आधुनिक चीन आफ्नो ७५ औं वर्षगाठ मनाउँदै छ । माओत्से तुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले चीनको शासन आफ्नो हातमा लिएपछि अनेकन उतारचढाबपछि अहिले विश्वमा आर्थिक, सैन्यशक्तिको रूपमा आफ्नो उपस्थिति देखाउँदै छ । आफ्नो मुलुकमा पूर्वाधारको अपूर्व विकास, विज्ञान र प्रविधिमा उच्चतम उपलब्धि कृषि र औद्योगिक उत्पादनमा अब्बल, विश्व बजारमा निर्यात गर्ने पहिलो शक्तिसँगै अफ्रिका, दक्षिण अमेरिका, एसियाका मुलुकहरुमा ‘वेल्ट एण्ड रोड’ अवधारणा अगाडी सार्दै आफ्नो प्रभूत्व जमाउन उद्यत राष्ट्रको रूपमा प्रस्तुत भइरहेको छ । अहिले चीनमा न त माओका विचारहरुले काम गरिरहेको छ न त पूर्वी र पश्चिम चीनका भूभागहरुलाई समानतातर्फ उन्मुख गराउन सकेको छ । राजनीतिक रुपले चीन अझै खुला हुनसकेको छैन, सञ्चार माध्यमहरु नियन्त्रित छन् । मानव अधिकारको दयनीय अवस्थाले गर्दा विश्व शक्ति हुँदाहुँदै पनि विश्व राजनीतिमा प्रभावकारी देखिन सकेको छैन । अहिलेका राष्ट्रपति सी आफूलाई एक मत्र शक्तिशाली व्यक्तिका रूपमा स्थापित गर्ने मनसुवासहित हिजोका माओ विचारझँै सबै ठाउँमा ‘सी विचार’ अगाडी सार्दै माओभन्दा प्रभावशाली र शक्तिशाली अनि असीमित अवधीसम्म राष्ट्रपति बन्ने उद्देश्यका साथ विधान संशोधन गर्दै अगाडि बढेका छन् ।
नेपालमा पनि एकतन्त्रीय राणा शासन अन्त भएको ७४ वर्ष हुँदैछ । तर, पनि राजनीतिक, आर्थिक, सामाजिक अपेक्षा र चाहना हासिल भएको छैन । कहिले पनि अरु राष्ट्रको अधिनमा नरहेको दाबी गरेर नथाक्ने हामीलाई सीमित आवश्यकता पूरा गर्न, आमजनताको क्रयशक्ति बढाइ जीवनस्तर उकास्न धौधौ परिरहेको छ । अझै पनि राज्यले उपलब्ध गराउने सेवा प्राप्त गर्न संघर्ष गर्नुपर्ने स्थिति छ । हामीले राजनीतिक र आर्थिक स्वतन्त्रता प्राप्त ग¥याँै, समावेशी अधिकार प्राप्त ग¥यौँ । बोल्ने लेख्ने स्वतन्त्रता हासिल ग¥यौँ तर हामी कर्तव्यलाइ बिर्सँदै गएका छौँ । जिम्मेवारी र जवाफदेहीताबाट टाढा हुँदै छौँ । कानूनी राज्य र सुशासन प्रणाली कमजोर बन्दै गएको छ । भएका स्रोत साधन उपयोग गर्न सकिरहेका छैनौँ वा जानेका छैनौँ । राज्य संचालनको लागि आम्दानी गर्न कठिनाइ परिरहेको छ । जनतालाइ विपति परेको बेला विपद् व्यवस्थापन गर्न सकिरहेका छैनांै । अनि जनताले चुनेका प्रतिनिधिहरुले जनतालाई गर्विलो बनाउन सकेका छैनन् ।
नेपाल का दुई छिमेकी भारत र चीन हुन् । झन्डै १४०० वर्ष अगाडी नरेन्द्रदेवको पालामा सुरु भएको नेपाल भोट (तिब्बत) सम्बन्ध आज नेपाल चीन सम्बन्धको रुपमा रहेको छ । चीनले नेपालसँग जोडिएको भूभाग विशाल तिब्बतलाइ आजभन्दा ठिक ६५ वर्ष अगाडी कब्जा गरी आफूमा गाभिएको थियो । त्यसपछि चीनले तिब्बतलाई ‘तिब्बत स्वशासित क्षेत्र’ भनेर भन्दै आएको छ । तिब्बतका शासक दलाइ लामा आफ्नो देश छोडेर भारतमा शरण लिएर बसेका छन् र आफ्नै सरकार चलाइ राखेका छन् । दलाइ लामा धार्मिक रूपमा सबैभन्दा ठूलो शासकको रुपमा अझै पनि तिब्बत, नेपालका हिमाली क्षेत्रका बौद्ध धर्मावलम्बीहरूले ठूलो धार्मिक गुरु, नेता, शासकको रुपमा मानिन्छन् । उनका अनुयायीहरुले अहिले पनि घरघरमा दलाइ लामाको फोटो राख्ने