बालबालिका अनुकूल राम्रो शासनलाई बालमैत्री सुशासन भनिन्छ । निकट भविष्यका होनहार प्रतिभा भनौं या देशका सम्पत्ति बालबालिकालाई सभ्य, सुसंस्कृत र अनुशासित बनाउनु हामी सबैको कर्तव्य रहन्छ । उनीहरुलाई मिठो बोली, वचन र नैतिक आचरणप्रति जिम्मेवार बनाउँदै लग्नुपर्छ । युवाशक्तिको आधार भनेकै आजका बालबालिका हुन् । उनीहरुको सक्षमता नै राष्ट्रको गौरव हो । तसर्थ बालबालिकाको चौतर्फी विकासमा जोड दिनु आवश्यक हुन्छ । बालबालिकाको प्रतिभा पहिचानमुखी वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य हो ।
यतिबेला नेपालका पालिकाहरुमा बालमैत्री सुशासन अभियान सञ्चालनमा छन् । नेपाल सरकारले वि.सं. २०८७ सम्म समग्र देशलाई बालमैत्री घोषणा गर्ने भनेर अन्तर्राष्ट्रियस्तरमा गरेको सम्झौता बमोजिम यो अभियानले गति पाएको हो । सोही लक्ष्यमा हातेमालो गर्दै बागलुङ नगरपालिकाले पनि २०८१ पौष मसान्तसम्ममा बालमैत्री नगर घोषणा अभियान सञ्चालन गरेको छ । यहाँका वडाहरुले बालमैत्री वडा घोषणा अभियान सम्पन्न गर्ने क्रम चलिरहेको छ । परन्तु बालबालिकामैत्री कार्यक्रम भएका छैनन् । बालबालिकालाई कुनै किसिमको दायित्व बिना जनप्रतिनिधिहरु बालमैत्रीका नाममा रमाउँदै गरेको तितो यथार्थ यहाँ देखिन्छ ।
बालमैत्री वडा घोषणा कार्यक्रममा ठुलाठुला पम्प्लेट र ब्यानरसङ्ग सरकारी पोशाकमा सझिएका कर्मचारीसहित जनप्रतिनिधिहरुको बढोत्तरी निकै राम्रो देखियो । पन्चेबाजा अघि लगाएर तामधामसित कार्यक्रम सम्पन्न भए । परन्तु बालबालिकाहरुको सु–शासन प्राप्तिको महाअभियानमा बालबालिकाहरुले मञ्च देखे, प्रमुख अतिथी, विशिष्ट अतिथि, मञ्चमा भरुभराउ जनप्रतिनिधि र राम्रा सुकिला भद्रभलाद्मी देखे तर मञ्चको स्पर्श पाएनन् । वडा बाल सञ्जालकै अध्यक्ष र सचीवले बोल्ने माइक पाएनन् । चर्को घाम, धुलाम्मे बाटो र चौरमा रुलमुलिएका उनीहरुले कुनै वडामा बिस्कुट पानी कुनैमा फ्रुटी त कुनैमा खिर अचारमा चित्त बुझाए ।
सबल नेतृत्व विकासका लागि प्रेरणा र पुर्नवल प्रदान गर्दै अतिरिक्त क्रियाकलाप, बाल क्लब तथा सामाजिक संघ संस्थाको कार्यक्रम एवं बैठकमा सहभागितात्मक सक्रियता र अर्थपूर्ण सहभागीता बालबालिकाले जनाउन सफल होउन् भनेर नारा लगाउने तर उनीहरुलाई कुनै किसिमको दायित्व र जिम्मेवारी नदिने यो त अभियानमै सिमित भएन र ? उनीहरुको अन्र्तनिहित प्रतिभा पहिचान गरि सबल जीवनका लागि मार्गनिर्देश गर्ने जसका लागि बालबालिकाको नेतृत्वपुर्ण सक्रिय सहभागिता गराउने नीति बालमैत्री अभियानमा पर्नु पर्यो परन्तु वडा बाल समिति बनाउने तर शुन्य दायित्वभित्र बालबालिकालाई दर्शक बनाउने । यो त सरासर उनीहरुका अधिकारप्रति संवेदनशील नबनेको स्पष्ट हुन्छ । अधिकार सम्पन्न बाल सञ्जाल सचिवले कार्यक्रम सञ्चालन र अध्यक्षले अध्यक्षता ग्रहण गरेको कार्यक्रम कहिंकतै देख्न पाइएन । यो त केबल ‘थानको मान’ राख्या जस्तो भएन र ? बालबालिकाको नेतृत्व विकास र उनीहरु अनुकूल वातावरण सिर्जना गर्ने नीति लिएको बालमैत्री अभियानले उनीहरुलाई ¥यालीमा मात्र सिमित गरायो । उनीहरुका चाहना, बालमैत्री अवधारणाबाट उनीहरुले पाउने सुविधा, विद्यालयले बालमैत्री अभियानमा जुट्नु पर्दा भोगेका कठिनाइ, चुनौती लगायतका विषयमा उचित परामर्श नदिने, अनुगमनमुखी कार्यक्रम मात्रै सञ्चालन गर्ने तर घोषणाका नाममा तामझाम गर्ने यो त सरासर औपचारिकता भएनर ?
