मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गाउँले जीवन : अर्गानिक जीवन

गाउँले जीवन : अर्गानिक जीवन


  • माधव चापागाईं
  • मंसिर ११ २०८१, मंगलबार

स्वच्छ हावा, शान्त वातावरण त्यस्मा पनि हाम्रो नेपाली परिवेश वर्णन गरि साध्य छैन । बसोबास गर्ने मानिस, भूगोल र समुदायका हिसाबले सामाजिक र सांस्कृतिक एकीकरणको पर्यायवाची स्थान गाउँ हो । गाउँमा अर्गानिक जीवनशैली पाइन्छ । वरपिपलको छाया, चौतारी, पोखरी, खोलानाला, छाँगा, छहराको सुन्दरताका साथ सितलता पाइन्छ । आफ्नो जन्मभूमि, बाजेबराजुको पुख्र्यौली थलो, पिता पू्र्खाले आर्जेको भुमिमा मेहनेत गर्यो । दस नङ्ग्रा खियाएर भए पनि हातमुख जोर्न पुगेकै छ । आफ्नो बलबुताले भ्याएसम्म यो थातथलोको विमुख हुनु नपरोस् भन्ने पुर्वजको भनाई यहाँ चरितार्थ हुन्छ । बिहान सबेरै ब्रम्ह मुहुर्तमा उठ्यो । नुवाइधुवाई, सन्ध्याबन्धन, पुजापाठ नित्यकर्म सकेर जिम्मेवारीको नित्यकर्मका लागि पशुचौपाया, वस्तुभाउको सेवामा तल्लीन बन्यो । जीवन नै जिम्मेवारीको रहेछ भनौं आफूले दाम्लो लगाएर बाधेका पशुलाई दाम्लो धनिले नहेरे कस्ले हेर्ने ? भकारोमा पुगेर गोबर सोहोर्यो । गाइभैसी दुहेर घरमा तताउनु पुर्व नै कुडोपानीको बन्दोबस्त ग¥यो । गाउँको फाइदा मुलको चिसो पानी, दूध दहि, घ्यू कतिकती चिया पानी पिएर वस्तुभाउलाई घाँसको जोहो गर्न हिंड्यो । कुटो, कोदालो, हसिया, ढिकी र जाँतो चलाउन सके आत्मनिर्भर बन्न सकिने गाउँमा प्रतिष्ठा र इज्जत गर्ने संस्कार हुन्छ । मानिसहरू एकअर्काका परिपुरक हुन्छन् । सहरमा बस्ने मध्यम वर्गीय परिवारले पानीसित खाना खान्छन् । गाउँमा खेतबारी बाझै छ । दिउँसो खाजाका नाममा चाउचाउ, विस्कुट, चाउमिन र पाउरोटीमा रमाउँछन् । यता गाउँमा जानिनजानी विज्ञानले मानेको बिहान दिउँसो बेलुकी क्रमशः दहि, मोही र दुधको सेवनलाई औचित्यपूर्ण ठानिन्छ । आयुर्वेदअनुसार मानव शरीर पृथ्वी, आकाश, जल, तेज र वायु मिलेर बनेको हुन्छ । त्यसैले यो देहलाई पान्चभौतिक मानिन्छ । जसमा वात, कफ र पित्तको दोषले यी पाँचै तत्वलाई नियन्त्रणमा लिन्छन् । यिनै त्रिदोषले हाम्रो शरीर, व्यवहार, प्रवृत्ति, मन र भावनालाई प्रभावित गर्छन् । अर्थात् शारीरिक र मानसिक गतिशीलता त्रिदोषमै निर्भर हुन्छन् । यसर्थ पनि गाउँले जीवन स्वस्थताको पुण्य भूमि हो । जहाँ तीन ओटै दोषमा स्वस्थता हुन्छ । ‘सन्तोषम् परमम् सुखम्’ यो पनि सन्तोष मान्नुपर्छ सहरियाहरु मर्निङ वाकका नाममा पसिना बगाइरहदा यता गाउँमा एक भारी घाँस आइपुग्छ । जति काम गर्यो शारीरिक अवयवहरुको सक्रियता त्यत्ती नै बढ्ने, शरीर त्यसै फूर्तिलो, जे खाए पनि पच्ने, स्वस्थ, निरोगी जीवन ज्युन गाउँ मै जीवन व्यतीत गरेर दाह्री कपाल पकाएका वृद्धवृद्धाबाट सिक्नु पर्छ । बिहानको खाना खाएर कहिले मेलापात त कहिले बाँस झाडी खोलाखोल्सामा घाँसपात कै चहारा, गाईवस्तु चराउने पहिले जस्तो खर्क चरिचरण नभए पनि कामको लहरो कहिल्यै नसकिने, दिनहुँ जसो यस्तै काममा पसिना बगाउने गाउँले जीवन सधैं तन्दुरुस्त आफ्नै करेसा बारीमा जडिबुटी जस्ता प्रसस्त सागपात र तरकारी अन्नपात, आफ्नै पौरखको कमाइ, कती आनन्द कसैको मुख ताक्नु नपर्ने, सहर बजारमा जस्तो विषाक्त तरकारी र खाद्यान्न पैसासंग जोख्नुपर्ने, इमान, जवान र प्रतिष्ठाको मोलमोलाइ यहाँ चल्दैन । उल्टै ऐँचोपैँचो र सरसापटले गर्जो टर्ने वातावरण गाउँ मै पाइन्छ । यी सबैसबैको जड गाउँ नै हो । जुन नाम र भूमिको स्पर्श र उच्चारणले समेत स्वस्थता महशुस गर्ने प्रवृत्ति सहरमा पनि छदैछ । त्यसैले त गाउँ गाउँ नै हो स्वस्थ जीवनशैलीको पर्याय हो । जहाँ हार्दिकता, सम्मान र गौरवको भाव पाइन्छ त्यो नै गाउँ हो ।

