बागलुङ/‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती, छोटेमोटे हो, पाउलाई ढोग्यौँ, देख्यो कि देखेनौ’ शङ्खु (समाज) घर अगाडि जम्मा भएका गाउँलेहरु गीत गाउन थाल्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजीकैको शङ्खुबारी पुग्छन् ।
उता शंखुबारीमा अविवाहित युवा हातमा कोदालो लिएर बारी जोत्ने काम गर्छन् । अविवाहित युवती पनि कोदालोसहित बारीको छेउमा उभिन्छन् । बारीको बीचमा रहेको ढुंगामा लिंगो ठडाएर धुपबत्ती गरिन्छ । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतीक स्वरुप मूल घर र बारीलाई समेत शङ्खु भनिन्छ ।
पाका र विवाहितले अघिअघि बीउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा कोदालोले खन्छन् । यसलाई परम्परागत रुपमा ‘छापे खन्ने’ भनिन्छ । मेलो सकिएपछि युवायुवतीहरु एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुशी साट्छन्, खेती लगाएको सन्देश थियो यो ।
बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा मनाइने ऐतिहासिक भुस पोल्ने पर्वअन्तर्गत छापे खन्ने संस्कृतिको मुख्य झलक हो यो । पन्धौँ शताब्दीदेखि चलेको भनिएको यो संस्कृति अर्गलमा सभ्य र भव्य रुपमा निरन्तरता दिंदै आइएको छ ।
अर्गली मगरहरुले प्रत्येक कात्तिक २४ गतेदेखि भुस पोल्ने पर्व शुरु गर्छन् । पाल्पाको अर्गलीबाट बसाइँसराईँ गरी अर्गल गाउँमा आएका मगरहरुले पर्वको चलन बसालेका हुन् । पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती शुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको स्थानीय गोबिन्दबहादुर घर्तीमगरले बताए ।
यसैगरी गाउँलेले खेतीपाती सुरुवात (हिउँदे) खेती शुरु गरेसंगै पर्व संचालनमा आएको हुनसक्ने उनको अनुमान छ । पर्वको पहिलो दिन कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने काम हुन्छ । मकै बाली भित्र्याएपछि बारीमा रहेका डाँठ, पातपतिङ्गर, अन्य झारपात जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ । पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारको रुपमा बरखी (दुःख) उम्काउने चलन छ । कात्तिक २४ अघि जहिले मृत्यु भएको भए पनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ । कात्तिक २४ गते मृत्यु भएमा भने वर्षभरि नै दुःख बार्नुपर्ने हुन्छ ।
कात्तिक २४ गते अर्गलको शङ्खुबारीमा भुस पोलेपछि ताराखोलाकै हिल र तारागाउँमा भुस पोल्ने गरिन्छ । २६ गते अर्गलमा छापे खनेपछि सोही दिन राती हिल र २७ गते बिहान तारागाउँमा खन्ने चलन छ ।
पछिल्लो समय भुस पोल्ने पर्व अर्गल खेलकुद तथा संस्कृति संरक्षण मञ्चले प्रवद्र्धन गर्दै आएको छ । मञ्चले आफ्नो १८ औं वार्षिकोत्सव पनि सोमबारै मनायो । उक्त कार्यक्रमको गण्डकी प्रदेश सभाका सांसद कुसुम बुढा पुनले उद्घाटन गर्दै संस्कृति जीवनसंग जोडिएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।












