प्रत्येक २९ दिनमा हाम्रो आकाशमा पूर्ण आकारको चन्द्रमा देखिन्छ । जब पृथ्वीको पछाडिपट्टिबाट सीधै सूर्यको प्रकाश चन्द्रमामा पर्छ यसको पूरा आकार उज्यालो हुन्छ । शुक्रबार देखिएको चन्द्रमा अरू पूर्णिमाका दिन देखिने भन्दा केही भिन्न थियो ।
यो ‘सुपरमुन’का चार श्रृंखलामध्ये अन्तिम थियो जसमा नियमित पूर्णिमा भन्दा चन्द्रमा १४ प्रतिशत ठूलो र ३० प्रतिशत थप उज्यालो देखिएको थियो । ‘सुपरमुन’ वर्षमा तीन वा चार पटक मात्रै देखिन्छ र सधैँ लगातारका पूर्णिमाहरूमा देखा पर्छ । विश्वभरि संस्कृति र परम्परासँग पूर्णिमाका दिन देखिने पूर्णचन्द्रको ठूलो भूमिका छ । हामी यसबारे केही मिथक, गतिविधि र त्यससँग सम्बन्धित अर्थबारे यहाँ चर्चा गर्नेछौँ ।
हाम्रा पुर्खाका लागि पूर्णिमा किन महत्वपूर्ण थियो ?
हरेक महिना एक पटक खुम्चिँदै जाने र फेरि पूर्ण आकारमा फर्किने चन्द्रमाको लय आदिम समयदेखि नै समयको हिसाब राख्न प्रयोग हुँदै आएको थियो । सन् १९५७ मा डीआर कङ्गोमा भेटिएको इशाङ्गो हड्डीलाई नै उदाहरणका रूपमा लिन सकिन्छ ।
लङ्गुर प्रजातिको बबुनको पिँडुलाको ठानिएको यो हड्डी २०,००० वर्ष भन्दा पुरानो भएको पहिचान गरिएको छ । यसलाई पात्रोको सबैभन्दा प्रारम्भिक स्वरूप भएको विश्वास गरिन्छ । एक जना बेल्जिअन भूगर्भविद्ले पत्ता लगाएको यो हड्डीमा विशिष्ट खोप पाइन्छन् ।
तीमध्ये केही गोलाकार र केही आंशिक गोलाकार छन् । हार्वड विश्वविद्यालयका एक जना पुरातत्वविद्ले यसले चन्द्रमाका विभिन्न चरणहरूको प्रतिनिधित्व गर्ने र उक्त हड्डी छ महिनाको चन्द्र पात्रो बनाउन प्रयोग भएको हुन सक्ने बताएका छन् ।
पूर्ण आकारको चन्द्रमालाई ‘हार्भेस्ट मुन’ अर्थात् बाली भित्र्याउने चन्द्रमा नाम दिइएको छ ।
यो सेप्टेम्बर महिनाको अन्त्य वा अक्टोबरको सुरुमा पर्ने शरद् ऋतुको आसपास देखा पर्छ ।
यस बेला समयमा घाम अस्ताउने बित्तिकै चन्द्रमा उदाउँछ । त्यसैले बाली भित्र्याउने हतारोमा रहेका किसानहरूले चन्द्रमाको प्रकाशमा साँझ अबेरसम्म पनि काम गर्न पाउँछन् । अहिलेको समयमा त पक्कै पनि मानिसहरूले विद्युतीय बत्तीहरू प्रयोग गर्छन् ।
पूर्णचन्द्रका दिन कस्ता चाडपर्व मनाइन्छन् ?
