
गोरखा / गोरखा नगरपालिका ५ को वडाध्यक्ष पदका लागि आइतवार भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार विष्णु राना मगर विजयी भए । उनलाई पछ्याउँदै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भाइकाजी आलेले ४०२ मत प्राप्त गरे । यसअघि वडाध्यक्ष जितेको एमाले तेस्रो बन्न पुग्यो ।
विगतको जनाधार हेर्दा रानामगरलाई जित निकाल्न मुस्किल देखिन्थ्यो । किनकि यसअघिका दुई स्थानीय निर्वाचनको नतिजामा यो वडामा माओवादी निकै पछाडि देखिन्थ्यो । २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षसहित चार सदस्य कांग्रेसबाट विजयी बनेका थिए
। त्यतिबेला वडाध्यक्ष जितेका रामकुमार थापाले ४४१ मत प्राप्त गर्दा एमालेकी नानुमाया थापामगर ३४३ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वी बनेकी थिइन् । माओवादी केन्द्रकी उम्मेदवार सावित्री थापा राना भने १४१ मतसहित चौथो स्थानमा थिइन् ।
२०७९ सालको निर्वाचनमा २५ मतको झिनो अन्तरले कांग्रेस वडाध्यक्षमा पराजित बन्न पुग्यो । ४५३ मत ल्याएर एमालेका उम्मेदवार खिलबहादुर राना विजयी बन्दा कांग्रेसकी गीता थापामगर ४२८ मत ल्याएर दोस्रो बनिन् ।
उता, २७४ मत ल्याएर माओवादी केन्द्रकी सावित्री थापा राना तेस्रो बनिन् । त्यतिबेला वडाध्यक्ष गुमाए पनि चार वटै वडा सदस्य भने कांग्रेसका उम्मेदवारले जिते । यसरी अघिल्ला निर्वाचनमा कांग्रेसको बलियो उपस्थिति रहेको उक्त वडामा कांग्रेसले बिस्तारै मतदाता गुमाउँदै गएको देखिन्छ ।
यसअघि सम्पन्न दुवै स्थानीय तहको चुनावमा तेस्रो स्थानबाट माथि उक्लन नसकेको माओवादी केन्द्रका उम्मेदवार भने छलाङ मार्दै अहिले वडाध्यक्षमा विजयी बनेका छन्, त्यो पनि भारी मतान्तरले ।





