मुस्ताङ/ ‘कालीगण्डकी नदीमा थुप्रीएको गेग्रान (गिटी, बालुवा) ले दायाँवायाँका बस्ती जोखिममा पर्दै गएका छन् । किनारको खेतीयोग्य जमीन पनि पुरिइसक्यो’ गण्डकी प्रदेश सभाको अर्थ तथा बिकास समितिले केही समय अघि सदरमुकाम जोमसोममा आयोजित एक अन्तरक्रियाका क्रममा नागरिक समाज मुस्ताङका संयोजक चन्द्रबहादुर थकालीले भने । बाह्रगाउँ मुक्तीक्षेत्र गाउँपालिकाको छुसाङदेखि कालीगण्डकीमा पानीको बहाव कम भएका कारण नदी र ठाडा खहरे खोलाले ल्याएको बगर नबग्ने समस्याले बस्ती भन्दामाथि नदी आएको उनको भनाई थियो । ‘गेग्रान नकिकाल्ने हो भने खतरा बढ्दै गएको छ’ सदरमुकाम जोमसोम संरक्षण समितिका अध्यक्षसमेत रहेका थकालीले समितिसमक्ष भने, ‘प्रदेश सरकारले पनि गम्भिर भएर यस विषयमा चासो देखाउन पर्छ ।’
बालुवा र गिटीले बनेको हिमाली सुख्खा उपत्यका र पठार रहेका मुस्ताङमा कालीगण्डकी नदीमै गेगर थुप्रिदै गएपछि तटिय क्षेत्रका बस्ती र खेतीयोग्य जमिन उच्च जोखिममा पर्न थालेका छन् । समथर र फराकिलो भएर बग्ने नदीको गति कम भएपछि गेग्रान नबगी थुप्रिएर बसेको हो । गिटी, वालुवाको पहाडबाट हिमाली ठाडो खोलाले पनि गेग्रान बगाएर ल्याउछन । त्यो पनि नदीमै आएर थुप्रिन्छ । जलवायु परिवर्तनको कारण मुस्ताङमा बढ्दै गएको वर्षाको मात्राले गिटी, वालुवाको पहाड झनै स्खलित भइरहेकाले भविष्यमा ठुलै खतरा आउनसक्ने भन्दै स्थानीयले चिन्ता जनाएका छन् । २० वर्षको अवधिमा नदीको सतह ७÷८ मिटर माथि आइसकेको उनीहरुको अनुमान छ । नदीको सतह माथि भएपछि घरमा पानी पस्ने समस्या निम्तिएको छ ।
थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले गिटी, बालुवा थुप्रीने विषय प्रमुख समस्याको रुपमा रहेको बताए । थासाङ सबैभन्दा पुछारको गाउँपालिका रहेको र माथिका ४ वटा पालिकाबाट आउने गिटी, बालुवा थुप्रीने गरेको उनको भनाई थियो । अध्ययन नभए पनि वर्षेनी ९ इन्चजति नदीको सतह बढेको दावी उनको छ । ‘पहिला काठको भर्याङ राखेर नदीमा झर्नुपथ्र्यो । अहिले नदीको सतह बस्ती भन्दा माथि आइसकेको छ’, उनले भने, ‘अव गेग्रान ननिकाल्ने हो भने बस्ती उठीबास लाग्छन् ।’ थुप्रीएको नदीजन्य पदार्थलाई उत्खनन् गरेर बाहिर बिक्री गर्न सके बस्ती सुरक्षा, अर्थ संकलन, दायाँवायाँको जग्गामा खेती गर्न सकिने उनको भनाई छ । शालीग्रामबाट बनेको नदीजन्य पदार्थ भनेर भारतमा बेच्न सकिने भएकाले त्यसका लागि संघीय सरकारले निकासीका लागि अनुमति दिनुपर्नेमा उनले जोड दिए ।
ग्लोबल वार्मिङले माथिल्लो क्षेत्रमा पानी परिरहने भएकाले नांगो डाँडाको बालुवा बगेर आइरहेको हो । थासाङका टुकुचे, खन्ती, कोवाङ, लार्जङ, सौरु, सिर्खुम, कोखेठाँटी, छात्ताङ, धम्पु, छ्यो, घाँसा, लेते बस्ती जोखिममा परेको उनको भनाई छ । बस्ती जोगाउन वर्षेनी तटबन्धनमा खर्च भइरहँदा अरु विकास निर्माणमा अवरोध सिर्जना गरेको उनले बताए । कालीगण्डकी नदी बाहेक थासाङमा थापाखोला, तमुखोला, लाङक्यू खोला, बोक्से खोला, भट्टे खोला, छात्ताङखोला, लेते खोला, पाङखोला, घाँसाखोला जस्ता ठाडो खोला छन । हिमपहिरो जाँदा यी खोलामा गिटी बालुवा बढी आउने गर्छ ।
