म्याग्दी/गरिमा विकास बैंकले बेनी अस्पतालका बिरामीलाई लक्षित गरी फलामको कुर्ची सहयोग गरेको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार एक कार्यक्रमका बिच १२ सिटे चारवटा कुर्ची बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम् बेनी नगरपालिकाका प्रथम मेयर हरिकुमार श्रेष्ठले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।
कार्यक्रममा श्रेष्ठले वित्तिय कारोबारसँगै म्याग्दीमा जेष्ठ नागरिकलाई सम्मान, शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताए । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित कार्यक्रम गर्दै आएको छ ।
बेनी अस्पतालका अध्यक्ष सुबेदीले गरिमा विकास बैंकको वित्तियसंगै सामाजिक तथा मानवीय क्षेत्रमा निरन्तर सहयोगले उत्साहित भएको बताए । म्याग्दीमा शाखा विस्तार गरेका ठूला बैंकको संख्या धेरै भएपनि सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायस्तरमा सहयोग गर्नेको संख्या न्यून रहेको अवस्थामा हरेक वर्ष गरिमा विकास बैंकले सहयोग गरेको भन्दै प्रशंसा गरिएको थियो ।
बैंकले गतवर्ष गलेश्वर शिवालाय क्षेत्रमा बसोबास गर्ने ५१ जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, पूर्व सञ्चालक हरिकृष्ण श्रेष्ठ, माधव प्रसाद रेग्मी, शिबप्रसाद कटुवाल लगायतको उपस्थिती रहेको थियो ।
बैंकको क्षेत्रीय प्रमुख कमलप्रसाद ढुंगानाको स्वागत र बेनी शाखा प्रमुख ओमप्रकाश पौडेलले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठ ‘दिपु’ले विकास बैंकमध्ये ‘नम्बर वान’ बैंक बन्ने गतिका साथ अगाडी बढिरहेको बैंकले प्रविधिको विकास र विस्तारलाई उच्च प्राथमिकतामा राखेको बताए ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड, निक्षेप ८५ अर्ब, कर्जा ७४ अर्ब रहेको छ । देशभर ३७ जिल्लामा १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटीएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकको म्याग्दीमा बेनीबजार, बावियाचौर, दरबाङ, पोखरेबगर गरी चार शाखा छन् । बैंकले देशभरका १८ स्थानमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइरहेको छ ।





