मानिस सामाजिक प्राणी हो । यो समाजमा जन्मिएर हुर्के बढेको, समाजलाई आश्रयस्थल बनाई आफ्नो समग्र जीवन व्यतीत गर्ने विवेकशील प्राणी मानव जातिले समाज रुपान्तरणमा अतुलनीय योगदान दिएको हुन्छ । यो भूमिलाई आधारशिला बनाएर सम्पूर्ण जीवनलाई उर्जावान बनाउने मानिसले बालक, किशोर, वयस्क र वृद्ध गरी चार ओटा कालखण्ड व्यतीत गर्नुपर्छ । मानव जीवनमा सबैभन्दा अधिक माया पाउने अवस्था बाल्यकाल हो, भने स्वतन्त्र कुनै कुराको शोक गर्नु नपर्ने अवस्था किशोरावस्था हो । त्यसपछि क्रमशः सामाजिक, आर्थिक, साँस्कृतिक र पारिवारिक दायित्वको पोको बोकी कर्तव्यको कसिमा उभिएर अनेकौं अवसर र चुनौतीको सामना गरि दौडिने अवस्था युवावस्था हो । त्यहिं युवावस्थाको दुख, सुख, संघर्ष र भोगाईबाट खारिदैँ मानिस परिपक्व वृद्धावस्थामा पुग्दछ । छ दशकभन्दा बढी उमेरले पाका, परिपक्व, ज्ञान, सीप र विवेकले सम्पन्न, अनुभवले खारिएका हाम्रा अग्रज व्यक्तित्वलाई ज्येष्ठ नागरिक भनिन्छ ।
कसैप्रति शारीरिक, मानसिक र वाचिक हिंसा नगर्ने स्वच्छ चरित्र, निर्मल, निश्चल स्वभाव र परोपकारी ज्येष्ठ नागरिक परिवार र राष्ट्रका गहना हुन् । नीतिमा पनि भनिएको छ, ‘वृद्धास्ते न विचारणीयचरित्राः’ अर्थात् वृद्धवृद्धाका चरित्रमा शङकै नगरे हुन्छ । कुनै पनि राष्ट्रको सामाजिक परम्परा र राष्ट्रिय मूल्यमान्यतालाई स्थापित गराउनुमा उनीहरुको अहम् भूमिका रहन्छ । ज्येष्ठ नागरिकका अनुभवपूर्ण उपदेशले भावी पुस्तालाई मार्गनिर्देश गरेका हुन्छन् । उनीहरुका ज्ञान, सिप र अनुभव भावी पुस्ता र समाजका लागि अनुकरणीय हुन्छन् । उनीहरु नयाँ पुस्ताका पथप्रदर्शक हुन् । त्यसैले ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ भन्ने लोकोक्ति चलेको हो । तसर्थ उनीहरु इतिहासका जिउँदा धरोहर मानिन्छन् ।
उमेरले बढप्पनको अस्तित्व पक्रिदै गर्दा शारीरिक अशक्तता र मानसिक कमजोरीले जेष्ठ नागरिक परनिर्भर र आशामुखि बन्छन् । यस्तो अवस्थाका पुर्वजहरुप्रती हेँला र तिरस्कार गर्नु निन्दनीय छ । वृद्धावस्था बाल्यावस्थाको समानार्थी अवस्था हो । यो समयमा बाल्यावस्थामा जस्तै माया, ममता र सम्मान आवश्यक हुन्छ । युवावर्गले ज्येष्ठ नागरिकको अनुभव र सिपको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्नुपर्दछ । किनकी हामी माथि उनीहरूको ठूलो लगानी, त्याग र समर्पण छ । उनीहरुको बलिदानी र संघर्षको पर्याय नै आजको विकसित समाज हो । त्यसैले उनिहरुका मार्गदर्शनको अवलम्बन गर्नु नै समाज विकासको पर्याय हो । शास्त्रले ‘न सा सभा यत्र नसन्ती वृद्धा’ अर्थात् जुन सभा सभा नै होइन जुन सभामा वृद्धवृद्धाको उपस्थिति छैन भनेको छ । यसर्थ पनि जेष्ठ नागरिक समाज, सँस्कृति, संस्कार र मानव अस्तित्व संरक्षणका संवाहक हुन् । उनीहरुको सत् प्रेरणाबाट नै समाजका आर्थिक, राजनैतिक, धार्मिक र साँस्कृतिक परम्पराले गति पाउँछन् ।