हिन्दू संस्कृतिमा पूर्णचन्द्रको दिनलाई पूर्णिमा भनिन्छ । यो दिन व्रत बस्ने र पूजापाठ गर्ने प्रचलन हिन्दू समुदायहरूमा छ । हिन्दू पात्रोअनुसार कार्तिक महिनाको अन्त्यमा पर्ने यो पूर्णिमाको दिन नदीहरूमा नुहाएर कार्तिक स्नान समाप्त गर्ने प्रचलन छ ।
यो दिनलाई त्रिपूरासुर राक्षसमाथि भगवान् शिवको विजय र विष्णुको मत्स्य अवतार धारण गरेको दिनमा रूपमा पनि मनाउने चलन छ । यो दिन बत्ती बालेर उज्यालो बनाउने पनि प्रचलन हिन्दूहरूमा छ ।
बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्ध २५०० वर्षअघि पूर्णिमाकै दिन जन्मिएको विश्वास गर्छन् । बुद्धले पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गरेको र उनको मृत्यु पनि पूर्णिमाकै दिन भएको उनीहरूको विश्वास छ । यी घटनाक्रमहरूलाई बुद्ध पूर्णिमाको रूपमा मनाउने गरिन्छ । बुद्ध पूर्णिमा चाहिँ वैशाख पूर्णिमा अर्थात् अप्रिल वा मे महिनामा पर्छ ।
मुस्लिमहरूलाई पनि पूर्णिमाको समयमा तीन दिन व्रत बस्न सिफारिस गर्ने गरिन्छ । यसलाई सेतो दिन वा अल–आय्याम अल–बिदका रूपमा चिनिन्छ ।
अँध्यारा रातहरूलाई उज्यालो बनाइदिएकोमा अल्लाहलाई धन्यवाद दिन पैगम्बर मोहम्मदले यी दिनहरूमा व्रत बसेको विश्वास गरिन्छ ।
क्रिश्चियन धर्ममा पनि इस्टर पूर्णचन्द्रसँग जोडिएको छ । यो चाड वसन्त ऋतुमा दिनरात बराबर हुने दिनपछि आउने पूर्णिमा पछिको पहिलो आइतबार मनाइन्छ ।
इन्डोनेसियाको बालीमा पूर्णचन्द्रको दिनलाई ‘पूर्णमा’ भनिन्छ । यो दिन देवी र देउता मानिसहरूलाई आशीर्वाद दिन पृथ्वीमा आएको विश्वास गरिन्छ । यो दिन पूजापाठ गर्ने, प्रसाद चढाउने र बगैँचामा फलफूलका रुखहरू रोप्ने चलन इन्डोनेसियाको यो टापुमा छ ।
श्रीलंकामा हरेक महिनाको पूर्णिमामा सार्वजनिक बिदा दिइन्छ । पोया भनिने यो दिन मासु र रक्सीको बिक्री निषेध गरिएको छ ।
चीनमा मध्य शरद् ऋतुमा ‘जोङ् चू जिअ’ पर्व मनाइन्छ । यसको अर्थ पूर्णचन्द्र पर्व पनि हो र यो बाली भित्र्याउने समयको यो पूर्णिमाका दिन चीनमा सार्वजनिक बिदा दिइन्छ । तीन हजार वर्ष पुरानो यो चाड र प्रशस्त बाली फल्ने अपेक्षासहित मनाइन्छ ।
कोरियामा पनि चीनमा जस्तै कार्तिक पूर्णिमा अर्थात् ‘हार्भेस्ट मुन’कै समयमा तीन दिन चुसीओक पर्व मनाइन्छ । यो दिन परिवारका सबै जना भेला भएर बाली भित्र्याउने समयको उत्सव मनाउँछन् र आफ्ना पुर्खाहरूप्रति कृतज्ञता जनाउँछन् ।
मेक्सिकोसहित अन्य ल्याटिन अमेरिकी देशहरूमा पनि यो दिन महिलाहरूले चन्द्र नाच गर्छन् र पूजा र नाच सहितको तीन दिनको पर्व मनाइन्छ ।

पूर्णचन्द्रबारे कस्ता मिथक प्रचलित छन् ?