बाह्य संसारबाट नियाल्दा यो जीवनले पर्याप्त प्रशंसा पाए पनि आन्तरिक जीवन त्यति सहज छैन । गाउँ रित्तिदो छ । युवायुवतीहरू पलायन हुँदैछन् । विदेशको बसाई पनि मोह हो कि बाध्यता बुझ्नै सकिएन । वृद्धवृद्धाहरुको आश्रय स्थल बनेका यिनै भूमि युवायुवतीहरुका लागि अनकण्टार बस्ती बने । छोरो विदेश बुहारी नातिनातिना टिपेर सहर गाउँ खाली बन्दैछ । अन्ततः गाउँ रित्तो बन्दैछ । ‘जिउँदाको जन्ती मर्दाको मलामी’ भन्ने भनाइले गाउँमा सार्थकता पाउनै छाड्यो । गाउँमा बस्ने दुखी गरिब र किसानहरु चिन्तित छन् ।

हुनतः आफ्नो गर्यो कसैको मुख ताक्नु नपर्ने, मजाले दूध दुयो । प्रशस्त खायो । आफ्नै बाजेबराजुले आर्जेको पुख्र्यौली जग्गा कमायो सन्तोष नै मान्ने यावत् विषयहरु छन् । परन्तु सधैंको हिलो धुलो र मैलो जीवनले सुस्ताउने मौका कहिले पाइएला भन्ने जनमानसमा ठुलै आघात नपरेको होला भन्न सकिन्न । चिल्लाचौडा सडकमा छोए मयल लाग्ला जस्ता कपडामा सजिएर उस्तै गाडीमा हुइकिनेहरुलाई के थाहा । मानो रोपेर मुरि उब्जाउन किसानले कति संघर्ष गरेको हुन्छ । हिउँद–बर्खा, जाडो–गर्मी, अतिवृष्टी र अनावृष्टीको चाप त्यही गाउँले जीवनमा अधिक पर्छ । किसानहरु सधैं एउटा न एउटा समयचक्रको दलनमा पर्छन् नै, शिशिर ऋतुको शिरेठो र तुसारोमा बिहानी काममा खटिदा हात पाउले आफ्नो अर्काको चिन्दैनन् । त्यसै माथी हिउँदे झरी पशुचौपायको रेखदेख उपर अन्य दैनिकी निकै कष्टकर हुन्छन् । बर्खामा बाढी, पहिरोको भय टाढाको कुरा छानोले आफ्नो धर्मै छोडेर चुहिन थालेपछि रोदन सुरु हुन्छ । प्राकृतिक प्रकोपलाई सामना गरेरै आदत बसालेका गाउँका कुनाकन्दराको बसाइमा मन बुझाएका किसानहरुलाई बाँदर आतंकले झनै दुख दिएको छ । रोपे फलेको केही बाँकी नराख्ने प्राणीलाई कुनै नीतिले बन्धन लगाउन नसक्ने रहेछ । गाउँमा बाँदर र सहरमा कुकुर आतंकले सरकार पनि निरीह बन्दैछ ।