हामी आजका बालकबालिका, किशोरकिशोरी र वयस्कहरु भोलिका ज्येष्ठ नागरिक हौं भन्ने भुल्नु हुँदैन । उनीहरुको आदर र सम्मानका लागि नम्रतापूर्ण बोली, सेवाशुश्रूषा, श्रद्धाका साथ मायालु र शिष्ट व्यवहार गर्नुपर्छ । उनीहरु बालबालिका जस्तै स्नेहका भोका हुन्छन् । तसर्थ उनीहरुलाई माया र ममताको न्यानो अंगालो प्रदान गर्नुपर्छ । नेपालमा एकल परिवारमुखी जीवशैली बढ्दै गएको र वयस्क उमेरमा पुग्नासाथ आफ्ना बाबुआमासँग अलग भई छुट्टै बस्न रुचाउने प्रवृत्ति बढ्दो छ । फलस्वरूप ज्येष्ठ नागरिकहरू बेसाहारा, तिरस्कृत र अपहेलित हुने स्थितिले वर्चस्व कमाउँदै छ । सदियौंदेखि समाजमा अधिकार सम्पन्न ज्येष्ठ नागरिकको स्थान निमोठिदै छ । उनीहरूका प्रेरणादायी कथा पछिल्लो पुस्ताका लागि बोझिला बन्दै छन् । समाजको स्वच्छता, निष्पक्षता, सौहार्दता, मर्यादित आचरण एवं अनुशासनको सिलसिला अबरुद्ध बन्दै छ । यस्तो अवस्थामा समाजमा रहेका सबैसबैले निर्णायक भूमिका खेल्नु आवश्यक छ ।
हाम्रो समाजमा ज्येष्ठ नागरिकहरूले चौतर्फी अपहेलना र पिडा सहनुपरेको छ । अधिकांश ज्येष्ठ नागरिकको इच्छा र चाहनामा कसैको ध्यान पुग्न सकेको छैन । उनीहरुको जीवनलाई मर्यादित, सम्मानित र सुरक्षित बनाउन सबै लाग्नुपर्छ । ज्येष्ठ नागरिक हाम्रा अमुल्य निधि हुन् । उनीहरूलाई घृणा होइन माया, सम्मान र आदर गरौँ । संस्कृतमा मातृदेवो भव, पितृदेवो भव भन्ने उक्ति छन् । यर्थाथमा ज्येष्ठ नागरिक ‘जिउँदा देवता’ हुन् । यसो भन्नुको कारण वर्तमानमा जे जति उपलब्धी भएका छन्, ति सबैका हकदार ज्येष्ठ नागरिक नै हुन् । उनीहरु अनुभवले खारिदैँ र जीवनका विभिन्न कठिनाई, आरोहअवरोह पार गर्दै वृद्धावस्थामा पुगेका हुन्छन् । जीवन र जगतका हरेक अप्ठ्यारा परिस्थिति सामना गर्न सक्ने क्षमता उनीहरुमा हुन्छ । हातखुट्टामा तागत रहुन्जेल सबैका प्रिय र तागत सकिएपछि अपहेलित हुनु दुर्भाग्य हो । परनिर्भरतामा रहेका अभिभावकको सहारा बन्नुको साटो बाह्य आडम्बरको खोल ओडेर मपाइत्व प्रवृत्ति उजागर गर्ने प्रचलन नेपालमा बढ्दो छ । वृद्धवृद्धा कै सम्पत्तिमा राज गरेर उनीहरुलाई नै परचक्री दृष्टिले हेर्ने प्रवृत्तिले शिखर चुम्दो छ ।
घरपरिवार र समग्र राष्ट्रमा ज्येष्ठ नागरिकमैत्री वातावरण बन्नु आजको आवश्यकता हो । यस्तो अवस्थामा सबै पक्षको ध्यान ज्येष्ठ नागरिकहरूलाई शारीरिक, मानसिक र आर्थिक रुपमा सक्षम र सुदृढ गराउनतर्फ हुनुपर्छ । उनीहरूको दुख, पीडा र हिनताबोध कम गर्दे मनोरन्जनात्मक एवं सन्तुष्टि दिने खालका कार्यक्रमहरू सञ्चालन गर्दै लैजानु पर्छ । विगतका बारेमा बुझेर वर्तमान र भविष्यलाई सुदृढ एवं उपलब्धीमुलक बनाउन समय समयमा ज्येष्ठ नागरिकलाई भेला गराइ उनीहरूका ज्ञानवर्धक एवं प्रेरणादायी कुरा सुन्ने र प्रेरक प्रसङ्गलाई युवावर्ग समक्ष पु¥याउने कार्यक्रम सञ्चालन गर्नुपर्छ । जसको अनुकरणले भावी पुस्तालाई समाजको रितिरिवाज, परम्परा र संस्कृतिको आत्म