विषय प्रवेश
सन् १९९१ देखि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म विश्वभर विभिन्न नाराहरूका साथ मनाइने सचेतनामूलक कार्यक्रम लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यसवर्ष पनि विभिन्न कार्यक्रमहरूका साथ नेपालमा समेत मनाइरहेको अवस्था छ । सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले समेत पारित गरी विश्वभर यो दिवस मनाउन आह्वान गरे अनुसार यो दिवस मनाउने काम भएको छ । यो दिवसको प्रतीक सेतो रिबन बाँधेर लैङ्गिक हिंसा विरुद्धको अभियान मनाइन्छ । नेपालमा भने वि.सं. २०५४ देखि यो दिवस मनाउन थालिएको छ । यसवर्षको १६ दिने अभियानको अन्तर्राष्ट्रिय नारा संसारलाई सुन्तला रङ्गले पहेंलो बनाऔं : महिला विरुद्धको हिंसा अहिले अन्त्य गरौं (Orange the World-End Violence Against Women now) भन्ने तय गरिएको छ । यहाँ सुन्तला रङ्गको अर्थ १६ दिने अभियानमा सबैलाई जोड्ने प्रतीकको रुपमा प्रयोग गरिएको छ भने यसै अभियानको सन्दर्भमा नेपालमा चाहिँ घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं (Let’s start at home and end violence against women) भन्ने राष्ट्रिय नारा सहित नेपालमा अभियान सुरु गरिएको छ । यसै परिप्रेच्छमा सर्वसाधारणलाई लक्षित गरी हिंसा, लिङ्ग र लैङ्गिकता, किशोरावस्था, लैङ्गिक हिंसा र १६ दिने अभियानका सन्दर्भमा यो आलेख केन्द्रित हुनेछ ।
हिंसा
हिंसा भनेको त्यो कार्य हो जसमा शक्तिको प्रयोग गरी, योजनाबद्ध तरिकाले, धम्कीको रुपमा वा उपेक्षाको रुपमा आफू विरुद्ध, दोस्रो व्यक्ति विरुद्ध या कुनै समूह÷समुदाय विरुद्ध गरिएको शङ्कास्पद या वास्तविक कार्य, जसले गर्दा कसैको मृत्यु, शारिरीक चोट, मनोसामाजिक, मानसिक र भावानात्मक पीडा हुन्छ । त्यसकारण कुनैपनि हिंसा अकस्मात् हुँदैन यसको पहिचान गर्न सकिन्छ । यदि यसको पहिचान गर्न सकिन्छ भने रोकथाम गर्न पनि अवश्य सकिन्छ । अब यहाँ लैङ्गिक हिंसा सम्बन्धी प्रसङ्ग उठाउनु अघि लिङ्ग र लैङ्गिकताको शाब्दिक अर्थ बुझ्न जरुरी छ ।
लिङ्ग र लैङ्गिकता
लिङ्ग (Sex) भनेको महिला तथा पुरुषलाई छुट्याउने जैविक एवम् शारीरिक संरचना हो तर लैङ्गिकता (Gender) भनेको महिला र पुरुष भएर जन्मिएपछि समाजले बनाएको धारणा, मान्यता, भूमिका, विभेद वा अन्तरसम्बन्ध हो । समाजले निर्धारण गरेका महिला र पुरुषका भूमिकाहरू आ–आफ्नो रितिरिवाज अनुसार दुवै महिला र पुरुषले गर्दै आइरहेका छन् । जस्तो महिलाले घरको सरसफाइ गर्ने, खाना बनाउने, केटाकेटी बुढाबुढी बिरामीको हेरचाह गर्ने र पुरुषले घर बाहिर गएर आयआर्जन हुने सेवा वा नोकरी गर्ने, खेत जोत्ने, भारी बोक्ने आदि काम गर्दछन् । यसरी महिला र पुरुषले व्यक्तिगत रुपमा, पारिवारिक वा सामाजिक हिसाबले जैविक र लिङ्गभेद दर्शाउने गरी निर्वाह गर्दै आएका भूमिकालाई लैङ्गिक भूमिका भनिन्छ ।
लैङ्गिक हिंसा
