यतिबेला बागलुङ नगरपालिकाका सम्पूर्ण विद्यालय र वडामा बालमैत्री अभियान सञ्चालन भएका छन् । रङरोगनले चिटिक्क पारिएका कक्षाकोठा, बालमैत्री आचारसंहिताले रङ्गिएका भित्ताहरु, सूचना अधिकारी, बालमैत्री र लैङ्गिक फोकल पर्सन शिक्षकका तस्वीर देखेर विद्यार्थीमा उमङ्ग बढ्दो छ । विद्यालय तहदेखि वडा, नगर, जिल्लाहुँदै प्रदेशसम्म बाल संजाल गठन भएका छन् । अघिल्लो वर्ष नै बालमैत्री नगर अभियानमा विद्यालय पोशाकमा सजिएका विद्यार्थीहरुले साथ दिएका थिए । बाजागाजासहित बागलुङ बजारमा निस्किएको ¥याली बजार परिक्रमा गरेर कालिका मन्दिरलाई दाहिने पारेर बाङ्गेचौर खेलमैदानमा बिसाएको थियो । २०८१ पौष मसान्तसम्म बालमैत्री नगर घोषणा गर्छौ भनेर मञ्चबाट उद्घोष हुँदा ¥यालीमा थाकेका बालबालिकाले पररर ताली पिट्थे । मञ्चमा भरिभराउ अतिथिहरुले खादा माला र सम्मान थापिरहँदा धुलाम्मे चौर र खपिनसक्नु गर्मीका बाबजुद बिहानैदेखि र्यालीमा हिंडेका बालबालिकाहरुले आफ्नै नाममा चलिरहेको शासनका लागि बिस्कुट, फ्रुटी र पानीमा चित्त बुझाए । अनि घर फर्किए । अब फेरि त्यस्तै दिन आउनेछ । बालबालिकाहरुले प्लेकार्ड बोक्ने छन् र पङ्क्तिबद्द लाइनमा हिंड्ने छन् । कडा अनुशासनका बिच विद्यालय, वडा र नगरको प्रतिष्ठा जोगाउन लागि पर्ने छन् । केही समयको कष्टकर र्याली, शिक्षकको कडा नियम अनि बाल अबोधपनभित्र लुकेको कार्यक्रम मापदण्डका अगाडि विद्यार्थीहरु रमाउने छन् पढ्न नपरेकोमा, हुनतः अहिले विद्यार्थीको प्रयोग यत्रतत्र सर्वत्र हुन थालेको छ । सबै ठाउँमा विद्यार्थी उपस्थितिलाई अनिवार्य ठानिनु अवसर हो या चुनौती समयले बताउँला, मन्त्री सम्मान र स्वागतदेखि महायज्ञ प्रारम्भसम्म विद्यार्थीलाई रोजिनु जायज वा नाजायज तपाईंहरु बताउनुस् । कार्यक्रमको मर्यादा बढाउन सजिलो माध्यम विद्यार्थी भएका छन् ।
यहाँको उपस्थितिलाई नराम्रो मान्न पटक्कै मिल्दैन । बालमैत्री नारा लगाउन विद्यार्थी नै पुग्नु पर्छ, यसलाई राम्रै मानौं । परन्तु विद्यार्थीको पहिलो सर्त पढाइ हो । उनीहरुलाई निर्भय वातावरण प्रदान गर्नुपर्छ भन्नेमा दुई मत रहदैन । तथापि जन्मदर घट्दो छ । विद्यालय रित्तिदै छन् । शहरीकरणको प्रभावले गाउँ शुन्य छ । विद्यार्थी अभावमा विद्यालय समायोजन हुँदैछन् । जसका कारण विद्यार्थी टाढा टाढासम्म हिंडेर विद्यालय जानुपर्ने बाध्यता सिर्जना भइरहेछ । पठनपाठन व्यवस्थापन, पाठ्यपुस्तकको सहज उपलब्धता, लागूपदार्थ दुव्र्यसन, बालविवाह र अनाथ बालबालिकाको व्यवस्थापनका समस्या जस्ताको तस्तै छन् । दिवा खाजाका नाममा भ्रष्टाचारका सूचना आइरहेछन् । रिक्त दरबन्दी राहत र करारमा राजनैतिक दलका कार्यकर्ताको बोलवाला चल्दैछ । राजनैतिक चाप्लुसी प्रथाबाट नियुक्त शिक्षकले कस्तो शिक्षा दिन्छन् ? जागिर जोगाउन इमिज डाटामा भरिभराउ विद्यार्थी संख्या देखाउने प्रवृत्ती उस्तै छ । दशक अगाडिको शैक्षिक उपलब्धिका आधारमा गुणस्तर मापन गर्ने हो भने गुणस्तरको शून्यताले एकछत्र राज चलाइरहेको छ । पहिले पुर्वाधार थिएनन् विद्यार्थी थिए । शिक्षक थिए प्रविधि थिएन । आज पुर्वाधार छ विद्यार्थी र शिक्षक छैनन् । के यो हालतमा बालमैत्री अभियानले सार्थकता पाउला ?
