मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

हिन्दु धर्म : वैज्ञानिकता नखोजिनु दुःखद्

हिन्दु धर्म : वैज्ञानिकता नखोजिनु दुःखद्


  • माधव चापागाईं
  • मंसिर १६ २०८१, आइतबार

धर्म आफैंमा धारण गर्ने चिज हो । धर्मले मानिसलाई नैतिक र व्यवहारिक नियमहरु सुझाउँछ । भएसम्म सकारात्मक सोचको विकास गराउँछ भने धर्मले कसैको कुभलो चिताउँदैन । हिन्दु धर्ममा रहेका विभिन्न ग्रन्थ, नीतिशास्त्र र पुराणहरुले सत् कर्म गर्नुपर्ने र असत्कर्म परित्याग गर्नुपर्ने सन्देश दिन्छन् । समाजमा पाप, पुण्य, स्वर्ग र नर्कको भय देखाएर समतामुलक समाज निर्माणको अभियान प्राचीन ऋषिमहर्षिले गरेका थिए । मानिस विवेकशील बन्नुपर्छ । अरुमाथी अन्याय, अत्याचार, शोषण र दमन गर्नु पाप हो । अर्काको हत्या र हिंसा गर्ने महापापी हुन्छन् । धर्म, अर्थ, काम, मोक्ष चतुर्वर्ग फल प्राप्तिका लागि मानिसले निरन्तर साधना गर्नुपर्ने कुरा नीति शास्त्रहरुमा पाइन्छ । वास्तवमा धार्मिक ग्रन्थ, नीतिशास्त्र र पुराणहरु त्यतिबेलाका कानुन मानिन्थ्ये । तिनै ग्रन्थ र नीतिभन्दा बाहिर रहेर कसैले काम गर्यो भने त्यस्लाई सामाजिक बहिष्कार गरिन्थ्यो । यसरी समाज विकास र सामाजिक रुपान्तरणका लागि निर्मित ग्रन्थहरुले आवश्यक व्यवहारिक सीप, आध्यात्मिक र नैतिक चेतनाका साथै नीति, रणनीतिका विषयहरू पुर्ण रुपमा अवलम्बन गर्न र गराउन सिकाउँथे । दैनिक क्रियाकलाप संचालनका लागि आवश्यक ज्ञान पनि यिनै ग्रन्थहरुबाट प्राप्त हुन्थ्ये । मानव जीवनका चार आश्रम ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रममा पनि यिनै नीतिनियमले काम गर्दथे । कर्मेन्द्रिय र ज्ञानेन्द्रियहरुले पुर्ण रुपमा काम गर्न सके मानवले सफल जीवन ज्यूँन सक्छ । अन्यथा उस्ले शारीरिक अवयबहरुलाई नियन्त्रण गर्न सक्दैन उस्को जीवन दुर्बल हुन पुग्छ । यसरी हेर्दा पुराना नीतिशास्त्र र प्राचीन ऋषिमहर्षीहरुका कथन निक्कै फलदायी सिद्ध छन् ।