गाउँ छोडेर बसाइँसराइको बाटो रोज्ने ऐश आराममुखी जीवनशैली नै प्राणी आक्रमणको जड हो । गाउँमा बाटोघाटो पु¥याएर विकास होइन मानिस स्थानान्तरणलाई प्रोत्साहन गरे जस्तो भएको छ । युवायुवतीहरुले विदेश पलायनको बाटो रोज्दा गाउँमा मात्रै होइन देशमै सक्रिय जनशक्तिको बसाइ छैन नै, त्यसमाथि पनि अहिलेको गाउँ त ६ दशक उपरका बाआमाहरुको पुख्र्यौली बन्यो । यहाँ सडक, यातायात, विजुली, बत्ती, खानेपानी, विद्यालय र अस्पतालहरुको सेवासुविधा आयो बस्ने मान्छे कै अभाव हुने भयो । सरकारले कि त सेवा सुविधा र विकास सहर केन्द्रित गर्नुपर्यो कि त बसाइँसराइ र विदेश पलायनलाई रोक्नु पर्यो अन्यथा गाउँ गाउँ जस्तो नरहेपछि समग्र देशको विकास कसरी हुन्छ । हामीहरुले झट्ट हेर्दा गाउँले जीवन निकै सुन्दर देखिन्छ । परन्तु यहाँ भित्रका कठिनाइहरुको आकलन गरिसाध्य छैन । उनीहरुको पीडा उस्तै छ । अन्नपात, तरकारी र दूध उत्पादन गर्यो बिक्री गर्न समस्या छ । स्थानीय सरकार मुखबोलीको मात्रै भो, किसानले बजार पुगेर व्यापार गर्न नसक्ने गाउँबाटै बेच्दा विचौलियाहरुको बोलवाला चल्ने, सय लगानीको ६ बीस कहिल्यै नपर्ने, आखिर किसान, कृषक, गाउँलेको हात खाली ।

गाउँमा व्यक्ति व्यक्तिबीच न्यानो र सहयोगी भावना हुन्छ । मैत्रीपूर्ण भावना हुन्छ । कोही भोकै मर्नु पर्दैन । गाउँको जीवनमा परिश्रम र इमान्दारीमा विश्वास गरिन्छ । गाउँघरमा स्वस्थकर खाना बस्नको सुविधा हुन्छ । त्यहाँ अर्गानिक परिकार पाइन्छन् । गाउँ प्रदूषण हुँदैन त्यसैले गाउँ निरोगिताको अर्को नाम हो । यहाँ स्वास्थ्य प्रतिकुलताको सिकार बन्नु पर्दैन । शहरी जीवन तनावयुक्त हुन्छ भने गाउँले जीवन तनावरहित हुन्छ । गाउँका मानिस विकास निर्माण र सुविधाप्रती आशाबादी हुन्छन् । उनीहरु सकारात्मक सोच राख्छन् । शुद्ध मानसिकता लिएर बाँच्छन् तर शहरिया जीवन तनाव अशान्ति र प्रतिस्पर्धामा केन्द्रित हुन्छ तसर्थ मानिसहरु मानसिक रोगी हुन्छन् । गाउँको जीवन तनावमुक्त, फूर्तिलो र मिहिनेती हुने हुनाले शहरियाभन्दा गाउँले जीवन उत्तम छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

गाउँको जीवन प्राकृतिक जीवन पनि हो । यहाँ प्रकृतिसंग रमाउन सके जीवन चल्छ तर शहरमा खेल्न र रमाउन धनलाई नै सर्वोपरि मान्नुपर्ने हुन्छ । गाउँलेहरू जीवनको आवश्यकतामा सन्तुष्ट छन् । तिनीहरूले सम्भव भएसम्म सरल तरिकामा आफ्नो सामाजिक कर्तव्य पुरा गर्छन् ।