युरोपमा प्राचीन कालमा पूर्णचन्द्रको दिन मानिसहरूमा पागलपन आउने विश्वास गरिन्थ्यो । पागलपन अर्थात् ‘लुनासी’ शब्द ल्याटिन भाषाको चन्द्रमा अर्थात् ‘लुना’ बाट व्युत्पत्ति भएको हो । पूर्णचन्द्रको दिन मानिसहरू एक प्रकारको ब्वाँसो बनेर समुदायमा तर्साउँदै हिँड्ने विश्वास पनि गरिन्थ्यो ।
इशापूर्व चौथो शताब्दीमा एक जना ग्रीक इतिहासकारले अहिलेको रुसमा पर्ने एक ठाउँका मानिसहरूको एक प्रजाति वर्षका कैयौँ दिन ब्वाँसोमा परिणत हुने दाबी गरेका थिए । युरोपमा १५ औँ र १७ औँ शताब्दीमा कैयौँ मानिसहरूले ब्वाँसोमा परिणत हुने प्रयास पनि गरेका थिए । सन् १५८९ मा जर्मनीका एक जना जमिनदार ब्वाँसोबाट मानिसमा परिणत भएको आफूहरूले देखेको स्थानीय सिकारीहरूले दाबी गरेका थिए ।
यातना दिइएपछि उनले आफूसँग एउटा जादुमयी पेटी रहेको र त्यसले आफूलाई ‘वेरउल्फ’ भनिने एक प्रकारको ब्वाँसो बनेर मानिसहरूको सिकार गर्ने क्षमता विकास हुने बताएका थिए ।
हाम्रो दैनिक जीवनमा पूर्णचन्द्रले कस्तो असर पार्छ ?
केही पूर्णचन्द्रले निद्रा बिथोल्छ भन्ने विश्वास गर्छन् । अध्ययनहरूले पूर्णिमाका बेला वा त्यसको आसपास मानिसहरूलाई निदाउन समय लाग्ने, गहिरो निद्रामा धेरैबेर पर्न नसक्ने, थोरै समय मात्र निदाउने र मेलाटोनिन हर्मनको मात्र उनीहरूको शारीरिक प्रणालीमा कम हुने देखाएका छन् । उक्त हर्मनले मानिसहरूलाई सुत्नका लागि सहायकको भूमिका खेल्छ ।
यस्ता अध्ययनहरूमा संलग्न भएका मानिसहरू कतैबाट प्रकाश नछिर्ने अध्यारो कोठामा सुत्दा पनि सन्तुष्ट हुनेगरी पूरा ननिदाएको बताउँछन् ।
त्यस्तो स्थानमा उनीहरूको निद्रालाई प्रकाश वा पूर्ण आकारको चन्द्रमाका कारण बिथोल्ने अवस्था हुँदैन तर पनि उनीहरूले निद्रा कम लागेको अनुभव गर्छन् ।
केही मालीहरू पूर्णिमाका रातमा वनस्पति तथा फूलहरूका बिउँ वा बेर्ना रोप्ने गर्छन् । जसरी बालीवासीहरू पूर्णिमाको दिन गर्छन् त्यस्तैगरी उनीहरू चन्द्रमाका कारण माटोको गुणस्तर बढ्ने ठान्छन् । पूर्णचन्द्रका बेलामा चन्द्रमाको गुरुत्वाकर्षण बलले पृथ्वीको एक छेउलाई तान्छ भने अर्कोतर्फ सूर्यको त्यस्तै बलले अर्कोतर्फ तानिरहेको हुन्छ । त्यसले गर्दा अधिक ज्वारभाटा उत्पन्न हुने र पृथ्वीको सतहमा आद्रता पनि बढ्छ ।
यूकेको ब्राडफोर्डमा सन् २००० मा भएको एउटा अध्ययनअनुसार पूर्णचन्द्रका बेलामा जनावरहरूले टोक्ने सम्भावना पनि बढी हुन्छ ।
सन् १९९७ देखि १९९९ मा जनावरहरूले टोकेका कारण अस्पतालमा आउने बिरामीको संख्याको तुलना गरेर त्यो अध्ययन गरिएको थियो ।
उक्त अध्ययनअनुसार पूर्णिमा वा त्यसको आसपासमा जनावरहरूले टोकेर अस्पताल आउने बिरामीको संख्या निकै बढेको देखिएको थियो ।





