पोखरा/२५ औं आर्दश कप फुटलब प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । आदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज नेपाल पुलिस गण्डकी प्रदेशले गोरखा जिल्ला फुटबल संघको सामना गर्दैछ । खेल खेल सकिएसँगै भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछन् । आदर्श युवा क्लबको आयोजनामा पोखरा २७ भण्डारढिकस्थित फुटबल मैदानमा गण्डकी प्रदेशस्तरीय फुटलब प्रतियोगिता जारी छ ।
प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा कास्की जिल्ला फुटबल संघ सेमिफाइनलमा प्रवेश गरेको छ । स्याङजा जिल्ला फुटलब संघलाई २–० ले हराउँदै कास्कीले सेमीफाइनलमा आयोजक आर्दश युवा क्लबसंगको भेट पक्का गरेको हो । कास्कीका लागि मुकुन्द निउरे र अनिष तामाङ नायक बने । कास्कीले पहिलो र दोस्रो हाफमा समान एक–एक गोल गरेको हो । खेलको ४५ औं मिनेटमा मुकुन्द निउरेले गोल गर्दै कास्कीलाई अग्रता दिलाए । खेलको ७५ औं मिनेटमा अनिष तामाङले दोस्रो गोल गरे ।
प्रतियोगितामा आजको खेलको विजेताले सेमीफाइनलमा शसस्त्र प्रहरी बल गण्डकी प्रदेश मुख्यालयको सामना गर्नेछ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद चार लाख २५ हजार पाँच सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई नगद दुइ लाख २५ हजार पाँच सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षकलाई नगद १५ हजार रुपैयाँसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।





