म्याग्दी/दशैं उद्योग दिवसको अवसरमा पर्यटन तथा घरेलु उद्योग कार्यालय म्याग्दीबाट तीन उद्यमी सम्मानित भएका छन् । सम्मानित हुनेमा मेनुका सिलाई कटाई तथा प्रशिक्षण केन्द्रकी मेककुमारी पुन, बेदना सु सेन्टरका संचालक सुकलाल किसान र शर्मा कृषि तथा पशुपंक्षी फर्मका संचालक कृष्णप्रसाद शर्मा छन् ।
सम्मातीन तीनजना उद्यमीलाई पूर्व भौतिक पूर्वाधारमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि जुग्जालीले म्याग्दी जिल्लामा उत्पादन हुने क्षेत्रको पहिचान भएपनि उत्पादन गरी बजारीकरणतर्फ ध्यान नपुगेको बताए । बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले उद्योग व्यवसाय सञ्चालनमा नीतिगत जटिलता र समस्याहरूसँगै लगानी अनुसार उद्यमी उत्पादन नहुँदा लगानी नै खेर गएको बताएका थिए ।
संघ, प्रदेश र स्थानीय तहले उद्यमी उत्पादनका लागि विभिन्न तालिम सहित उपकरणहरू सहयोग गरे पनि बाहिरी क्षेत्रबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको र प्रतिफल हुदाँ समेत ब्यवसाय नै बन्द गरी बैदेशिक रोजगारीमा जाने प्रबृत्ति समेत समस्याको रुपमा देखिएको बताइएको थियो ।
म्याग्दीमा बैदेशिक रोजगारीका कारण उद्यमीहरुको उत्पादन तथा रोजगारमुलक क्षेत्रमा जनशक्तिको अभाव देखिएको जिल्ला समन्वय समितिका प्रमुख थापाको भनाई छ । म्याग्दीमा साना उद्योग तथा उद्यमशिलताको क्षेत्रमा सक्रिय रहेकालाई सीमित बजेटबाट समेत तालिम सहितका अवसरहरु प्रदान गरिरहेको पर्यटन तथा घरेलु उद्योग कार्यालयका प्रमुख पोषराज शर्माले बताए ।
विगतमा बैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि उद्योग खोल्नेहरुले बन्द गरेपनि नियमित उद्यमशिलाताका सक्रिय रहेकाहरूको उद्योगमा कुनै समस्या नरहेको प्रमुख शर्माले बताए । म्याग्दीमा उद्यमशीलताको तालिम लिने धेरै भएपनि उद्यमशीलतामा सक्रिय हुनेको संख्या भने कम छ ।