अत्याधुनिक युगको विकाससंगै हामी भौतिकता र ऐशआराममुखी भइरहेका छौँ । हाम्रा धार्मिक, साँस्कृतिक, नैतिकता, व्यवहारिक रीति रिवाज र परम्पराहरु बिलिन हुँदै गइरहेका छन् । हाम्रो समाजमा पाश्चात्य संस्कृतिले तिव्रता पाएको छ । धर्म परिवर्तनका अथाह रुपहरु देखिन थालेका छन् । मानिसहरूले आफ्नो धर्मभित्रको वैज्ञानिकता बिर्सिएर अर्काको खोक्रो संस्कृती अवलम्बन गरिरहेका छन् । हामी सनातन धर्मको आडमा बाँचेका मानिसहरुले आफ्ना सन्तानहरूलाई परम्परागत मूल्य मान्यता र रीतिरिवाजको मर्म अनुरुप अनुशासन र कर्तव्य परायणताको बोध गराउनु पर्दछ । हाम्रा धर्म ग्रन्थहरुले मानिसलाई इमानदार, नैष्ठिक, कर्तव्यनिष्ठ, निरपराधी, सात्विक र अनुशासित बनाउन महत्वपूर्ण भुमिका खेलिरहेका हुन्छन् । पछिल्लो समय हाम्रो देशमा पाश्चात्य संस्कृतिको अनुकरण र सनातन धर्मप्रति वितिष्णाका भावहरु प्रकट हुँदै गइरहेका छन् । जस्ले गर्दा हिन्दु समाज खण्डित, वैमनस्य पुर्ण र सामाजिक सद्भाव विहिन बन्दै गएको छ । धर्म आफैंमा शक्तिशाली चिज होइन । धर्मलाई शक्तिशाली बनाउन मानव समुदायले धारण गर्नुपर्छ । जत्ति मात्रामा धर्मलाई धारण गरिन्छ । उत्ति नै धर्मले मलजल पाउँछ र सामथ्र्यवान भएर समाजलाई नैष्ठिक बनाउँछ । पाश्चात्य जगतका महान दार्शनिक कार्लमाक्र्सले धर्मलाई अफिम भनेका थिए । अफिम भन्दैमा लागुऔषध भन्नू हाम्रो भुल हुन्छ । अफिम आफैंमा चम्किलो, बहुमुल्य एवं स्वतन्त्र रुपमा नपाइने चिज हो । त्यसैले धर्म अफिमका रुपमा छ जुन सबै मानिसका लागि जसरी अपर्याप्य छ । त्यसैगरी महत्वपूर्ण पनि रहेको छ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनभर नास्तिक भाव व्यक्त गरे तर अन्तिम समयमा ‘आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो न भो विवेक’ भनेर आफ्नो विगतप्रती कृतघ्न बनेका थिए । नेपालको वर्तमान राजनिती र राज्य व्यवस्थाले भरपुर परिश्रम गरिरहेको धर्म परिवर्तन र सामाजिक मर्यादा माथिको आक्रमणले जातीय द्वन्द र धर्म निरपेक्षतालाई लिएर समाज निराधार र कमजोर बनिरहेको छ । पश्चिमा देशहरुले हिन्दु धर्म र हिन्दुत्वप्रती आथाह आस्थाका भावहरु देखाउँदै गर्दा हाम्रा सर्वहारावादी नेताहरुले साम्यवादको नाममा आफ्ना मुल्य मान्यताहरु विरुद्ध षड्यन्त्र रचिरहेका छन् ।

धर्मलाई निराधार र कपोलकल्पित भन्नेहरूलाई दुइ चार ओटा पुर्व युगिन सत्यका भावहरु दर्साउनु अत्युक्ति होला । हामीले वैज्ञानिक र प्रमाणित सिद्धान्तलाई आधार मान्छौं भन्नू महाभुल हुन्छ । पुर्वीय दार्शनिक एवं हाम्रा ऋषि महर्षिहरुले आजभन्दा कैयौं शताब्दी पहिले गरेका केही भविष्यवाणी एवं नैतिक नियमहरु आज पनि अनुकरणीय नै छन् । जस्को केही भाग स्पष्ट पार्नु उक्तिसम्वत होला । लागौं हिन्दु धर्मभित्रको वैज्ञानिकतातर्फ धर्मसिन्धूमा ‘नून, घ्यू, तेल जस्ता पदार्थहरु चम्चाले मात्र पस्कनु पर्छ हातले होइन । भनेर भनिएको छ । ‘लवणं व्यञ्जनं चैव घृतं तैलं तथैव च । लेह्यं पेयं च विविधं हस्तदत्तं न भक्षयेत् ।’ लोभ नै पापको कारण हो तसर्थ लोभ परित्याग गर्न यसरी आह्वान गरिएको छ । लोभः पापस्य कारणम् । त्यसै गरेर पुर्वीय वाङ्मयको प्रसिद्ध ग्रन्थ मनुस्मृतिमा ‘अनातुरः स्वानि खानि न स्पृशेदनिमित्ततः ।’ अर्थात् आफ्नो शरीरका अंग जस्तै आँखा, नाक, कान आदिलाई बिना कारण छुनु हुँदैन । भन्ने उक्तिले सदावहार सार्थकता पाएको बुझ्न सकिन्छ । कोरोना महामारीको समयमा धेरै सुझाइएको यो सिद्धान्त हाम्रा ऋषिमुनिहरुले पहिलेदेखि नै प्रकाशमा ल्याएका थिए ।