सरकारले वि.सं. २०८७ सम्म समग्र देशलाई बालमैत्री घोषणा गर्दै छ । बालबालिकासंग सम्बन्धित ५१ सुचकको कार्यान्वयन र सोही लक्ष्यमा हातेमालो गर्दै स्थानीय सरकारहरु बालमैत्री आचारसंहिता लिएर दौड्धुप गरिरहेका छन् । यो अवस्थामा हाम्रो पालिकाको यो उद्देश्य जायज नै मान्नु पर्छ । बालमैत्री शासनमा बालबालिकासंग सम्बन्धित सबै मानिस उनीहरुकै पक्षमा उभिनु पर्छ रे ! प्रथमतः समुदायस्तरका मानिसहरुले बालबालिकाको मनोभावना बुझुन् र उनीहरुका आवश्यकताको परिपुर्ति गर्नमा जोड दिऊन् । बालबालिका स्वतन्त्र होऊन् । उनीहरुलाई कुनै किसिमको दण्ड, सजाय र दमन नगरियोस् । स्वतस्फूर्त रुपमा उनिहरुका सिर्जना, कला र सीपले फक्रिने अवसर पाऊन् । विद्यालय र परिवारले उनीहरुको अन्र्तनिहित प्रतिभा पहिचान गरि सबल जीवनका लागि मार्गनिर्देश गरून् । साथै सबै तहबाट उनीहरुका अधिकारप्रति संवेदनशील बनियोस् । उनीहरुलाई मिठो बोली वचन र आचरणप्रति जिम्मेवार बनाउँदै लगियोस् भन्ने हो । भविष्यमा समाजलाई सु–संस्कृत र जिम्मेवार बनाउन बालबालिकाहरुको चौतर्फी विकासमा जोड दिनु आवश्यक हुन्छ । उनीहरु भविष्यका कर्णाधार हुन् । बाल प्रतिभाको सम्मान गर्नु हामी सबैको कर्तव्य हुन्छ । बालअधिकार प्रवर्धन गर्न र बालमैत्री पालिका निर्माणको लागि समुदाय, समाज, संघसंस्था, विद्यालय, स्वास्थ्य संस्था लगायतको अहम् भूमिका रहन्छ । यी सबैको सत् प्रयासबाट मात्र बालमैत्री शासन सम्भव हुन्छ । विद्यालय र समुदाय स्तरमा गठन भएका बाल समूहले उनीहरुलाई सचेत र जिम्मेवार बनाउनेछन्, उनीहरुको नेतृत्व विकास, सरसफाइ, सामाजिक विकृति विसङ्गतीका विरुद्धमा जनचेतनामुखी कार्यक्रम सञ्चालन गर्न सहज हुने छ भने उनीहरुको सामाजिक क्षेत्रमा सहभागिता, प्रतिभा प्रस्फुटनका साथै औपचारिक जीवनशैली र व्यवहारमा परिवर्तन भइ पहुँच अभिवृद्धि हुनेछ ।
बालमैत्री शासनका लागि आवश्यक आचारसंहितालाई अभिभावक, विद्यालय र विद्यार्थीले बाँडेर स्वीकार गर्नुपर्छ । जो यस प्रकार छन् ः अभिभावकका लागि छोराछोरीहरुलाई नियमित विद्यालय पठाइ समय समयमा अनुगमन र पूर्ण शैक्षिक वातावरण सिर्जना गर्ने, बालबालिकालाई अनुशासित र योग्य बनाउने र बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा कार्यान्वयनमा पूर्ण प्रतिवद्धताका साथ लाग्ने भनेर निर्देश गरिएको छ । त्यसैगरि बालबालिकाले विद्यालयको नियम पालना गर्दै अनुशासित भएर नियमित र तोकिएको पोशाकमा विद्यालय जाने, कसैलाई पनि भेदभाव नगर्ने, आधारभूत आवश्यकताहरू छाना, माना, नाना, स्वास्थ्य, शिक्षा लगायतका बालअधिकारका बारेमा जानकारी राख्दै, विपन्न र अपाङ्गता भएकालाई पूर्ण सहयोग गर्ने, आफुसँग सम्बन्धित छलफल तथा निर्णयमा सहभागी हुने, अपरिचित व्यक्तिको प्रलोभनमा नपर्ने, व्यक्तिगत सरसफाइ, शौचालय प्रयोग, बाल स्वास्थ्य र पौष्टिक आहारका बारेमा जनचेतना फैलाउने र बालमैत्री स्थानीय शासनको दिगोपनका लागि बाल क्लबका सदस्यहरु परिचालन हुने जस्ता मापदण्डमा बालबालिकालाई समेत उभ्याइएको छ ।
