बागलुङ/लामो समयदेखि अन्यौलमा रहेको जिल्ला अस्पताल पुस महिनामै संचालनमा ल्याउने तयारी भएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उक्त जानकारी गराएका हुन् ।
आवस्यक दरबन्दीको ओएनएम सकेर अस्पतालमा ती आवस्यक दरबन्दी व्यवस्थापन गर्न लागेको उनले जानकारी दिए । त्यसपछि बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय जिल्ला अस्पतालको रुपमा घोषणा गरिने छ ।
२०६७ सालमा बागलुङ जिल्ला अस्पताललाई हटाएर अञ्चल अस्पतालमा रुपान्तरण गरिएको थियो । अब बुर्तिवाङबाट बागलुङको जिल्ला स्तरीय अस्पताल संचालन हुने भएको हो । झण्डै १४ वर्षसम्म बागलुङमा जिल्ला अस्पताल थिएन । भवन पर्याप्त भएर पनि जनशक्ति तथा राज्यको नीतिमै नपर्दा जिल्ला अस्पतालबाट पाउनुपर्ने निशुल्क उपचार, औषधी, चौबिस घण्टे सेवा, ओपिडी, इमरजेन्सी र परिवार नियोजनजस्ता धेरै सेवा कटौती भएका थिए ।
गतवर्ष गण्डकी प्रदेश सरकारले बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखास्थित आँपपिपलमा जिल्ला अस्पताल बनाउने निर्णय गरेपछि मात्र ओएनएमको काम शुरु भएको थियो । ओएनएमले दिएको सिलिङको कर्मचारी पुरा गर्न तयारी शुरु भएको मन्त्री पाठकले जानकारी दिए ।
ओएनएमले दिएको सुझाव अनुसार आवस्यक पर्ने उपकरण, जनशक्ती र अन्य व्यवस्थापन गरेर जिल्ला अस्पतालका स्वरुप दिन लागिएको हो । अस्पतालका लागि भवन र केही उपकरण भने पर्याप्त भैसकेको अस्पतालका प्रमुख डा. नविन्द्र ढकालले बताए । ‘अब त यहाँ भवन पर्याप्त छ, भिडियो एक्सरेदेखि प्रसुती सेवामा अपरेसन पनि संचालनमा आइसकेको छ’ ढकालले भने, ‘डिजिटल तथा पूर्ण अटोमेटिक ल्याब पनि बनिसकेको छ ।’ जिल्ला अस्पताल भनेपनि सरकारले गण्डकी प्रदेश स्तरीय बनाउने भएको हो । मन्त्री पाठकले पनि छिटो अस्पताललाई पूर्ण रुपमा संचालनको तयारी भएकोले छिटै उद्घाटन हुने बताए ।
कोरोना कालमा धौलागिरि अस्पताल उपप्रादेशिकमा बढुवा भएपछि जिल्लामा जिल्ला तहको सेवा पाउनै मुस्किल थियो । जसका कारण सबै सेवा शुल्क लिएर दिइन्छ । ‘बिशेषज्ञ अस्पतालमा निशुल्क सेवा हुँदैन, निशुल्क सेवा पाउन जिल्ला अस्पताल चाहिन्छ,’ ढकालले भने, ‘लामो प्रयासपछि हामीले जनताको चासोको सेवा दिन सक्ने भएका छौं ।’ अझै आवस्यक दरबन्दी भने नपुगेको उनले बताए ।
सदरमुकामदेखि ९० किमी पश्चिमको बुर्तिवाङमा अस्पताल अति नै आवस्यक भएको स्थानीयको समेत मत छ । यहाँ मध्यपहाडी लोकमार्ग बनेपछि सवारी दुर्घटनाका बिरामी पनि बढी आउने गरेका छन् । निर्वाचनताका प्रदेशसभा सदस्य द्रोण कुँवरले जिल्ला अस्पताल नै मुख्य एजेण्डाको रुपमा अगाडि सारेर मत मागेका थिए ।
बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा वर्षमा ७ सय जनाले त सुत्केरी सेवा मात्रै लिएको तथ्यांक छ । दैनिक झण्डै ३ सय जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । हाल ढकाल बाल रोग बिशेषज्ञ हुन् भने एमडिजिपी डा. अम्रेसकुमार महतो पनि कार्यरत छन् । डेन्टल, आँखा उपचार, भिडियो एक्सरे, क्षयरोगको जिन एक्स्पोट सेवासमेत दिन थालिसकेको छ ।