मार्कण्डेय पुराणमा ‘अपमृज्यान्न च स्न्नात गात्राण्यम्बर पाणिभिः ।’ भनेर ‘एकपल्ट लगाएका बस्त्र धोएपछि मात्र पुनः प्रयोग गर्नुपर्छ, नुहाएपछि शरीर तुरुन्त सुकाउनु पर्दछ’ भन्ने भनाइ पाइन्छ । हिन्दु धर्म र संस्कारको मर्म नबुझि धार्मिक विसङ्गती मच्चाउन खोज्नेहरुलाई पनि प्रश्न एक्काइसौं शताब्दीका डाक्टर र वैज्ञानिकहरुले अहिले स्वास्थ्य मापदण्डमा अभिव्यक्त गर्ने यी भनाइहरु पहिलेदेखि नै मान्दै आइएका हुन् । साबुन पानीले राम्ररी हात धोएर खाना खानु पर्छ भन्ने तथ्य यसरी प्रयोग हुन्थ्यो शास्त्रमा ‘हस्तपादे मुखे चैव पञ्चाद्रे भोजनं चरेत् ।’ आफ्ना हात, खुट्टा र मुख सफा गरेपछि मात्र भोजन गर्नुपर्छ । वाघलस्मृति ग्रन्थमा ‘विना स्नान शुद्धि गरेका कार्य निष्फल हुन्छन् । भनेर भनिएको छ । ‘स्न्नानाचारविहीनस्य सर्वाः स्युः निष्फलाः क्रियाः ।’ हो यिनै तथ्य र प्रमाणले हामी हिन्दुलाई हिन्दु हुनुमा गर्व लाग्छ । आफ्नो सामान एक्लै प्रयोग गर्नु पर्छ । एक जनाले प्रयोगमा ल्याएका सामाग्री अर्कोले प्रयोग गर्दा रोग सर्ने भय हुन्छ भन्ने अर्थ यो श्लोकले निर्देश गर्छ । ‘न धारयेत् परस्यैवं स्न्नानवस्त्रं कदाचन ।’ पद्मपुराणमा भनिएको यस उक्तिले ‘नुहाएपछि शरीर पुछ्ने तौलिया अरुले प्रयोग गरेको हुनु हुँदैन ।’ भनेर बताउँछ । महाभारतमा ‘तथा न अन्यधृतं (वस्त्रं धार्यम् ।।’ अर्थात् ‘अरुले प्रयोग गरेका कपडा लगाउनु हुँदैन । भनिएको छ । गोभिसगृह्यसूत्र नामक पुस्तकमा ‘न आद्रं परिदधीत ।। भनेर ‘भिजेको कपडा पहिरनु हुदैन ।’ भनिएको छ । ऋण लगाइदिने बाबा र खराब विचार भएकी आमा शत्रु हुन्छ भनेर ‘ऋण कर्ता पिता शत्रु माता च व्यविचारिणी ।’ भन्ने महावाणी संस्कृतमा पाइन्छ । त्यसै गरेर ‘अति सर्वत्र वर्जयत्’ भनेर अति कार्यलाई तुच्छ भाव दिइएको छ । अति गर्यो भने त्यो नष्ट हुन्छ । सम्बन्ध होस् वा कुनै कार्य, खराब होस् वा असल, रवर जत्ती तन्क्यायो उत्ति नै चुडिने डर हुन्छ । भन्ने भाव यहाँ चरितार्थ गरिएको छ । अहिले धेरै अनुसन्धानकर्ता र वैज्ञानिकहरुले पत्ता लगाएका सिद्धान्तसंग पुर्वीय दर्शनले सिद्ध गरेका प्रशस्त नीतिहरुले सार्थकता पाएका छन् । आहारा द्विगुणश्चैव लज्जाश्चापी चतुर्गुणः । साहस षड्गुणश्चैव कामश्चाष्ट गुणस्मृतः ।। भनेर वर्णित स्त्रीका विशेषताहरुलाई नियाल्दा असन्तुष्टि प्रकट गर्न मिल्छ ? अँह कदापि मिल्दैन । यसर्थ अहिले कलियुगलाई मिल्ने नीति नियम पहिले नै निक्र्याैल गरिएको परिवेशमा के हिन्दु धर्म अवैज्ञानिक र निरर्थक छ ? तरल पदार्थको लेनदेनमा ढोकाको बार नहोस् र सिधै हातमा नदिनु भन्ने उक्ति पनि युग सापेक्षित नै छ । किनकी ढोका भित्र र बाहिर हुँदा भुभागमा भिन्नता हुने जस्को फलस्वरूप पदार्थ पोखिन पुग्ने, तातो वा चिसो पदार्थलाई सिधै हातमा दिदा नष्ट वा क्षति हुने सम्भावना भएकोले पानी, चिया, दूध र अन्य तरल पदार्थहरु थालमा राखेर दिने गरिएको हो । त्यसै गरेर खुर्सानीलाई हातहातै दिदा वा छुदा कुनै विलम्ब वा आतुर कालमा अन्य संवेदनसिल अङ्गमा छोइए कष्ट हुने भयले हातमा दिनु हुँदैन भन्ने प्रचलन चलाइएको हो । यसर्थ धर्मानुसार नीति नियम मानव जीवनको हित हुने गरि तय गरिएका हुन्छन् । तसर्थ वैदिक सनातन धर्म अनुकरण योग्य छ ।

