मध्यपहाडी लोकमार्गमा हुने दुर्घटना वा स्थानीय नागरिकको पनि सामान्य स्वास्थ्य उपचार गर्ने गरी रिघाको मनेवापाटामा सहरी क्लिनिक संचालनमा ल्याईएको हो ।
बागलुङ/गलकोट नगरपालिकाले नागरिकको स्वास्थ्यका लागि एकपछि अर्को सेवा थप गर्दै लगेको छ । चालु वर्षको नीति तथा कार्यक्रममा मध्यपहाडी लोकमार्ग लक्षित सहरी क्लिनिक संचालन गर्ने लक्ष्य नगरपालिकाले पुरा गरेको हो ।
मध्यपहाडी लोकमार्गको झण्डै ४० किमी खण्ड गलकोटमा पर्छ । उक्त क्षेत्रमा हुने दुर्घटना वा अन्य समस्याले आउने यात्रीका लागि उपचार गराउने तथा स्थानीय नागरिकको पनि सामान्य स्वास्थ्य उपचार गर्ने गरी वडा नं. ११ रिघाको मनेवापाटामा सहरी क्लिनिक संचालनमा ल्याईएको हो ।
यो क्लिनिकमा महिलाको गर्भ परीक्षणको काम पनि गर्न थालिएको छ । साथै पोषणको कार्यक्रम पनि यहाँबाट संचालन हुने छ । सहरी क्लिनिकमा नियमित जसो ओपिडीका बिरामी पनि आउने गरेका छन् । नगरपालिकाले यहाँ पहिलो चरणमा एकजना अनमी र एक अहेवको दरबन्दी दिएर काम थालेको हो ।
‘चोटपटक लागेका बिरामीलाई लक्षित भएपनि अन्य समस्याको पनि उपचार गरेका छौं’ क्लिनिककी इन्चार्ज अहेव अनिषा थापाले भनिन्, ‘नियमित गर्भ परीक्षणका लागि आउनेहरुलाई हामीले सेवा दिएका छौं ।’ यहाँ परीक्षण गरिएको गर्भको तथ्यांक भने रिघा स्वास्थ्य चौकीमार्फत नगरमा पठाउने व्यवस्था छ ।
सहरी क्लिनिकबाट परिवार नियोजन सेवा पनि दिन थालिएको छ । त्यसका लागि आवस्यक सबै औषधी र सामाग्रीहरु नगरपालिकाले नै उपलब्ध गराएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए । यहाँ फेयरमेड फाउण्डेसनले बिरामी बोक्ने स्टेचर र हिल चियर पनि उपलब्ध गराएको छ ।
गलकोटले नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकतामा राखेर गत असारमा नीति ल्याएको थियो । सोही अनुसार नगर अस्पतालमा प्रसुती सेवाका लागि अपरेशन र शिशु उपचार कक्ष बनाएको छ । त्यस बाहेक सबै स्वास्थ्य चौकीको गुणस्तरमा पनि सुधार गरेको स्वास्थ्य शाखाका प्रमुख सुशिल पौडेलले जानकारी दिए ।
सामान्य समस्या पर्दा सदरमुकाम धाउनुपर्ने गलकोटबासीले अपरेशन र शिशु उपचार कक्षको सेवा पाएपनि अन्यत्र जान नपर्ने भएको हो । अस्पतालकी अनमी चन्द्र रोका काउचाका अनुसार कात्तिक र मंसिर महिनामा मात्रै नगर अस्पतालमा ५ जनाले अपरेशनमार्फत बच्चा जन्माइसकेका छन् । बाल उपचार कक्ष बनेकोले समयमा उपचार गरेर शिशुलाई अप्ठ्यारो हुनबाट बचाउन सकिएको छ । अस्पतालमा थप पूर्वाधार निर्माणकालागि ४ रोपनी जग्गा पनि खरिद गरेर आवस्यक तयारी भैसकेको डा. राजेश पौडलले जानकारी दिए ।