विद्यालयले बालबालिकालाई आफ्नो पहुँचमा ल्याउने, बाल अधिकारको संरक्षण गर्दै घर परिवार र सामाजमा बालमैत्री वातावरण सिर्जना गर्न अभिप्रेरित गर्ने, बाल क्लबको महत्वबारे सचेत गराउने, गरिब तथा जेहेन्दार विद्यार्थीहरलाई छात्रवृत्तिको व्यवस्था गर्नुका साथै बालमैत्री भौतिक संरचना निर्माण गर्ने, बालवालिकालाई सहभागितात्मक योजनामा सक्रिय बनाउने, बाल सूचना केन्द्रको स्थापना र अर्थपूर्ण सहभागीता, सहज तथा बालमैत्री कक्षा निर्माण, स्वच्छ पिउने पानीको व्यवस्थाका साथै सरसफाइ सम्वन्धी सचेतना जगाउने, द्धन्दरहित शिक्षा, बाल उद्यानको व्यवस्था, विद्यालयमा गुनासो पेटीका राख्ने र बालमैत्री स्थानीय शासन अभियानको सफलताका लागि पूर्ण रुपमा समर्पित हुने भनेर विद्यालयलाई निर्देश गरिएको छ ।
विद्यार्थी, विद्यालय र अभिभावकले बालविवाह, बालश्रम, बाल यौन दुर्ववहार, बाल हिंसा, मादक पदार्थ सेवन, किनबेच र कुलत तथा दुर्व्यसनलाई पुर्णरुपमा निरुत्साहित गर्ने, बालबालिकालाई अतिरिक्त क्रियाकलाप, बाल क्लब तथा उनीहरु आवद्ध सामाजिक संघ संस्थाको कार्यक्रम र बैठकमा सहभागि हुन प्रेरित गरि निर्धक्क अभिव्यक्ति राख्न पुर्नबल प्रदान गर्ने, मानव बेचबिखन एवं मानव अङ्ग किनबेचबारे उनीहरुलाई सचेत गराउने, विपन्न र अपाङ्ग बालबालिकाको आवश्यकता अनुसारको वातावरण सिर्जना गर्दै पढ्ने, लेख्ने, खाने, सुत्ने, खेल्ने र सञ्चार माध्यमको प्रयोग गर्न समय तालिका बनाइ दिने र नियमित स्वास्थ परीक्षण गर्नुका साथै विद्यालय (बाल विकास केन्द्र) भर्ना, खोप र सरसफाई अभियानहरुमा बालबालिकालाई सक्रिय गराउने, पोषणयुक्त खानेकुरा र सन्तुलित भोजनका लागि सबै तह सचेत रहनुपर्ने छ । भने, सहज तथा बालमैत्री धारा, शौचालय तथा आवासको व्यवस्था गर्नु पर्ने उल्लेख छ ।
लक्ष्य अनुसार अबको एक महिनामा यो पालिका पुर्णतः बालमैत्री बन्ने छ । यहि लक्ष्यलाई आत्मसाथ गर्दै विभिन्न वडाहरुले बालमैत्री नारा लगाइरहे छन् । जसको अन्तिम प्रतीक्षा बिन्दुलाई पुस मसान्त निर्धारण गरिएको छ । त्यसपछि बालमैत्री स्थानीय शासन, बागलुङ नगरपालिकाको मुख्य अभियान भनेर बालबालिकाले कहिल्यै प्लेकार्ड बोक्नु पर्ने छैन । धुलोमा हिंड्नु पर्ने छैन । यी नाराहरुमा व्यवहारिक शिक्षा देऊ, डोको नाम्लो बुन्न सिकाऊ, तरकारी काट्न र पकाउन सिकाउ । भान्साको जिम्मेवारी निभाउन सिकाउ, संस्कार संस्कृतिको महत्व बुझाउ, सिरु फुलेको घरबारीमा तरकारी फलाउन सिकाउ । बाआमाले उत्पादन गरेको अन्न, फलफूल, दूध र तरकारी बिक्री गर्ने शिक्षा देउ । आखिर दश जोड दुई पढेर विदेश नै जानुपर्ने छ भने विदेशी भाषा सिकाउ । जे सिकाउँछौ प्रयोगात्मक रुपमा सिकाउ सिद्धान्तले खान दिदैँन । …भन्नू पर्ने छैन ।
बालमैत्री नगरको कार्यान्वयन पक्ष के कति फलदायी होला त्यता नहेरी अभियान सफलताको शुभकामना दिंदा औजस नआउला । बालमैत्री पालिकाको अवधारणाले बालबालिकाको हितविरुद्ध हुने जुनसुकै हिंसा उन्मूलन गरि अधिकारको प्रत्याभूत गराउने उद्देश्य लिएको हुन्छ । सर्वसाधारण, सरोकारवाला र अभिभावकले व्यवहारोपयोगी शिक्षाको अपेक्षा राख्ने गरेको पाइन्छ । समयमै पाठ्यपुस्तक उपलब्ध गराउनु, उचित निगरानीसहित दक्ष शिक्षकद्वारा शान्त वातावरणमा समय सापेक्षित शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिनुपर्छ । विद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ । आशा गरौं बालमैत्री समाज, विद्यालय, वडा र पालिकामा बालबालिकाका समग्र समस्या समाधान होउन् । उनीहरुको भविष्य स्वदेशमै उज्ज्वल होस् ।। शुभकामना ।।





