शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहाडको टुप्पोमा ढुंगाको बगैंचाः पर्यटकको आकर्षण

पहाडको टुप्पोमा ढुंगाको बगैंचाः पर्यटकको आकर्षण


  • दमन राई
  • मंसिर २३ २०८१, आइतबार
ककनीडाँडाको ढुंगे बगैंचाको ‘मून गेट’। तस्वीर : दमन राई

काठमाडौं / ढुंगैढुंगाका कारण हिंडडुल गर्न पनि गाह्रो हुने पहाडको टुप्पोमा ढुंगाकै बगैंचा बनाएपछि ककनीडाँडा नयाँ पर्यटकीय गन्तव्य बनेको छ। वनमाराले छपक्कै ढाकेको डाँडो। घाँसे झाडी। ढुंगैढुंगा। भेडाबाख्रा, गाईगोरु चराउन पनि गाह्रो। हिंडडुल गर्न त सकसैसकस।

चार वर्षअघि खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७, महादेवस्थानस्थित ककनीडाँडाको दृश्य यस्तै थियो। अहिले भने फेरिएको छ, नयाँ पर्यटकीय गन्तव्यका रूपमा। ढुंगैढुंगाको डाँडोमा ‘रक गार्डेन’ बनाइएको छ। अझ नयाँ नाम दिइएको छ- बुङगालुङ। चाम्लिङ राई भाषाको बुङगालुङको अर्थ हुन्छ, डुंगाको बगैंचा। बुङगालुङ आन्तरिक तथा बाह्य पर्यटकको घुमफिर गर्ने थलो बनेको छ।

ढुंगे बगैंचाले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न थालेको स्थानीय बासिन्दा गंगाबहादुर राउत बताउँछन्। “पहिला यो ठाउँमा गाईबाख्रा चराउन आउँथ्यौं। चारैतिर वनमारा घारी थियो,” राउत भन्छन्, “अहिले त मान्छेको बजारै लाग्छ।”

प्रख्यात धार्मिक पर्यटकीय स्थल हलेसीबाट आघा घन्टामाथि उक्लिएपछि ककनीडाँडा पुगिन्छ। प्राकृतिक रूपमै थरीथरी आकृतिका ढुंगाले पूरै डाँडा ढाकिएको छ। सिंगो डाँडा खोपेर बनाए जस्ता ढुंगाले सुन्दरता थपेका छन्।

तिनै ढुंगालाई २०७७ सालमा बगैंचामा परिणत गरिएको हो। कोशी प्रदेश सरकार र हलेसी तुवाचुङ नगरपालिकाको साझेदारीमा बनेको ढुंगे बगैंचा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित छ।

हलेसी पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई अड्याउन यो नयाँ गन्तव्य बनेको छ। नगरपालिकाकी मेयर विमला राई पनि हलेसी आएका पर्यटकलाई घुमफिर गराउने र केही दिन अड्याउने उपायको खोजीमा ककनीडाँडामा ढुंगे बगैंचाको परिकल्पना गरिएको बताउँछिन्।

ककनीडाँडाको करीब १६० रोपनी जग्गामा चट्टानै-चट्टानको ढाँड फैलिएको छ। त्यसमध्ये ५६ रोपनी जग्गालाई समेटेर ‘चुरेडाँडा रक गार्डेन’ बनाउन थालिएको हो। ककनीडाँडाको कालो, सेतो र रातो रङका कलात्मक ढुंगाको प्राकृतिक स्वरूप नबिगारी विभिन्न संरचना बनाएर सजिसजाउ गर्दै बगैंचाका रूपमा विकास गरिएको मेयर राई बताउँछिन्।

ककनीडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै स्थानीय बासिन्दाका लागि नयाँ आर्थिक स्रोतको माध्यम बनाउने लक्ष्य राखिएको उनको भनाइ छ। “ढुंगैढुंगा भएकाले यस ठाउँको महत्त्व थिएन। तर अहिले तिनै ढुंगाले पर्यटक तान्न थालेका छन्,” मेयर राई भन्छिन्, “पहिलाको पाखो अहिले विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने गन्तव्य बनेको छ।”

ढुंगे बगैंचामा हालसम्म ढुंगाको मून गेट, मेन गेट, चिल्ड्रेन पार्क, प्रतीक्षालय, फोटो खिच्ने ठाउँ, चिन्डो, पानीको फोहोरा देखाउने पोखरी, परगोला (फोटो खिच्न र फूल सजाउने), घेरबार, रेस्टुरेन्ट गृह, गार्ड हाउस लगायतका संरचना बनाइएका छन्। थप संरचना बन्ने क्रम जारी छ।

हलेसी नजीकै मध्यपहाडी लोकमार्गबाट करीब ३० मिनेट उकालो चढेपछि ढुंगे बगैंचामा पुगिन्छ। यसअघि स्थानीय बासिन्दाका लागि घुमफिर गर्न र पिकनिक जाने थलो रहेको थियो। अब भने यो आम्दानी गर्ने थलो पनि बनेको छ। यसलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा विकास गर्ने नगरपालिकाको योजना छ।

बिस्तारै पर्यटकको आवतजावत पनि बढ्न थालेको छ। बिदाको दिन भरिभराउ हुने गरेको छ। अन्य समयमा पनि दैनिक ३० जनासम्म पर्यटक आउने गरेको स्थानीय व्यवसायी दुर्गा कार्की बताउँछन्। ढुंगैढुंगाले ढाकिएको ककनीडाँडा वारपार गर्न ३० मिनेटदेखि ४५ मिनेट लाग्छ।

उत्तरतर्फबाट मनोरम हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। सगरमाथा लगायत हिमाल देखिन्छन्। यससँगै पहाडी रमणीय दृश्य पनि अवलोकन गर्न पाइन्छ। त्यसैले पनि ढुंगे बगैंचा गीत, म्युजिक भिडिओ छायांकन गर्ने थलो पनि बन्दै गएको छ।

यो डाँडामा रहेका ढुंगासँग धार्मिक किंवदन्ती पनि जोडिएको छ। भष्मासुरले लखेट्दा महादेव यही डाँडा भएर गएको विश्वास छ। महादेव भाग्दै गर्दा पाइला परेको ककनीडाँडामा कलात्मक ढुंगा सिर्जना भएको धार्मिक मान्यता छ। अब भने यो धार्मिक सँगसँगै पर्यटकीय गन्तव्य बन्न पुगेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->