गाउँलेहरू प्रायः किसानहरू हुन् । सबैले आ–आफ्नो काम, कर्तव्य, अधिकार र मर्यादालाई आत्मसाथ गर्दछन् । कोही कसैलाई वैरभावले हेर्दैनन् । तसर्थ कोही कसैको कुभलो चिताउँदैनन् । उनीहरुहरू धनी छैनन् परन्तु आफ्नो जीवनका यावत् आवश्यकताहरू छरछिमेकमै वहन गर्ने सामथ्र्य राख्छन् । शहरमा जस्तो नुनदेखि सुनसम्मको लागि व्यापारी गुहार्नु पर्दैन यहाँ मौलिकताका अनगिन्ती भावहरु यत्रतत्र स्पष्ट भेटिन्छन् । यहाँ विनिमयका लागि नगद आवश्यक हुँदैन । शहरमा जस्तो स–सानो कठिनाइमा परिवार, आफन्ती र धनको बलि चढाउनु पर्ने एकत्व भाव यहाँ रत्तिभर हुँदैन । मिलेर काम गर्नु दुखसुखमा साथ दिनु, अभावको जीवनलाई सबैले अस्विकार गरि समर्पणको भाव जागृत गर्नु गराउनु जस्ता हार्दिकताको स्वभाव यहाँ पाइन्छ । शहरको जस्तो तिर्खा मेट्न आवश्यक पानीदेखि शौचालयसम्म किन्नुपर्ने हिन मानसिकता यहाँ हुँदैन । गाउँ त आवश्यकता हेरेर सर्वस्व दिन सक्ने उदार मनोभावना जन्मिएको स्वर्ग भुमी हो । यहाँ कोही कसैको दुख, रोदन, अशान्ति, वेदना र पिडाका बिच समग्र समाज नै पीडित बन्छ । गाउँलेहरू सादा जीवन उच्च विचारको भावना लिन्छन् । शहरमा जस्तो मपाइत्व प्रवृत्तिले गाउँमा बाटो नै देख्दैन । उनीहरु सरल जिवनशैली र आत्मीय व्यवहारका साथ आफ्ना चाड्पर्व, रितिरिवाज र परम्पराहरु सञ्चालन गर्दछन् । गाउँको माटोले राकरवाफ त के अहंकार, घमण्ड र आडम्बरीपनको गन्ध समेत पाउँदैन । दया, मैत्री, करुणा र उदारता गाउँका मुल मन्त्र हुन् । यहाँ मानव मानवका बिच आत्मीयता हुन्छ । सदाचारिता, भ्रातृत्वको भावना र सामाजिक सद्भाव सधैं कायम हुन्छ । मानविय मर्यादालाई विशेष ख्याल गरिने भएकाले यहाँ कसैको कारण कसैको अभिमानमाथी आघात पुग्दैन । यसर्थ गाउँले जीवन अर्गानिक जीवन हो ।

परन्तु गाउँले जीवनमा थोरै अवसर हुन्छन् । आधुनिक सुविधाको उपलब्धता कम हुने, शिक्षा, स्वास्थ र यातायातको सुविधा अपेक्षाकृत नहुनुले गाउँले जीवनमा कठिनाइ हुन्छ । यी यावत् कारणले गाउँले जीवनमा मानिस सन्तुष्ट हुन नसके पनि यद्यपि स्वस्थ र दीर्घजीवन पाउन गाउँमै बस्नुपर्छ । गाउँले जीवन स्वस्थ, मस्त, तन्दुरुस्त र प्रसन्नताले युक्त हुन्छ । यहाँका मानिसहरूमा विनम्रता र हार्दिकता पाइन्छ । दया, माया, प्रेम र मैत्री भावको भण्डार गाउँमा कोही कसैले भोकै मर्नु पर्दैन । यहाँ एकले अर्काको दुख सुखमा पुर्णतः सहयोग गर्ने गरिन्छ । गाउँले मानिसहरू आफ्नो बालीनालीमा खुसी हुन्छन् । गाउँमा आध्यात्मिकता हुन्छ । मानिसहरू सामाजिक र नैतिक चेतनाले युक्त हुन्छन् । पाप र पुण्यको अधिक ख्याल गरिन्छ । जसका कारण समाज सभ्य र मर्यादित हुन्छ । तसर्थ गाउँले जीवन मिठो र शंकारहित हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->