यदि लिङ्गको आधारमा कसैले कसैलाई हिंसा गर्छ भने त्यो लैङ्गिक हिंसा हो । जस्तै : शारीरिक, मानसिक र यौनिक रुपले पीडा दिने वा पीडा पु¥याउने खालका व्यवहारहरू गर्ने साथै त्यस्ता कार्यहरू गर्नका लागि डर, धम्की दिने देखि लिएर व्यक्तिको आधारभूत स्वतन्त्रता खण्डित गर्ने खालका कुनै पनि कार्यहरू वा व्यवहारहरू लैङ्गिक विभेदमा आधारित हिंसा भित्र पर्दछन् । यदि यस्तो हिंसा घरपरिवारका कुनै पनि सदस्यहरूबाट घरपरिवारकै अर्को कुनै पनि सदस्यलाई डर देखाएर, धम्काएर वा अन्य कुनै पनि प्रकारका बल वा दबाब प्रयोग गरेर शारीरिक, मानसिक, यौनिक शोषण गरेर आफ्नो नियन्त्रणमा लिन्छ र नियन्त्रणमा लिई शारीरिक, मानसिक, यौनिक वा अन्य कुनै पनि प्रकारको हिंसा गर्छ वा हिंसा प्रयोग गरेर लाभ लिन्छ भने त्यसलाई घरेलु हिंसा भनिन्छ । यस्ता हिंसा बलियाले निर्बलियालाई गर्ने, शक्ति भएकाले शक्तिहीनलाई गर्ने र छिटपुट बाहेक धेरैजसो घटना पुरुषले महिलालाई गर्ने पाइएकाले लैङ्गिक हिंसा भन्नाले पुरुषले महिलालाई गर्ने हिंसा हो भनेर बुझिन्छ । महिलालाई अपमान गर्ने, महिलाको शरीरको अखण्डता तथा स्वतन्त्रतासँग हिँड्डुल गर्न पाउने अधिकारलाई व्यक्तिगत तथा सामाजिक दमन गरी खण्डन गर्ने, मानसिक तथा शारीरिक चोट पु¥याउने जस्ता सम्पूर्ण कार्यहरूलाई महिलामाथि हुने हिंसा वा लैङ्गिक हिंसा भनिन्छ ।
किशोरावस्था
लैङ्गिक हिंसा र लैङ्किताका बारेमा चर्चा गर्दा किशोरावस्थाका बारेमा केही कुरा बुझ्न आवश्यक छ किनकि सबैभन्दा बढी लैङ्गिक हिंसा किशोरावस्थामा बढी हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार किशोरावस्था भन्नाले १० वर्षदेखि १९ वर्ष उमेर समूहका बालबालिकालाई भनिन्छ । तर नेपाली परिवेशको कुरा गर्दा १३ वर्षदेखि १९ वर्षसम्मका (Teen agers) बालबालिकालाई सम्झनुपर्छ । किशोरावस्थाका बारेमा किन चर्चा गरिन्छ भने यो एउटा त्यस्तो उमेर समूह हो जुन अवस्थामा व्यक्तिमा शारीरिक, मानसिक, संवेगात्मक तथा अन्य परिवर्तनहरू व्यापकरुपमा एकैसाथ देखापर्दछन् र व्यक्तिमा नयाँ नयाँ अनुभूतिहरू उत्पन्न हुने, आफूले आफैंलाई चिन्न नसक्ने, कुन व्यवहार ठिक र कुन बेठिक भनेर आफैं निर्णय गर्न नसक्ने भएकाले जोखिमपूर्ण क्रियाकलापमा समेत सहभागी हुनसक्ने सम्भावना हुनेहुँदा यो समयावधिलाई आँधीबेहेरी (Storm and stress) को समय पनि भनिन्छ । किशोरावस्था सङ्क्रमणकालीन अवस्था, तीव्र परिवर्तनको अवस्था, आफ्नो परिचय खोज्ने अवस्था, समस्याग्रस्त अवस्था, भयभित अवस्था, अवास्तविकताको समय र प्रौढ अवस्थाको सङ्घार समेत भएकाले यदि यो समयमा अभिभावक, शिक्षक, समुदायका व्यक्ति र अग्रजहरूको राम्रो साथ सहयोग नपाएमा व्यक्तिको जीवन बरबादीतर्फ जानसक्ने र राम्रो साथ सहयोग पाएमा व्यक्तिले राम्रो विकास समेत गर्ने भएकाले यो समयावधिमा सबै जनाले किशोरकिशोरीलाई सहयोग गर्न जरुरी छ । विश्वमा १६ प्रतिशत र नेपालमा करिब २१ प्रतिशतको संख्यामा रहेका किशोरकिशोरी भविष्यका कर्णधार र सक्रिय आर्थिक जनशक्ति पनि भएकाले यस्ता जनशक्तिलाई उत्पादनमूलक बनाउन राज्यले समेत निकै ध्यान दिनुपर्ने देखिन्छ । लैङ्गिक हिंसाका सम्बन्धमा किशोरावस्थाको चर्चा गर्नु निकै सान्दर्भिक किन छ भने यो समयमा किशोरकिशोरीमा देखिने व्यापक परिवर्तनका कारण यौन हर्मोनको