पोखरा / सिजनाचोक शान्तिमार्गमा अवस्थित सृजना सेकेण्डरी स्कुलको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल सृजना माविको व्यवस्थापनमा वार्षिक खेलकुद कार्यक्रम (सृजना स्पोर्ट मिट)–२०८१ सम्पन्न भएको छ । ’विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ यही मङसिर २६ र २७ गते दुई दिवसीय रूपमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीबीच वृहत खेलकुद कार्यक्रम सञ्चालन भएको थियो ।
विद्यालयका प्राचार्य डोलराज पाण्डेको संयोजकत्वमा सम्पन्न उक्त खेलकुद कार्यक्रमको उद्घाटन नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक तथा विद्यालयका अभिभावक रामु ढकालले गरेका थिए भने विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरेले उद्घाटन सत्रमा मन्तव्य राख्दै कार्यक्रमको उच्च सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको पहिलो दिन मंसिर २६ गते बुधवार विद्यालयको खेल मैदानमा नर्सरी– देखि कक्षा ३ सम्म बेलुन ब्लास्ट, म्युजिकल चियर, सियो धागो दौड लगायतका थुप्रै खेलहरू कक्षागत रूपमा सम्पन्न गरिएको थियो भने कक्षा ४ र ५ का छात्रछात्राहरूको ह्याण्ड बल खेल विद्यालयकै खेल मैदानमा सम्पन्न गरिएको थियो । यसैगरी कक्षा ४ देखि १० सम्मका छात्रछात्राहरूकाबीचमा फुटसल खेल फरेष्ट फुटसल खेल मैदानमा सम्पन्न भएका थिए। सोही दिन कक्षा ४ देखि १० सम्मका छात्रछात्राहरूको एथलेटिक्स अन्तर्गतका १०० मिटर, २ सय मिटर, ४ सय मिटरका दौडहरूका हिट छनोट चरणका खेलहरू मालेपाटन खेल मैदानमा सम्पन्न भएको छ ।





