बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा र पत्रकारिता पाठशाला स्थापना गरिने

म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा र पत्रकारिता पाठशाला स्थापना गरिने


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०८१, बुधबार

म्याग्दी/नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ ।
गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्षदेखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।
पत्रकारको लागि शिखर इन्स्योरेन्स कम्पनीमार्फत् १० लाख बराबरको दुर्घटना बिमा गर्ने र बिमा शुल्क पत्रकार महासंघले ब्यहोर्ने अध्यक्ष हरिकृष्ण गौतमले बताए । ‘कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् तर भैपरी आउने दुर्घटनापछि राहतका लागि बीमा गरिएको हो,’ अध्यक्ष गौतमले भने ।
पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याक खड्का, निर्वतमान अध्यक्ष एवम् पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र पूर्वअध्यक्ष तारानाथ शर्माको बिमा गरी शुभारम्भ गरिएको तथा बाँकी अन्यको पनि क्रमशः बिमा गर्दै लैजाने योजना रहेको अध्यक्ष गौतमको भनाइ छ ।
आगामी दिनमा बीमा कार्यक्रमलाई निरन्तरता दिनेगरी कार्यबिधि बनाएर व्यवस्थित गरिने छ । यो बीमाअन्तर्गत दुर्घटनाबाट कुनै पत्रकार कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कामका बेला कुनै पनि प्रकारका दुर्घटनामा परि मृत्यु वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयासम्मको प्रिमियम उपलब्ध गराइने छ।
दुर्घटनाबाट घाइते भएमा उपचारका लागि १ लाख रुपैयासम्मको लाभ पाउनेछन् ।

यसैबीच म्याग्दीमा पत्रकारिता क्षेत्रलाई थप फराकिलो बनाउन नयाँ पत्रकार उत्पादन तथा क्षमता विकासमा केन्द्रित हुने गरी महासंघको मातहतमा पत्रकार पाठशाला समेत सञ्चालन गरिने छ ।
पत्रकार महासंघ म्याग्दीले आधारभूत तथा एडभान्स तालिमका लागि पनि आवश्यकता महसुस गरेर पाठशालाको अवधारणा ल्याएको हो । पत्रकार महासंघ म्याग्दीले जिल्लामा विभिन्न क्षेत्रमा देखिएका समस्यामा केन्द्रीत भएर बहस तथा जनसरोकारको क्षेत्रमा प्राथमिकता दिने सचिव ठाकुरप्रसाद आचार्यको भनाइ छ ।
नेपाल पत्रकार महासंघको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले नवनिर्वाचित टिमलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनीयताको सपथ गराएका थिए ।पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम, उपाध्यक्षमा अमृत बास्कुने र अमित विश्वकर्मा, सचिव ठाकुरप्रसाद आचार्य, उपसचिव प्रताप बानियाँ र सन्दिप शर्मा रिजाल, कोषाध्यक्षमा साधन राम्जाली एवम् सदस्यहरुमा कमल खत्री,राकेश शर्मा र केन्द्रिय प्रतिनिधि परिषद् सदस्य पदमा विनोद धौलागिरी निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->