्तिनाथ दर्शन गर्न जानेहरु बढेका हुन् । हिन्दु धर्मावलम्वीहरुको चार प्रमुख तिर्थस्थल छन् । तिमध्ये बद्रीनाथ, द्वारिकानाथ र जगन्नाथ भारतमा पर्दछन् भने मुक्तिनाथ नेपालमा । यि चारै धामको दर्शन र पुजा गरेपछि मात्र धर्म पूरा हुने विश्वास हिन्दुहरुमा छ ।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि २२ किलोमिटर पूर्व उत्तरमा मुक्तिनाथ मन्दिर रहेको छ । यहाँ आइपुग्न पोखरा लगायतका स्थानबाट सवारी साधनको व्यवस्था छ । कतिपय हेलिकोप्टरमै जाने गर्छन् । पोखराबाट जोमसोमसम्म जहाज र त्यसपछि जीप तथा बसबाट पनि जान सकिन्छ ।

मुक्तिनाथलाई भगवान् बिष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ । तपस्याका क्रममा भगवानको शरीरबाट आएको पसिनाबाट पानीको मुल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको किंबदन्ती छ । प्राचीनकालदेखि नै यहाँ एक मूर्ति रहेको र बिक्रम संवत् १८७१ मा यो मन्दिर बनेको हो ।

यही क्षेत्रमा बौद्ध गुरु पद्मसम्भले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बाहरु समेत बनाएकोले बौद्ध धर्मावलम्बीहरु पनि उत्तिकै आउने गर्छन् । यसैकारण मन्दिरमा पुजाआजा ब्राम्हण र यहाँका आदीवासी आनीहरुले गर्छन् । हिन्दुहरुले भगवान् विष्णुको शिलारूप शालग्राममा विराज भएको विश्वास गर्ने र बौद्ध धर्मावलम्वीहरूले तान्त्रिक सिद्ध गुरु रिन्पोछेसँग जोडेर हेर्ने गर्छन् ।

मन्दिर पछाडि रहेका मूलहरुबाट १०८ गौमुखी धाराहरू हुँदै बगेको पानीमा र दुई कुण्डमा स्नान गरेपछि झक्तजनहरू मन्दिरमा पूजा गर्छन् । मन्दिर ३८ सय मिटर उचाइमा छ ।

मुक्तिनाथस्थित होटल ग्रान्ड साम्बालाका संचालक नाम्ग्या वाङदीले सिजनमा ५ हजारसम्म आन्तरिक पर्यटक मुक्तिनाथ आउने गरेको बताए । विशेष गरी दशै र तिहारको बीचा नेपालका विभिन्न स्थानबाट आन्तरिक पर्यटक मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने गर्छन । ‘एकहजार देखि ५ हजारसम्म आन्तरिक पर्यटक सिजनमा आउने गरेका छन्’ वाङदीले भने, ‘सेप्टेम्बर र अक्टोबरमा भारतीय पर्यटक पनि उल्लेख्य मात्रामा आउँछन । अक्टोबर र नोभेम्बरमा अन्य देशका पर्यटकहरुको उल्लेख्य आगमन हुन्छ ।’ विदेशी पर्यटकहरु विशेष गरी मनाङ र मुस्ताङ सीमामा पर्ने थोराङला पास पार गरेर आउने बढी हुन्छन् ।

मुक्तीनाथमा सानाठूला गरी २५ होटल संचालनमा रहेका र तीनमा झन्डै एकहजार बेड क्षमता रहेको उनले सुनाए । अधिकांश पर्यटक विहान मुक्तिनाथ पुगेर फर्किन्छन् ।


oplus_2






