मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

स्वस्थ युवा कसरी बन्छ मिर्गौलाको रोगी ?

स्वस्थ युवा कसरी बन्छ मिर्गौलाको रोगी ?


  • डा. ऋषिकुमार काफ्ले
  • कार्तिक २४ २०८१, शनिबार

अहिले कस्ता व्यक्तिमा मिर्गौलाको समस्या देखिएको छ भन्दा पनि कस्ता व्यक्तिमा देखिएको छैन भन्ने स्थिति आएको छ। बालबालिका र युवादेखि बुढापाकासम्म, महिला, गाउँ र सहर वा स्वदेश र विदेशमा काम गर्ने जोसुकैमा मिर्गौलाको समस्या देखिएको छ।

आफ्नो जीवनशैली ठीक नराख्ने व्यक्ति जोखिममा छन्। पानी पिउनुपर्ने, व्यायाम गर्नुपर्ने, समयमा सुत्नुपर्ने र स्वस्थकर खाना खानुपर्ने हो। थाहा नभएको पनि होइन तर हामी गर्दैनौं।

शरीर स्वस्थ राख्न के गर्नुपर्छ भन्यो भने सुतेर बस्नुपर्छ भनेर कसैले भन्दैन। हिँड्नुपर्छ भन्छ तर आफू हिँड्दैन। पानी पिउनुपर्छ भन्ने सबैलाई थाहा छ तर पानी पिउने बानी छैन।

पिरो, चिल्लो, अमिलो, गुलियो र तारेको मासुले राम्रो गर्दैन भन्ने सबैलाई थाहा छ तर पनि पकाएको छ, मिठो लाग्यो, खान्छु भन्ने हुन्छ।

मिर्गौला स्वस्थ राख्ने उपाय पनि थाहा छ तर गरेको हुँदैन। युवाहरू राति दुई–तीन बजेसम्म बस्छन् र बिहान अबेरसम्म सुत्ने गर्छन् अनि फुर्सद छैन, हिँड्न पाइएन भन्छन्। समयमा खाने र सुत्ने गरेमा मिर्गौलासम्बन्धी रोगको जोखिम हुँदैन।

उच्च रक्तचाप भएका, सुगर (मधुमेह) देखिएका, धेरै मोटाएका अनि बुढो हुँदै गएका व्यक्तिहरूले सहज जीवनशैली अपनाएनन् भने मिर्गौला बिग्रिन्छ। मधुमेह भएका ४० प्रतिशतसम्म व्यक्तिमा मिर्गौला बिग्रिने खतरा हुन्छ। यो कुरा धेरैलाई थाहा छ तर सावधानी अपनाउन ढिलो भएको हुन्छ।

मिर्गौला बिग्रिएपछि मात्र चिकित्सककहाँ पुग्ने गरेको पाइन्छ। स्वस्थकर जीवनशैली अपनाउने हो भने मिर्गौलाको रोग लाग्ने सम्भावना कम हुन्छ। वर्षको एकपटक मिर्गौला परीक्षण गर्नुपर्छ। जो पनि मिर्गौलाको रोगी हुनसक्छ।

म मिर्गौलाको रोगी हो कि होइन भन्ने थाहा पाउन वर्षको एकपटक परीक्षण गर्नुपर्छ। किड्नी फङ्सन टेस्ट (मिर्गौलाको कार्यक्षमता परीक्षण), युरिन टेस्ट र अल्ट्रासाउन्डमध्ये जुन गरे पनि हुन्छ तर सबभन्दा भरपर्दो अल्ट्रासाउन्ड हो।

तीन करोड जनसंख्यामा तीन हजार जना मिर्गौला रोगी हुन्छन्। यसको अर्थ नेपालमा प्रत्येक वर्ष मिर्गौलाका रोगी तीन हजार जना थपिन्छन्। तीस लाख नेपाली खाडी मुलुकमा छन्। उनीहरूमध्ये तीन सयदेखि चार सय व्यक्तिको मिर्गौला बिग्रिन सक्छ।