यसर्थ पनि हिन्दु धर्मले आमा, बुबा र गुरूलाई देवता मान्नुपर्छ । आफुभन्दा ठूलालाई आदर र सानालाई माया गर्नुपर्छ । असल बाटोमा हिँड्नुपर्छ । समाजको भलो चाहानुपर्छ । क्षणिकतामा रमाउनु हुँदैन । असत्यका अगाडि सत्य उज्यालो हुन्छ भन्ने अर्थ लगायो के यो झुट हो ? मानव जीवन प्राप्त गरेपछि कर्ममा विश्वास गर्नुपर्छ । त्यसैले प्रकृती र ईश्वरको पूजा गर । मन्दिर र मूर्ति देवताका साक्षात रुप हुन् । उनीहरूको सम्मान र पूजा नै ज्ञान, धर्म र संस्कारको सम्मान हो भन्ने भाव जागृत गरायो के धर्म स्वार्थी हो त ?

यी माथिका कुराहरू पालना गरे तिनीहरू समाजका असल नागरिक कहलिन्छन् । के समाजलाई व्यवस्थित गर्न बनाएको सामाजिक कानुन एवं तत्कालीन नीतिशास्त्रहरु वर्तमान समयमा पनि उत्तिकै महत्वपूर्ण छैनन् ? के धर्मले समाजलाई व्यवस्थित रूपमा अघि बढ्न सघाएको छैन ? सामाजिक, पारिवारिक र राजनीतिक कर्तव्यको समायोजित रुप नै धर्म हो । पहिले धर्मले समाजलाई दिशानिर्देश गर्दथ्यो । धर्मकै आडमा मानिसले आफ्नो काम, कर्तव्य र अधिकारको प्रत्याभूत गर्दथे । राष्ट्रको मुल कानुन नै धार्मिक आस्थामा केन्द्रित थियो यसर्थ धर्म सर्वोपरि थियो । तर वर्तमानमा हजारौं तर्फबाट धार्मिक आस्थाप्रती प्रहार भइरहँदा पनि धर्मको वैज्ञानिक पक्ष नखोजिनु दुःखद छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->