तीव्र उत्पादनले गर्दा उनीहरूमा यौनइच्छा परिपूर्ति गर्ने चाहना उत्पन्न हुने र त्यसका लागि उनीहरूले गलत र असुरक्षित व्यवहार पनि गर्नसक्छन् । उनीहरूले केटा वा केटी साथी बनाउने, क्षणिक यौन सन्तुष्टिका लागि यौन सम्पर्क राख्ने अनि त्यसको परिणाम जीवनभर भोग्नुपर्ने अवस्था आउनसक्छ । जस्तै छिटो विवाह गर्ने, किशोरी अवस्थामै गर्भधारण गर्ने, अनिच्छित गर्भधारणका कारण जोखिमपूर्ण गर्भपतन गराउने, यौन रोगहरू र एच.आई.भी. एड्सलाई बोकेर जीवन व्यतीत गर्नुपर्ने, यौन हिंसा र जबर्जस्ती यौनकार्यमा सरिक हुने र हत्या हिंसामा समेत फस्न सक्ने सम्भावना हुन्छ । यसका साथै सूर्तिजन्य पदार्थ, मद्यपान र लागुपदार्थको सेवन गर्नसक्ने, हिंसा र आक्रमणमा सहभागी हुनसक्ने, दुर्घटना, आफ्ना साथीलाई यौन हिंसा र मानसिक दबाब दिनसक्ने, लैङ्गिक हिंसा जानेर वा नजानेर गर्नसक्ने तथा आत्महत्या समेत गर्नसक्ने भएकाले किशोरावस्थामा केटाकेटी दुवैलाई समान तरिकाले लैङ्गिक हिंसाबारे सचेतना जगाउन समेत जरुरी छ । साथै किशोरावस्थामा यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रहरूका बारेमा उचित परामर्श दिएर मात्र उनीहरूलाई जिम्मेवार नागरिक बनाउन सकिन्छ । कम्तीमा पनि परिवार नियोजन, कृृत्रिम गर्भपतन, सुरक्षित मातृत्व, नवशिशु र बाल स्याहार, प्रजनन् समस्या र यौनरोग, लागुपदार्थ दुव्र्यसनी र लैङ्गिकताको आधारमा हुने हिंसाबारे किशोरावस्थामा प्रशिक्षण दिनैपर्ने हुन्छ ।
हिंसाका प्रकार र असरहरू
हिंसाका प्रकारहरू धेरै छन् । जस्तै : सामाजिक हिंसा, यौनिक हिंसा, शारीरिक हिंसा, मानसिक हिंसा, सांस्कृतिक हिंसा, स्वनिर्देशित हिंसा, व्यक्ति व्यक्ति बिच हुने हिंसा, भावनात्मक वा मनोवैज्ञानिक हिंसा आदि । यस्ता विभिन्न हिंसाका कारण पीडित व्यक्ति जीवनभर प्रताडित भई बाँच्नुपर्ने हुन्छ अन्यथा मृत्युवरण गर्ने संख्या बढी नै रहेको छ । विभिन्न हिंसा पीडित महिलाहरूको मृत्युदरमध्ये सबैभन्दा बढी आत्महत्या ५८ प्रतिशत पर्दछ भने हत्या ३६ प्रतिशत र अन्य ६ प्रतिशत हुने गर्दछ । हिंसाबाट पीडित व्यक्ति शारीरिक तवरले हिंसामा पर्दा विभिन्न प्रकारका चोटपटक लाग्ने, अपाङ्ग हुने, शारीरिक विकास राम्ररी हुन नसक्ने, विभिन्न स्वास्थ्य समस्याहरू देखापर्नुका साथै मृत्यु समेत हुनसक्ने देखिएको छ । मानसिक रुपले पीडित हुँदा आत्मविश्वासमा कमी, आत्मसम्मानमा चोट, व्यक्तित्व विकासमा असर पर्नुका साथै विभिन्न मानसिक समस्याहरू देखापर्ने गरेका छन् । सामाजिक रुपले पीडित हुँदा झै–झगडा, मनमुटाव, व्यक्तिले गर्न सक्ने जति काम गर्न नसक्ने जसले गर्दा उत्पादन कम हुँदै जाने, खर्चको भार बढ्नुका साथै समाजमा विभाजन समेत बढ्ने गरेको छ । यसरी महिलामाथि हिंसा हुनुमा एउटै कारण पितृसत्तात्मक सामाजिक संरचना नै हो । यसमा परिवार, समाज, राजनीति सबै कुराहरूमा पुरुषको निर्णयात्मक भूमिका रहने र पुरुषलाई नै घरपरिवारको मुख्य व्यक्तिको रुपमा समाज र राज्यले मान्यता दिनु हो । पितृसत्तामा समाज, धर्म, संस्कृति र परम्परा पुरुषहरूले आफूले चाहे जस्तो