ज्ञान होस् । पू्र्खाको बलिदानी, संघर्ष, समर्पण र सम्झौतालाई चिनून् बुझून् र समिक्षा गरेर अगाडि बढून् भन्नेमा हामी सचेत हुनुपर्छ । ज्येष्ठ नागरिकहरूका ज्ञान र सिपलाई पुस्तान्तरणको प्रबन्ध मिलाउनु आवश्यक छ । समाजका युवाशक्तिले उनीहरुका ज्ञान, सिप र क्षमताको उच्च मुल्याङ्कन गर्दै अनुशरण गर्नुपर्छ । उनीहरुलाई स्वस्थ्य, आत्मनिर्भर र सक्रिय बनाउन उनीहरूको शारीरिक, मानसिक तन्दुरुस्ती अनुकुल कर्ममा लगाउन पहल गर्नुपर्दछ ।
सभ्य समाज र राष्ट्रले ज्येष्ठ नागरिकलाई उच्च सम्मान गर्दै समयानुकूल सेवा सुविधा प्रदान गर्ने गरेको हुन्छ । हाम्रो देशमा पनि सरकारले उनीहरुको उचित भरणपोषण र संरक्षणका लागि सामाजिक सुरक्षा (भत्ता)ले सम्बोधन गरेको छ । परन्तु संविधानमा उल्लेखित अधिकार सुनिश्चित गर्न बनेका ऐन, कानुन र नियमावली कार्यान्वयनमा फितलोपन सिर्जना हुँदैछ । यस्ता ऐन कानुनलाई समयानुसार संशोधन गरि प्रभावकारी रूपमा लागु गर्नुपर्छ । सरकारले विविध कार्यक्रमद्वारा उनीहरुका समस्या समाधान गर्न तत्परता देखाए पनि ज्येष्ठ नागरिकलाई समुचित ढङ्गले सम्बोधन गर्न भने सकिरहेको छैन । यसर्थ हामीले यथाशीघ्र जेष्ठ नागरिकका पक्षमा दीर्घकालीन सोच सहितको योजना तर्जुमा गर्नु पर्छ । राज्यले जेष्ठ नागरिक मैत्री समाज निर्माणमा विशेष पहल सहित सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको छ ।
यसरी यस्ता प्रयासबाट समाजमा ज्येष्ठ नागरिकप्रतिको सम्मानको भावना जागृत भई उनीहरूको आत्मबल बढाउन सहयोग पुग्छ । ज्येष्ठ नागरिकमा उत्पन्न समस्याको समाधान घरपरिवार, समाज र राज्यका तहबाट मात्रै सम्भव छ । घरपरिवारका सदस्यमा कर्तव्य र जिम्मेवारी बोधको खाँचो छ । त्यसैले ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित र सम्मानित बनाउन हामी प्रत्येक व्यक्तिको दायित्व रहन जान्छ । आमाबुबाले आफ्नो तन, मन, धन, वचन र कर्मले सन्तान सुख चाहान्छन् । यस्ता आदर्शका पर्याय मातापितालाई हेरचाह गर्नु हामी सबैको दायित्व हुन्छ । कतिपय ज्येष्ठ नागरिक परिवारजनको उचित हेरचाहबाट विमुख छन् । उनीहरू रोग, भोक र शोकका कारण पनि असहज जीवन ज्युउन बाध्य छन् । तसर्थ हामीले उनीहरुलाई यी समस्याबाट बाहिर ल्याइ स्वस्थ जीवन बाँच्ने अवस्था सिर्जना गर्नुपर्छ । उनीहरूको स्वास्थ्य, सुरक्षा, खानपान र हेरचाह आदिका लागि उचित कानुनको निर्माण र त्यसको कार्यान्वयन गर्नुपर्छ । आमाबुबाबाट सम्पत्ति लिने तर सहाराको आवश्यकता पर्ने वेलामा उनीहरूलाई तिरस्कार गर्नु गलत हो । भावी दिनमा ज्येष्ठ नागरिकमैत्री अस्पतात, यातायात, व्यायामशाला, उनीहरूको रुचि र आवश्यकता अनुसारका पुर्वाधार निर्माणमा जोड दिनु आवश्यक छ । पर्याप्त सेवा सुविधासहित स्वस्थ र सुखी जीवन बाँच्ने उनीहरूको अधिकार हो । यही अधिकारको रक्षाका लागि हामी सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।