चलनलाइ निरन्तरता दिएका छन् । हालका दलाइ लामा बृद्ध भइसकेको अवस्था नयाँ दलाइ लामा जन्मेकोबारे चीन र तिब्बती शासकबीच विवाद भइरहेको छ । चीन आफूले भनेको व्यक्ति नै दलाइ लामा हो भनेर प्रचार गरिरहेको छ भने अहिले धर्मशाला भारतमा रहेका दलाइ लामाको सचिवालयले आफ्नो परम्परा र धार्मिक विधि अनुसार अवतारको रुपमा जन्म लिएको र उसलाई शिक्षा दिक्षा प्रदान गर्दै आएको कुरा जनाउँदै आएको छ । राजनीतिकक रूपमा स्वतन्त्र तिब्बतको नारा दिँदै आएका तिब्बतीहरु पुरानो तिब्बत प्राप्त गर्ने सपना सायदै पूरा होला भन्ने कुरा बुझेका छन् । तिब्बत स्वशासित क्षेत्रको अधिकांश सिमाना नेपालसँग जोडिएको र बाँकी केही हिस्सा भारत, भूटानसँग जोडिएको छ । नेपाल स्वयं एक चीन नीतिमा प्रतिवद्धता जनाएको र आफ्नो भूमिबाट चीनको सुरक्षाप्रति कुनै प्रतिकूल गतिविधि हुन नदिन वचनबद्ध रहेको छ ।
राजा नरेन्द्रदेवको पालादेखिको संबन्ध जंगबहादुर राणा अनि मोहनशशेरको समयसम्म भोटसँग अनेकन उतार चढाब भएको पाइन्छ । धेरै पटक युद्धहरु भएका पनि थिए । तिब्बतमा नै चिनियाँ सेनासँग पनि लडाइँ भएको थियो । तर, नेपालले अधिकांश युद्धमा विजय प्राप्त गरेको पाइन्छ । यसको तुलनामा दक्षिणमा रहेको भारतसँग धेरै युद्ध भएको पाइँदैन । इस्ट इन्डिया कम्पनीले भारतलाई आफ्नो कब्जामा लिएपछि अंग्रेजहरु भारतमा आएका थिए । अंग्रेज सेना र त्यसताकाका शासक वर्गको सम्बन्धको कारणले नेपाल–भारतबीच व्यापारिक सम्बन्धका कारणले धेरै युद्धहरु भएनन् । केही लडाइँ भए नेपाली सेना टिस्टा, कागडाँसम्म पुगे ।
अंग्रेज सेना सिन्धुलीगढी, जीतगढीसम्म आएका थिए । सुगौली सन्धिपश्चात जितेको भूभाग आदान प्रदान गरी दुई मुलुकबीच सुलह भएको पाइन्छ । नेपाल तिब्बतबीच यस्तै लडाइहरु नभएका हैनन् तर नेपाल अधिकांश युद्ध जितेको इतिहास साक्षी छ । राजा प्रताप मल्लको पाला (वि.सं. १६९९ – १७०२) मा नेपाली सेनाले केरुङ कुरीको अधिकांश भूभाग भाफ्नो अधिनमा ल्याएको थियो । यो नाका नै तिब्बत नेपाल जोड्ने प्रमुख र छोटो नाका थियो । त्यसबेला काजी भीम मल्लको नेतृत्वमा नेपाल–भोट सन्धि भएको थियो । जसअनुसार ल्हासामा नेपालीहरुले निर्वाधरूपमा व्यापार गर्न पाउनुपर्ने,नेपालमा टक मारिएका सिक्का पैसा तिब्बतमा चलनचल्तीमा ल्याउन पाउने, ल्हासामा नेपाल सरकारको प्रतिनिधि स्थायीरुपमा राख्न पाउने अनि नेपालले जितेको कुरी केरुङ भूभाग फिर्ता दिने जस्ता महत्वपूर्ण सन्धि भएका थिए । फलस्वरूप काठमाण्डूका ३२ जना व्यापारी ल्हासामा व्यापार सुरु गरेका थिए जुन आजसम्म निरन्तर छ । त्यही सन्धि अनुसार ल्हासामा विदेशी कार्यालय खोल्न पाएको नेपालमात्र एक मुलुक रहेको छ । आज पनि कसैले कुनै राष्ट्रले अनुमति पाएका छैनन् । मल्लकालीन समयमा अत्यन्तै राम्रो सन्धि भएको अवस्था पृथ्वीनारायण शाहको पालादेखि खराब हुँदै आएको प्रतापसिंह शाहले सुल्झाउने प्रयास गरेको भएता पनि जंगबहादुर राणाको समयमा तिब्बती चिनियाँ सैनिक नुवाकोट वेत्रावतीसम्म आइपुगेको थियो त्यसैकारण जंगबहादुरले थापाथलीमा सहमति गरे र थापाथली सन्धीको रुपमा टुंग्याए । तर, अंग्रेज सेनाको साथ पाएका राणा शासकहरु