बागलुङ/विश्व मधुमेह दिवशको अबसरमा बागलुङका लायन्स क्लबहरुले निशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरेका छन् ।
बिहिबार भएको शिविरमा स्थानीयको रक्तचाप र सुगर परीक्षण गरिएको थियो । उक्त अबसरमा १ सय ५० बढी स्थानीयले स्वास्थ्य परीक्षण गरेको लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोले जानकारी दिए ।
लायन्स क्लब अफ ३२५ के अन्र्तगतका १२ वटा क्लबले उक्त शिविर संचालन गरेका थिए । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका ती क्लबहरुले हरेक वर्ष मधुमेह दिवश पनि स्वास्थ्य शिविर गरेरै मनाउने गरेका हुन् । यो शिविरमा लायन्सबाटै स्वास्थ्यकर्मीहरु समेत परिचालन भएका थिए ।
लायन्स क्लबले सामाजिक सेवा, स्वास्थय शिविर, बालबालिकाको पढाइमा साथ दिने तथा शुद्ध खानेपानी लगायतको क्षेत्रमा पनि काम गर्दै आएको छ । यो शिविरले आम नागरिकलाई मधुमेह रोगबारे सचेत बनाएको महतोले जानकारी दिए ।
‘एउटा शिविरमा आएका एकडेढ सय जनाको परीक्षणबाट ठूलो उपलब्धी त नहोला, तर सन्देश भने राम्रो जान सक्छ’ उनले भने, ‘रोगबारे सचेतना बढेमा नागरिकले आँफै समस्या समाधान गर्न सक्छन् ।’
खानपान र शारिरीक व्यायाम लगायतमा ध्यान दिएमा सुगर र प्रेसरको बिरामी बन्न नपर्ने बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।





