पोखरा/स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं ५ बाँगेमा रहेको मैदान माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई सिकाइसम्बन्धी उप्रेरणा तालिम मंगलबार सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले विद्यार्र्थीहरुले हरेक दिन पाठ्यक्रमका सामग्रीको साथै बाहिरी ज्ञान पनि लिँदै रहनुपर्ने बताउँदै अभिभावक र शिक्षकले बालबालिकालाई सधैं सकारात्मक सोचका बारेमा प्रेरणा दिइरहनुपर्ने बताए ।
कसरी पढ्ने कसरी सिक्ने किताबका लेखक कृष्ण क्षेत्री उदयले आफ्नो किताबमा शिक्षक, घर परिवारका सदस्य, साथीभाइबाट सिकेका र जीवनमा भोगेका अनुभव, अनुभुतिहरु समेटिएको बताए । उनले विद्यार्थी तथा अभिभावक समय अनुसार प्रविधि मैत्री हुनुपर्ने तर सोसल मिडियामा दैनिक कति समय दिनुपर्ने ? तथा के को लागि दिनुपर्छ ? भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कक्षा १ देखि ६ सम्म एक समुह, कक्षा ७ देखि १२ सम्म अर्को समूह गरी दुई समुहमा विभाजन गरी विद्यार्र्थीहरुलाई योग, ध्यान, बोल्ने कला प्रशिक्षण र सिकाइसम्बन्धी उत्प्रेरणा तालिम दिइएको थियो ।