वेलाबखत सम्बन्धलाई तिक्तता दिँदै आएका थिए । एउटा समय आयो जब नेपालले भोटतर्फ अफिम व्यापार गर्न थाल्यो । यतिसम्म गरे कि,नेपाली केटीहरुलाई तिब्बत पसाएर बेच्ने काम पनि ग¥यो । यस्तै कारणले नेपालसँग हुने व्यापार लाइ केरुङ नाकाबाट बन्द गरे र भारतको नाघुला नाकालाई प्रयोग गर्न थाल्यो अनि ल्हासा व्यापार गर्ने काठमाडौंका व्यापारीहरु कलकत्ता हुँदै कालीम्पोङ,नाघुला बाटोबाट व्यापार गर्न थाले । जसले गर्दा नेपालको लागि अफ्ठेरो परिस्थिति निर्माण भएको थियो । यही समय भारतमा अंग्रेज भारत छोड आन्दोलन सुरु भयो । वि.सं २००४ मा÷२००६ मा माओ नेतृत्वको कम्युनिस्ट पार्टीले चीन आफ्नो अधिनमा ल्यायो । भारतले स्वतन्त्र प्राप्त गरिसकेको थियो । यस्तो परिस्थितिमा मोहन शमशेरले आफू सुरक्षित हुन भारतसँग शान्ति तथा मैत्री सन्धि गरे, जुन आजसम्म लागू छ ।
माओको चीनले ‘शक्ति र सत्तामा नहुनेलाई मतलब नगर्ने शैली’ अपनाउँछ । चीनले नेपालसँ दौत्य सम्बन्ध कायम गरेको झन्डै ७० वर्ष भएको छ । यो अवधिभर नै त्यही नीति अँगाल्यो । राजा वीरेन्द्रको परिवारको नरसंहार भएको बेलासम्म राजतन्त्र चीनको सबैभन्दा नजिकको मित्र रहेको थियो । राजा वीरेन्द्रले जहाँ अध्ययन गरेको भएता पनि चीनले महेन्द्रभन्दा वीरेन्द्रलाइ बढी आफ्नो ठान्दथे । महेन्द्र र वीरेन्द्र राजा भएको अवधिमा चीनबाट नेपाललाई सबैभन्दा बढी पूर्वाधार विकास उद्योग स्थापना भ्रमण आदान प्रदान बढी भएको पाइन्छ ।
ल्हासामा व्यापार गर्ने नेवारमा जमल असनका तुलाधर र स्थापितहरु बढी थिए । पूर्व वामपन्थी नेता पदमरत्न तुलाधरका ३ पुस्ते नै ल्हासा व्यापारी थिए । उनका पिताजी ज्ञानरत्न अध्यक्ष भएर वि.सं. २००० मा नेपाली वाणिज्य संघको स्थापना ल्हासामा गरेका थिए । चीनका प्रधानमन्त्री चाउ एन लाइलपे नेपाल भ्रमणगर्दा उनलाई भेटन गएका पनि थिए र ज्ञानरत्नले माओ–महेन्द्र दाजुभाइ होइनन र ? चीन र नेपाल दिदी बहिनी होइनन् र ? भन्ने लय बोलीमा स्वागतगान गाएका थिए । त्यसताकाका बौद्ध भिक्षु धर्मलोक अमृतानन्द र अश्वघोष धेरैपटक चीनको बुद्ध र वामपन्थी विचार एउटै भन्ने भाष्यलाई स्थापित गर्न प्रयत्नशील थिए । कालान्तरमा त्यही अश्वघोषलाई एमालेले राष्ट्रियसभाको सांसद पनि बनायो । उनी शिशु पोशाकमा माओका विचार पुस्तक लिएर सदनमा पुग्ने गर्दथे । त्यसवेला निकै चर्चा हुन्थ्यो नेपालबाट बुद्ध गए चीनबाट माओ आए ।
माओ र महेन्द्रबीचको सम्बन्ध निकै सुमधुर थियो नै । त्यसको प्रभाव कालान्तरमा नेपालमा ज्ञानेन्द्रले ‘कु’ गरेको बेलामा समर्थन गरेर सहयोग गरेको थियो । सैन्य सामग्री दिएर सघाएको थियो । तर, उनै ज्ञानेन्द्रबाट पदच्यूत भएसँगै चिनियाँ अधिकारीले बेवास्ता गरेको, नभेटेको गुनासो गरेको पाइन्छ । यो पनि चिनियाँ शैली सत्ता र शक्तिमा नरहेकालाई मतलब नराख्ने प्रवृत्ति अनुरुप नै थियो ।
झन्डै २०० वर्ष अगाडी चीन र भारत विश्वका २ ठूला शक्ति थिए । आज पुनः त्यो दिशातर्फ दुवै मुलुक अगाडी बढेका छन् । तर, ती दुवै मुलुकको छिमेकी बनेर बसेको नेपाल आज विश्वमञ्चमा आफ्नो प्रभाव देखाउन सकिरहेको छैन । यसबारेमा हामी सबैले गहन चिन्तन गरौं ।





