पोखरा / मंसिर १६ गते हुने गोरखा नगरपालिका-५ को उपनिर्वाचनका लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् । नेपाली कांग्रेसबाट भाइकाजी आले, नेकपा एमालेबाट दुर्गा माया थापा राना र नेकपा माओवादी केन्द्रबाट बिष्णुबहादुर मगरले उम्मेदवारी दर्ता गराएका छन् ।
एकीकृत समाजवादीबाट खङ्गबहादुर भुजेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगलबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्पना राना, नेपाल समाजवादी पार्टीबाट रुपेश मग्राती र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रुप सिंह रानाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले बताए । मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सविना तामाङले पनि मनोनयन दर्ता गराएका छन् ।
अब ४ मंसिरमा उम्मेदवारको नामावली प्रकाशन गर्ने र ५ मंसिरको दिउँसो एक बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्न सकिने जिल्ला निर्वाचन अधिकृत टेकबहादुर कोइरालाले बताए ।
निर्वाचनमा बिशेषत प्रमुख तीन दल (कांग्रेस, एमाले र माओवादी) बीच प्रतिस्पर्धा हुने देखिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा उक्त वडा कांग्रेसले जितेको थियो । माओवादी दोस्रो बनेको थियो भने एमाले तेस्रो ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसलाई हराउँदै एमालेका उम्मेदवार खिलबहादुर राना विजयी भएका थिए । २६ मतान्तरले हारेर कांग्रेस दोस्रो बनेको थियो भने माओवादी तेस्रो बनेको थियो ।





