बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मतदाता रिझाउन गोरखा नपा-५ का उम्मेदवारहरू घरदैलोमा

मतदाता रिझाउन गोरखा नपा-५ का उम्मेदवारहरू घरदैलोमा


  • हरिराम उप्रेती
  • मंसिर १३ २०८१, बिहिबार

गोरखा / गोरखा नगरपालिका–५ मा मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारहरू मतदाता रिझाउन घर–दैलोमा व्यस्त बनेका छन् । गोरखा–५ को वडाध्यक्ष पदका लागि ९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन नजिकएसँगै हरेकदिन बिहानैदेखि उम्मेदवारहरू मतदाताको घर, काम गरिरहेका खेतबारीमा पुगेर मत माग्न व्यस्त छन्। आफ्ना पार्टीका उम्मेदवारलाई मत माग्न केन्द्रीय तहका नेता पनि गोरखा आएका छन् ।

नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेलगायत केन्द्रीय नेता आफ्नो पार्टीका उम्मेदवारलाई भोट माग्न घरदैलो गरिसकेका छन् । मंसिर ५ मा गोरखा आएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टीका ऊम्मेदवार र स्थानीयसँग अन्तरक्रिया गरेका थिए ।

गण्डकी प्रदेशभरिको एउटा वडामा मात्र हुन लागेको निर्वाचन भएकाले पनि गोरखा-५ को निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ । उम्मेदवारहरू ठूला सभा समारोहभन्दा पनि स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर घरदैलो गरिरहेका छन् ।

‘९ जना उम्मेदवार छन्, एकथरी आएर जान नपाउँदै, अर्को थरी आइसक्छन्, बिहानभरि उनीहरूकै कुरा सुनेर बित्यो,’ गोरखा–५ पस्लाङका रामबहादुर थापाले भने, ‘हामीले उहाँहरूको कुरा मात्र सुनेका छैनौं, आफ्ना कुरा पनि राखेका छौं, मोटरबाटो, खानेपानी, मन्दिर मर्मत लगायत विकासका योजनाका बारेमा उहाँहरूलाई सुनाएका छौं ।’

बाह्रै महिना एम्बुलेन्ससम्म चल्न सक्ने सडकको मुद्दा स्थानीयको प्राथमिकतामा छ । एक घर एक धारासँगै एम्बुलेन्ससम्म चल्न सक्ने बाटो बनाइदिनुपर्ने विषय उम्मेदवारसँग राखेको रिपका कृष्णबहादुर थापाले बताए । उम्मेदवारहरूको ओहोरदोहोरले गोरखा–५ मा निर्वाचनको माहौल निकै बढेको स्थानीयवासी बताउँछन् ।

२०७९ सालमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष खिलबहादुर रानाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा नेकपा एमालेले रानाकी श्रीमती दुर्गामाया थापा रानालाई उम्मेदवार बनाएको छ । उम्मेदवार पनि स्थानीय विकास निर्माणका विषयलाई प्राथमिकतामा दिएर मत माग्न व्यस्त छन् ।

नेकपा एमालेकी उम्मेदवार थापा राना हिजो माथिल्लो स्वाँरामा स्थानीय मुद्दा मतदातालाई सुनाउँदै घरदैलोमा थिइन् । वडाको भूबनोट, प्राकृतिक स्रोतसाधन र सामाजिक सांस्कृतिक विविधतलाई ध्यानमा राखी कृषि क्षेत्रका तरकारी, फलफूल एवं पशुपालन र पर्यटन प्रवर्द्धनका क्षेत्रमा धार्मिक सांस्कृतिक पक्षका साथै भौतिक पूर्वाधार सडक, खानेपानी, भवन लगायत यावत् पक्षमा थालनी भएका कामलाई निरन्तरता दिने र अधुरा कार्य पूरा गर्दै जाने उनले मतदातामाझ बताइन् ।

नयाँ सम्भावनाको खोजी गर्ने, एकल महिला, अपाङ्गता भएका, असहायका लागि सामाजिक सुरक्षा कार्यक्रम सहित सीपमूलक तालिमका माध्यमबाट रोजगारी सिर्जना गर्ने पनि उनले चुनावी अपिलमा समेटेकी छिन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भाइकाजी आले मगरले ‘स्वाथ्य बिमा वडाको जिम्मा’ कार्यक्रम संचालन गर्ने, एक घर एक धारा, टोलरटोलमा खेलकुद पूर्वाधार निर्माण, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनजस्ता विषय समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
१५ बुँदे प्रतिबद्धता पत्रमा शाखा सडकको स्तरोउन्नति, कृषि पकेट क्षेत्र पहिचान गरी ‘एक घर एक लघु बगैंचा’ निर्माण गर्ने, होम स्टेलाई थप व्यवस्थित बनाउने जस्ता विषय समेटेका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवारी दिएका विष्णु रानाले पनि ३५ बुँदे घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै घरदैलोमा व्यस्त छन् । पस्लाङ (द्रव्य शाह) चौतारादेखि ठूलो रीप–ढाड–काफलघारी–स्वारा मानेपानी, पस्लाङ चौतारादेखि सानो रीप-अमराई-बेनी खोला हुँदै लामा गाउँसम्मको सडक स्तरोन्नति, १ घर १ धारा, सुन्तला कागतीखेती तथा माछापालन र पशुपालनमा प्रोत्साहन गर्ने जस्ता विषयवस्तु उनले चुनावी घोषणापत्रमा समेटेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट विष्णुबहादुर राना मगर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगलबहादुर थापाको उम्मेदवारी परेको छ । त्यस्तै मंगल नेसनल अर्गानाइजेसनबाट भवानी थापा मगर, नेसनल रिपब्लिक नेपालकी सविना तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी कल्पना राना, राप्रपा नेपालका रूपसिंह राना र नेपाल समाजवादी पार्टीका रूपेश मग्रातीले उम्मेदवारी दिएका छन् ।

उपनिर्वाचनका लागि गोरखा-५ मा २ हजार २ सय २५ मतदाता रहेका छन् । गोरखकाली आधारभूत विद्यालय स्वाँरा र शिवशक्ति आधारभूत विद्यालय अमराई गरी दुईवटा मतदान स्थल रहेका छन् । गोरखकाली आधारभूत विद्यालयमा ७ सय २४ मतदाता रहेका छन् भने शिवशक्ति आधारभूत विद्यालय, अमराईमा १ हजार ५ सय १ मतदाता छन् । २०७९ सालको भएको स्थानीय तह निर्वाचनमा उक्त वडामा २ हजार १ सय ६५ मतदाता थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->