
तारागाउँ (बागलुङ)/ कुप्रो शरिर, चाउरी परेको अनुहार । झट्ट हेर्दा अनुहारमा बेखुशीको कुनै संकेत देखिदैन् । तर उनको भित्री मनमा भने ठूलो र गहिरो चोट छ । त्यो पनि कहिल्यै निको नहुने गरी गडेर बसेको । उनको शरीरमा अहिले पनि माओवादी द्वन्द्वको पीडादायी चिनो छ । गस्तीमा हिडेको सुरक्षाकर्मीले हानेको गोली उनको शरीरमा लागेको थियो । मुख्य गोली केही समयपछि निकालिएको भए पनि अझै उनको शरीरमा गोलीका छर्रा छन् । ‘फोक्कैमा दुख पाए’ ताराखोला गाउँपालिका–४ तारागाउँकी ६४ वर्षीया असुनी घर्तिमगरले भनिन्, ‘उपचारको आशा गर्दागर्दै मर्ने बेला भइसक्यो । सरकार र माओवादी कसैले पनि वास्ता गरेनन् ।’
गस्तीमा गएका सुरक्षाकर्मीले हानेको गोली उनलाई लागेको थियो । गोलीका छर्राहरु अझै निकालिएका छैनन । छर्राका कारण शरीर अलि अशक्त र असहज हुदै गएको उनले बताइन् । उनलाई २०६२ असार २८ गते गस्तीमा गएका सुरक्षाकर्मीले गोली हानेका थिए । उनका अनुसार देब्रे खुट्टाको साप्रामा लागेको गोली केही समयपछि बागलुङ बजार पुराएर निकालिएको थियो । तर दाहिने साप्रामा लागेका छर्राहरु भने शरिरमै छन् । अहिले छर्रा रहेको स्थानमा निलो डाम बनेको उनले बताइन् ।

सुरु सुरुमा अत्याधिक गर्मी र चिसोमा दुख्ने, पोलेजस्तो हुन्थ्यो । अहिले दुखाई नभए पनि के होला भन्ने चिन्ताले चैनले सुत्न नसकेको उनको भनाई छ । पहिला छर्रा प्रष्टै देखिने गरेकोमा अहिले निलडाम बनेर बसेको उनले बताइन् । छिमेकीको बारीमा कोदो रोप्न गएकी घर्तिमगर अन्य साथीसंगै खाजा खान घरतिर आईरहेको वेला गोली लागेको थियो । ‘पहिला हानेको गोली छलेर गयो,’ घर्तिमगरले भनिन्, ‘अर्कोपटक हानेको गोली साप्रोमा आएर लाग्यो ।’ पानी परेर पहिरो खस्ला जस्तो भएको बेला गोली लागेको र रगतको ताल बनेको संझना उनको जीवनमा ताजै छ । गोली लागेर आफु ढलेपछि ‘गलत मान्छे’ लाई गोली लागेछ भन्दै सेनाहरु त्यसै छाडेर भागेका उनले बताईन ।
गोली लागेको दुई सातापछि मानवअधिकारवादी र पत्रकारको सहयोगमा बागलुङ अस्पताल पुगेर गोली निकालिएको थियो । तर छर्रा निकाल्न काठमाण्डौ जानुपर्ने र पैसा पनि धेरै लाग्ने भएकोले त्यत्तिकै फर्किएको उनी बताउँछिन् । त्यतिबेला झिकेको गोली प्रमुख जिल्ला अधिकारीलाई बुझाएर राहतका लागि माग गर्दा कुनै वास्ता नभएको उनको गुनासो छ । ‘गाउँकै सरकार, बागलुङकै, काठमाडौं र पोखरातिरका सरकारले पनि वास्ता गरेनन्’ उनी भन्छिन्, ‘उपचार गर्दिए बुढेसकालमा सुखसाथ बस्न र मर्न पाइ्रन्थ्यो ।’ माओवादी पक्षबाट पनि उपचार गर्दिने भनेको तर अहिले खासै वास्ता नगरेको गुनासो उनको थियो । उनी अविाहित हुन् । अहिले एकल महिला भत्ता भने पाउने गरेको भतिजा जंगवबहादुरले बताए । लस्करका लस्कर भेट्न र लेख्न आए पनि आफ्नो दुख भने जस्ताको तस्तै रहेको असुनीको गुनासो छ ।