घरपझोंग गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले गिटी बालुवा उत्खनन् र निकासमा प्रदेश सरकारले पहल गर्न अनुरोध गरे । यसबाट अर्बौ रुपैयाँ राजस्व संकलन हुने उनले बताए । घरपझोंगमा सदरमुकाम जोमसोम बजार, स्याङ गाउँ बढी जोखिममा छन् । ‘वर्षमा एक मिटर जति माथि नदी आएको छ । खेतीयोग्य जमीन पनि पुरिएको छ’, उनले भने, ‘बस्ती तल, बगर माथि भएको र वर्षेनी तटबन्धन, ग्याविन जाली लगाउनु पर्ने अवस्थाले लगानी मात्रै खेर गइरहेको छ ।’ स्याङमा झोलुंगे पुल नै छुन लागिसकेको उनले बताए ।
दायाँबायाँ बलौटे पहाड रहेको र जलवायु परिवर्तनले गर्दा हिमपहिरो आउने, पानीसमेत बढी परेर बालुवा बगाउने, ठाडो खोलाले कालीगण्डकीलाई साँघुरो बनाइदिन गरेको लालचनले बताए । हिउँदमा राम्रोसंग हिउँ परेमा त्यति दुख नदिने उनको अनुभव छ । ‘सिजनमा परेको हिउँले माटो समातेर बसेको हुन्छ । हिउँ परेन भने माटोभित्र तापक्रम बढेर माटो बढी बग्ने गरेकोले हिउँ परेमा आफुहरु ढुक्क हुने अवस्था रहन्छ’ उनले भने । घरपझोंगमा ५ वटा ठाडो खोलाले दुख दिने गरेको उनले बताए । घरपझोङको मार्फा, स्याङ, जोमसोम, पुथाङसमेतका बस्ती जोखिमम परेका हुन ।
बाह्रगाउँ मुक्तीक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ कालीगण्डकी नदीको तटीय क्षेत्रको ढुंगा, गिटी, बालुवाको व्यवस्थापन नगरे ठूलो समस्या आउने बताए । र उक्त पालिकाको कागवेनी, छुसाङ, एक्लेभट्टी क्षेत्रमा अत्याधिक मात्रामा गेग्रान थुप्रीएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाई संरक्षण कार्यालय जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले गेग्रानका विषयमा कुनै औपचारिक अध्ययन नभएको बताए । नदी तटीय क्षेत्रका बस्ती सधैं जोखिममा हुने भन्दै उनले विस्तृत वातावरणीय अध्ययन आवस्यक देखिएको बताए । परिमाण के कति छ भन्ने यकिन गरी सोही अनुसार व्यवस्थापन पनि गर्नुपर्ने उनको भनाई छ ।
खानेपानी, जलस्रोत तथा सिंचाई बिकास सवडिभिजन कार्यालय मुस्ताङका सूचना अधिकारी (अधिकृत छैठौं) कल्याण पौडेलले छुसाङदेखि लेतेसम्म वर्षेनी ५० सेमी गेग्रान थुप्रीदै गएको अनुमान गरिए पनि अध्ययन भने नभएको बताए । अहिले कार्यालयले छुसाङ, एक्लेभट्टी, स्याङ, जोमसोम, मार्फा, टुकुचे, खन्ती, सौरु, सिर्कुङ, कोखेठाँटी, छाप्ताङमा तटबन्धनको काम भइरहेको उनले जनाए । जोमसोममा संघ सरकारको सहयोगमा तटबन्धनको काम भइरहेको हो । ‘गेग्रान निकालेर नदीलाई बग्न नदिए समस्या आउन सक्छ’ उनले भने ।
कालीगण्डकीमा गरिएको तटवन्ध अस्थायी अर्थात् कामचलाउ मात्र भएकाले यो दीगो समाधान नभएको स्थानीय बताउँछन । मुस्ताङ जिल्ला समन्वय समितिका उपप्रमुख आइतलाल थकालीले सर्बोच्च अदालतको आदेशले पनि नदीबाट गेग्रान निकाल्न नपाएको भन्दै यसमा पुनर्बिचार गर्नुपर्ने बताए । जिसस प्रमुख माया गुरुङले बस्ती नै जोगाउन नसके बिकास के का लागि भन्दै गिटी, बालुवाको व्यवस्थापन छिटो गर्नुपर्ने बताइन् ।





