बागलुङ/गर्भवती महिला सुत्केरी हुनका लागि अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने सरकारी प्रावधान छ । ८ पटक गर्भ जाँच गर्नुपर्ने र अनिवार्य स्वास्थ्य संस्थामै गएर सुत्केरी हुनुपर्ने प्रावधान भएपनि उनीहरु कता बस्ने भन्ने उल्लेख छैन ।
त्यतिबेला बस्ने ठाउँ अभाव हुँदा ग्रामीण क्षेत्रमा महिलाले होटल वा अन्य स्थान खोज्नुपर्ने बाध्यता हुन्छ । तर बागलुङको निसीखोला गाउँपालिका वडा नं. ३ को बोहोरागाउँमा भने प्रतिक्षा घर बनेको छ । उक्त प्रसूती प्रतिक्षा घरमा एकैपटक चार जनासम्म बस्न मिल्ने बेड र अन्य सामाग्रीको व्यवस्थापन गरिएको छ ।
यो घरमा खाना पकाउने सामग्री, ग्याँसको चुल्हो, खानेपानीको व्यवस्थापन र बाहिर विभिन्न सन्देशमुलक सामाग्री लेखिएको छ । यो छाप्रोमा एक वर्षमा १ सय ७ जना सम्मले बास बसेका छन् । सदरमुकामदेखि १ सय २० किमी पश्चिमको निसीखोला गाउँपालिका वडा नं. ३ को झिंवाखोलास्थित बोहोरागाउँ स्वास्थ्य चौकी भवनसँगै रहेको घर प्रसूती प्रतिक्षा घर हो । स्वास्थ्य चौकीमा सेवा लिनेहरु धेरै टाढा भएकोले समयमा उपचारमा र सेवा लिन आइपुग्न समस्या परेपछि यो घर बनाइएको हो ।
प्रसुती व्यथाले च्यापेपछि मात्रै स्वास्थ्य संस्था धाउनुपर्ने समस्या हटाउन, प्रसूती अवस्थामा आउने जोखिम कम गर्न र आमा तथा शिशुको स्वास्थ्य रक्षाका लागि यो भवन उपयोगी बन्दै गएको स्वास्थ्य चौकीकी अनमी ताराकुमारी चन्दले बताइन् ।
गत आर्थिक वर्ष यो घरमा १ सय ७ जना महिलाले गर्भ अवस्था, प्रसुती पूर्व र प्रसुतीपछि पनि उपयोग गरेका थिए । चालु वर्षको ५ महिनामा यहाँ ५२ जनाले सेवा लिइसकेका छन् । सुत्केरी हुने एकदुइ दिनअघि नै यहाँ आएर बस्दा जोखिम कम हुने चन्दले बताइन् । केही समस्या देखिएमा तत्काल सुविधा सम्पन्न अस्पतालमा रिफर गर्न पाइने स्वास्थ्य चौकी प्रमुख टोपबहादुर चन्दले बताए । नियमित गर्भ परीक्षण गर्नेहरुमा पनि प्रसुतीको समयमा जोखिम आउन सक्ने भएकोले एकदुइ दिनअघि नै यहाँ आएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिन थालेका छन् ।
स्थानीय सिनियर अनमी तिला मल्लले त यहाँ आउने अधिकांस महिलाको स्वास्थ्य अवस्था जोखिमनै हुने बताइन् । जतिसुकै स्वास्थ्य भएपनि प्रसूती अवस्थालाई सामान्य मान्न नहुने गर्भवती र सुत्केरी अवस्था जुन दिन पनि जोखिम हुने भएकोले प्रोटोकल अनुसार नियमित गर्भ परीक्षण गर्ने र समयमा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनु नै उत्तम हुने उनको धारणा छ ।
यो स्वास्थ्य चौकीमा आइपुग्न वडा भित्रबाटै तीनदेखि चार घण्टासम्म पैदल हिंड्नुपर्ने बाध्यता छ । गतवर्ष समयमा स्वास्थ्य संस्थामा नआएकी एक महिलाले प्रसुती अवस्थामा ज्यान गुमाएकी थिइन् । उनको त्यो समस्या देखेपछि त स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले पनि नियमित गर्भ जाँच गर्न र प्रसूती समयमा स्वास्थ्य संस्थामा रहेको प्रतिक्षा घरमा गएर बस्न सुझाव दिन थालेका छन् ।
निसीखोला गाउँपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेपछि फेयरमेड फाउण्डेसन र विवाइसी बागलुङले संचालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले २ लाख ५० हजार रुपैयाँ लगानी गरी ५ लाख ५० हजार रुपैयाँको लागतमा यो प्रतिक्षा घर बनाइएको हो । चारवर्ष अघि बनेको यो घरमा शुरुवातमा कोही नआएपनि पछिल्लो समय अधिकांश गर्भवती आउन थालेका हुन् ।
त्यसो त पछिल्लो समय बडिगाड गाउँपालिका वडा नं. २ को खरवाङ, हटिया स्वास्थ्य चौकीको भवनमै एक कोठा छुट्टाएर प्रतिक्षा घर बनाइएको छ । अधिकांस स्वास्थ्य संस्थामा यो प्रयास सुरु भएको र आगामी दिनमा अनिवार्य गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् ।