बनाउँछन् वा पितृसत्तामा महिलाको विवेक र क्षमताको कदर हुँदैन । यस्तो समाजमा असमानता हुन्छ । महिलाविरुद्ध पुरुषले जीवनभर हिंसा गरिरहेको पाइन्छ । जस्तै : जन्मनुपूर्व छोरी भए भु्रण हत्या वा गर्भपतन गर्ने, शिशु अवस्थामा पालनपोषणमा भेदभाव गर्ने, बाल्यावस्थामा बालहिंसा गर्ने, किशोरावस्थामा यौनशोषण र बेचबिखन गर्ने, बयस्क अवस्थामा दाइजोका कारण हिंसा र यौन दुव्र्यवहार गर्ने र वृद्धावस्थामा बोक्सीको आरोप लगाउने आदि हिंसा प्रमुख हुन् ।
अन्तमा, १६ दिने यो अभियानको मुख्य उद्धेश्य नै थिचोमिचोमा परेको समूह वा प्रायः महिलामाथि हुने हिंसा अन्त्य गर्नु हो । यसका लागि निम्न भूमिका निर्वाह गर्न सकिन्छ-
१. लैङ्गिक हिंसा विरुद्ध समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने । यसका लागि स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गरी समुदायमा लैंङ्गिक हिंसा बिरुद्ध जनचेतना फैलाउने ।
२. सामुदायिक संघ संस्था मार्फत लैङ्गिक हिंसा विरुद्ध सामाजिक परिचालन गर्ने । लैंङ्गिक हिंसा नियन्त्रण गर्न स्थानीय प्रभावशाली व्यक्तित्व, संघ संस्था एवम् राजनैतिक दलका प्रतिनिधि, समाजसेवीहरूलाई व्यापकरुपमा सहभागी गराउने ।
३. हिंसामा परिहालेमा सबै किसिमका सेवा एकद्वार प्रणाली (OCMC) बाट दिने वा सङ्कट व्यवस्थापन केन्द्रबाट प्रदान गरिने सेवाहरूका बारेमा लक्षित समूहसम्म सूचना प्रवाह गर्ने ।
४. हिंसा पीडितलाई परिवारमा पुनस्र्थापना गर्न वा आत्मनिर्भर बनाई समाजमा पुनस्र्थापना गर्न आवश्यक मानवीय, भौतिक र वित्तीय सहयोग पु¥याउने ।
५. पुनस्र्थापित व्यक्ति माथि थप हिंसा भए नभएको नियमित निगरानी एवम् अनुगमन गरी सहयोग पु¥याउने ।
६. राज्यले नै महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्ने ।
७. महिला पुरुष दुवैका लागि बृहत् यौनिकता शिक्षाका कार्यक्रमहरू, प्रजनन् स्वास्थ्यमा पुरुषको सहभागिता जस्ता कार्यक्रमहरू पनि सञ्चालन गरी दुवैलाई सन्तुलित ज्ञान प्रदान गर्ने ।
८. पीडकलाई कडा कारवाहीका लागि कानूनमा उल्लेख गरी कारबाही गर्ने, पीडितलाई आफ्नो हक अधिकार दिलाउने तथा सुरक्षितपूर्वक बाँच्न पाउने अवस्था सुनिश्चित गराउने । साथै, आवश्यक क्षतिपूर्ति, मानसिक तथा शारीरिक स्वास्थ्य उपचार र न्याय पाउने हकका लागि आवश्यकता अनुसार जिल्ला न्यायाधिवक्ता, पारालिगल÷कानुनी परामर्शदाताको सहयोगबाट कानुनी उपचारको प्रक्रिया सुरु गरी अघि बढ्न सहयोग पु¥याउने । आदि
अत : १६ दिन त के महिनौं दिनको दिवस मनाएर र दुईचार वटा कार्यक्रम गरेर मात्र लैङ्गिक हिंसा अन्त्य हुने होइन । महिला र पुरुष दुवै जिम्मेवार बनेर एक आपसमा हुने हिंसा रोक्न दुवैले सधैंभर प्रतिबद्धता र प्रण गर्नुपर्छ । यसका लागि व्यक्तिगत तथा पारिवारिक तवरबाटै हिंसा अन्त्य गर्न शुभारम्भ गर्नुपर्छ तबमात्र लैङ्गिक हिंसा अन्त्य हुनेछ र यस्ता कार्यक्रमको सान्दर्भिकता रहनेछ । अस्तु
(लेखक डा. पाण्डे जीवनशैली व्यवस्थापनमा विद्यावारिधि, प्राध्यापक तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन् । सं.)





