स्याङ्जा/पुतलीबजार नगरपालिका वडा नं –१३ र अर्जुनचौपारी गाउँपालिका वडा नं –१ जोड्ने ठाडाखेतमा मल्टि सेल बक्स कल्भर्ट (मोटरेवल पुल) निर्माण गरिएको छ ।
पुलको सर्वे २०७० साल पुष ५ गते भएको थियो भने २०७४ भदौ २३ गते निर्माण कम्पनीले सम्झौता गरेर काम थालेको थियो । बक्स कल्भर्ट जेएन इश्वर÷सिद्धबाबा जेभीले तीन करोड ४१ लाख ९२ हजार ३०८ रुपैयाँ ३५ पैसामा निर्माण गरेको इन्जिनियर सृजना शर्माले बताइन् ।
७९.५ मिटर लम्बाई रहेको यस कल्भर्टमा बिचमा डिभाइडर राखेर निर्माण गरिएको छ भने एक भागमा चार मिटर अग्ला पाचँ वटा सेल र अर्को भागमा २.८ मिटर अग्ला सात वटा सेल रहेका छन् ।

पुतलीबजार नगरपालिका–१३ मा कल्भर्टको उद्घाटनमा सङघीय सांसद राजु थापाले पुलको उद्घाटन ढिला भएको बताउदै यसले अझैपनि आम नागरिकमा भएको चेतनाको स्तरलाई परीक्षण गरी रहेको बताए । अरु देशको तुलनामा नेपालमा कम विकास भएको बताउदै थापाले फेरी पनि केही नभएको भन्ने भाष्यलाई चिर्दै भैरहेका विकास निर्माणमा गति दिन सबै एकजुट हुन पर्ने बताए ।
पञ्चायतका ३० वर्षमा भन्दा बहुदल र सङघीयता आएपछि विकासले गति लिएको बताउँदै उनले नागरिकको शिक्षा स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुमा सुधार आएको र जीवनस्तर समेत गुणस्तरीय बनेको जिकिर गरे ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, पुतलीबजार उपप्रमुख देवी अर्याल, अर्जुन चौपारी वडा नं १ का रणबहादुर थापा, पुतलीबजार वडा नं १३ का कार्यवहाक अध्यक्ष सुर्य बहादुर थापा लगायतले मन्तब्य राखेका थिए ।
नागरिकको माग र आवश्यकतालाई मध्यनजर गर्दै पुर्वाधार विकास कार्यालय स्याङजाले यहाँ पुल बनाएको हो । पुलको प्रयोगमार्फत दुई पालिका दुई वडाका नागरिकको आवतजावत तथा कृषि समाग्री ओसारपसारमा सहज भएको छ ।




