सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दाताको सानो सहयोग पाउँदा स्थानीयको लाखौं लगानी

दाताको सानो सहयोग पाउँदा स्थानीयको लाखौं लगानी

विशेषगरी स्वास्थ्य क्षेत्रका खोप क्लिनिक, गाउँघर क्लिनिक र प्रसुति प्रतिक्षाघर बनाउन स्थानीयहरुले लगानी गरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८१, शुक्रबार

बागलुङ/दाताको सानो सहयोग पाउँदा स्थानीय जागेर धेरै उपलब्धी हुन्छ भन्ने स्थानीयले देखाउन थालेका छन् । विशेषगरी स्वास्थ्य क्षेत्रका खोप क्लिनिक, गाउँघर क्लिनिक र प्रसुति प्रतिक्षाघर बनाउन स्थानीयहरुले लगानी गरेका हुन् । स्थानीयको लगानीले यतिबेला गाउँमा लाखौं रुपैयाँ पर्ने संरचना पनि बनेका छन् ।
काठेखोला गाउँपालिका वडा नं. २ को सिमस्थित खोप क्लिनिकका लागि दाता संस्था फेयरमेड फाउण्डेसन र विवाइसीले ३ लाख लगानी गर्दा स्थानीयले १३ लाख लगानी गरेर सामुदायिक भवन बनाएका छन् । यो भवनमा हरेक महिना गर्भवती र ५ वर्ष मुनीका बालबालिकालाई खोप लगाइन्छ । त्यस बाहेक स्वास्थ्य सम्बन्धी बैठक र छलफल गर्नुपरेमा पनि यो भवन प्रयोग हुने गरेको भवन निर्माण समितिका अध्यक्ष रामप्रसाद शर्माले जानकारी दिए ।
गलकोट नगरपालिका वडा नं. १ को भण्डारवनका स्थानीय जाग्दा २० लाख बढीको भवन तयार भएको हो । उक्त भवनका लागि पनि दाताबाट ३ लाख रुपैयाँ मात्रै सहयोग भएको थियो । ‘भवन बनेपछि हामीलाई बैठक बस्नेदेखि खोप लगाउने र अत्यावस्यक सामाग्री राख्न पनि सहयोग मिलेको छ’ पुनले भनिन्, ‘आमा समूहको बैठक पनि यहीं भवनमा बस्ने गरेका छौं ।’ यो भवनमा आमा र शिशुको स्वास्थ्य सुरक्षाबारे जनचेतनामुलक सन्देश पनि लेखेर राखिएको छ ।
ताराखोलाको नागबेलीमा २५ लाखको भवन बनेर संचालनमा आएको छ । त्यहाँ स्थानीयले खोप क्लिनिक र आमा समूहको बैठकका लागि भवन प्रयोग गरेका छन् । निसीखोला गाउँपालिका वडा नंं. ३ का बासिन्दाले पनि दाताको ३ लाख र पालिकाको २ लाख ५० हजार लगानी पाएपछि थप श्रमदान गरेर झण्डै १० लाखको भवन बनाएर प्रसुती प्रतिक्षाघरको रुपमा संचालनमा आएका छन् । उक्त भवनमा एक वर्षमा १ सय ७ जना प्रसुतीले आश्रय समेत लिएका छन् । चालुवर्ष पनि ५२ जनाले निशुल्क सेवा समेत लिएको अनमी ताराकुमारी चन्दले बताइन् ।
नर्जाखानीस्थित सामुदायिक स्वास्थ्य इकाइमा बर्थिङ सेन्टर स्थापनाबाट शुरु भएको ग्रामीण स्वास्थ्य सुधार परियोजना ७ वर्षमा सकिएको छ । यो अवधिमा फेयरमेड र विवाइसीले तीन दर्जन बढी भवन बनाएका छन् भने एकदर्जन बढी स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिदिएको हो । त्यसबाहेक अधिकांस स्वास्थ्य संस्थामा सुत्केरी गराउने बेड र शिशु जन्मेपछि तातो बनाउने मेसिन र गर्भवती महिलाको मुटुको चाल थाहा पाउने मेसिन समेत सहयोग गरेको हो ।
त्यस बाहेक सुरक्षित सुत्केरी गराउने कामका लागि अनमीहरुलाई तालिम, नियमित खोप सेवा संचालन गर्न आमा समूह परिचालन, आमा समूहको बैठकमा सामाजिक नक्सांकन गराउने काम र ती नक्सामा गर्भवती, सुत्केरी तथा ५ वर्ष मुनिका बालबालिकाको घर बनाएर उनीहरुलाई नियमित भेट गर्दै स्वास्थ्य सुधारमा साथ दिने काम पनि भएको हो । २०२४ को डिसेम्बर बाट यो कार्यक्रम समापन हुँदैछ ।
स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार ती अभियानलाई स्वास्थ्यको कार्यक्रममा जोडिएको, उपकरण र भवनको सदुपयोगका लागि बिशेष समिति समेत बनिरहेको जानकारी दिए । अझैपनि बाल विवाह र होम डेलीभरीलाई शुन्यमा झार्न नसकिएकोले स्वास्थ्य कार्यालयले बिशेष अभियान संचालन गरिरहेको छ ।
बालमैत्री अभियानले पनि बाल विवाह र आमा तथा शिशुको स्वास्थ्य सुधारमा काम गर्ने भएकोले स्थानीयले तहले लगानी बढाइ रहेको जिल्ला समन्वय समितिका प्रमुख तथा सल्लाहकार समितिका अध्यक्ष अमर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->