ती व्यक्तिहरू स्वस्थ थिए भने पनि स्वस्थ रहने काम गरेनन् वा गर्न पाएनन्। पानी खान पाएनन्। पानी खानुपर्छ भन्ने थाहा समेत भएन। खलखली पसिना आएको छ भने साधारण पानी खाएर पुग्दैन। जीवनजल खानुपर्छ तर पेय पदार्थ धेरै खान्छन्। मासु धेरै खान्छन्। धेरै तापक्रममा बढी काम गर्छन् अनि पानी कम भएर मिर्गौला जोखिममा परेको हुन्छ।

नेपालमा तिनका घरपरिवार र आफन्त हुन्छन् तर सबै जानकारी हुँदैन। खाडी मुलुकमा गएका नेपालीहरूमध्ये करिब दिनमा एक जना मिर्गौला फेल भएर फर्किएको हुन्छ।

उनीहरू यहाँ स्वास्थ्य परीक्षण गरेर गएका हुन्छन्। नेपालभन्दा सम्पन्न देशमा छन् तर पनि किन मिर्गौलाको समस्या देखिएको छ त ?

नेपालको हावापानी र त्यहाँको हावापानी फरक छ। बारम्बार शरीरमा पानी कम हुँदा मिर्गौलाको समस्या देखिएको हो। अर्को कुरा, उनीहरू घरबाट टाढा छन् अनि स्ट्रेस (तनाव) मा छन्। मासु धेरै खान्छन्। सागसब्जी र तरकारी कम खान्छन्। समयमा सुत्न पाउँदैनन्। पेन किलर (दुखाइ कम गर्ने औषधि) समेत खाइदिन्छन्।

यस्ता कारणले पनि खाडीमा गएका नेपालीहरूमा मिर्गौलाको समस्या बढी देखिएको हो। खाडीमा गएका व्यक्तिहरूको मिर्गौला बिग्रिने मुख्य कारणहरू यी हुन्:

– तनाव हुनु

– घरबाट टाढा हुनु

– खानामा फरक पर्नु

– धेरै तापक्रममा काम गर्नु

– पानी खान बिर्सनु

– रोगको पहिचान ढिलो हुनु

रोगी भएपछि त्यहाँबाट नेपाल फर्काइदिन्छन्। अहिले खाडीबाट मिर्गौला फेल भएर फर्किनेको संख्या बढेको छ। पर्याप्त पानी पिउनुपर्छ, सागसब्जी धेरै खानुपर्छ, माछामासु कम खानुपर्छ, पर्याप्त आराम चाहिन्छ भन्ने कुरा बुझ्न जरूरी छ।

जाँदा उत्साहित भएको युवा कसैको कुरा सुन्दैन। रोगी भएर फर्किएको व्यक्तिलाई कथा सुनाएर केही अर्थ भएन। कम्तीमा एक जना मिर्गौला फेल भएर आए पनि स्वस्थ व्यक्ति यसरी फर्किनु गम्भीर अवस्था हो।

जनसंख्याको आधारमा यो संख्या केही होइन होला तर यसलाई कम गर्न असम्भव छैन। आफू स्वस्थ रहन प्रत्येक व्यक्तिले पहल गर्ने हो भने रोगीको संख्या घटाउन सकिन्छ।

खाडी मुलुकमा जाने प्रत्येक व्यक्तिलाई स्वस्थ रहने तरिका सिकाउन कक्षा लिनुपर्छ। त्यहाँ काम गरेर आएका व्यक्ति किन मिर्गौला बिग्रिएर आएका छन् भन्ने सम्झाउनुपर्छ। अस्पताल गएका बेला कम्तीमा मिर्गौलाबारे सोध है भन्नुपर्छ।

उनीहरूको स्वास्थ्य बीमा हुन्छ। मिर्गौला बिग्रिएको व्यक्तिलाई प्रत्यारोपण गर्ने पैसा पठाउनुपर्छ। यसमा हाम्रो पहलकदमी कम भयो भन्ने लाग्छ। नेपाल सरकारले निःशुल्क डायलासिस गर्ने भएकाले केही सहज भएको छ।
(वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्ले नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन्।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->