बालमैत्री वडा घोषणा भईसक्दा प्राप्त पुर्वाधार एवं उपलब्धि बालबालिकाले बालमैत्री सुचक प्राप्ति पश्चात्का अनुभव समुदाय, विद्यालय, वडा, नगर र प्रदेशस्तरमा गठित बाल सञ्जालका पदाधिकारीको मञ्च उपस्थिति शून्य देखियो । बालमैत्री सूचना अधिकारी, बालमैत्री फोकल पर्सन र लैङ्गिक फोकल पर्सन शिक्षकको उपस्थिति पनि शुन्य नै छ । यो कार्यक्रम नै वडाबाल सञ्जालको आयोजना र सञ्चालनमा हुनुपर्यो जस्तो म जस्ता नागरिकलाई लाग्न सक्छ । वडाको प्रमुख संयोजन एवं सहजीकरणमा सञ्चालन हुनुपर्यो । हुनतः समाज र समाजका प्रभुत्व व्यक्तिहरुले तिक्ष्ण दृष्टिले हेर्ने कुनै पार्टीको झोला बोक्न असमर्थ राजनैतिक चाप्लुसी प्रथाका विरोधी हामी जस्ता तल्लो वर्गका वेरोजगार नागरिकले के कुरा उठाउनु । तथापि बढत्व शैलीमा देखिएको कमजोर स्थितिमा हेरिरहनु जायज लागेन । सरकारी तबरबाट भएका कार्यक्रमको विरोध र प्रसंशा दुवै गर्नु जायज छैन हामी जस्ता पापी पेट पाल्न चौविसै घण्टा आफ्नो स्वार्थी काम गर्न विवश मानिसले, पालिकाको उद्देश्य पुर्णताको शुभकामना टक्र्याउनै पर्छ परन्तु चित्त नबुझेको कुरा नबोल्नु पनि अन्याय नै होला ।
मैले परिकल्पना गरेको बालमैत्री वडा घोषणा कार्यक्रम
सर्वप्रथम त बालमैत्री वडा घोषणा कार्यक्रमको आयोजनार्थ वडा बाल सञ्जालको बृहत् बैठक बस्ला । सबै समुदाय, टोल र विद्यालयमा गठित बाल क्लबका पदाधिकारीको राय सुझाव र मापदण्ड पुर्ण भए नभएको निक्र्याैल गरि र्यालीको लागि मिति तोकिएला । कार्यपालिका का जनप्रतिनिधि र वडाध्यक्ष सहितले उनीहरुलाई सहयोग गर्लान् । वडाभित्रका सबै विद्यालय, आमा समूह, सामाजिक संघ संस्था र सरोकारवालाहरुलाई बाल सञ्जालले पत्र काट्ला । र्यालीको प्रारम्भमा वडा बाल सञ्जाल र समुदायस्तरमा गठित बाल सञ्जालका व्यानर लिएर समुदायस्तरबाटै बालबालिका र्यालीमा समावेश होलान् । त्यसपछि क्रमशः विद्यालय, सामाजिक संघसंस्था र वडाको व्यानर समेटिएला । नगर र वडाको मार्गनिर्देशनमा र्यालीले पुर्णता पाउला । मुख्य कोण सभा भनौं या बालमैत्री वडा घोषणा कार्यक्रम स्थलमा पुगेपछि वडा बाल सञ्जाल अध्यक्षको अध्यक्षता वडा बाल सञ्जालकै सचीवले कार्यक्रम सञ्चालन गर्लान् । बालबालिकाहरु आफ्नै साथीको नेतृत्व विकास देखेर रमाउलान् । वडाध्यक्ष, पालिका प्रमुख वा कुनै विशिष्ट व्यक्तिलाई प्रमुख अतिथि बनाइएला र वडा फोकल पर्सन कर्मचारीसहित विद्यालयले छनोट गरेका बालमैत्री फोकल पर्सन र लैङ्गिक फोकल पर्सन शिक्षकको मञ्चिय उपस्थिति होला । उनीहरुले बालबालिकालाई उचित सहयोग गर्लान् । हरेक विद्यालयमा गठित बाल क्लबका पदाधिकारीलाई आसनग्रहण गराइएला । बालबालिकाले समुदाय स्तरमा सञ्चालन गरेका सचेतनामुलक कार्यक्रमका दस्तावेज प्रस्तुत गर्लान् । वडा, समुदाय र विद्यालयमा गठित बाल सञ्जालले भोग्नुपरेका कठिनाइ र चुनौतीको बारेमा बालबालिकाले प्रकाश पार्लान् । जुन समस्या र चुनौतीको समाधानका लागि पालिका र वडाका उच्च पदस्त व्यक्तिले उचित निकास सहितको सल्लाह सुझाव देलान् । वडा बाल सञ्जाल, विद्यालय, टोल, समुदायस्तरका बाल सञ्जालका पदाधिकारी, विद्यालय प्रमुख, अभिभावकलगायत अतिथिहरुले सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्लान् । पालिकाको यस अभियानमा दिलोज्यानले खटिएका बालबालिका, फोकल पर्सन शिक्षक र अन्य समुदायस्तरका मानिसलाई सम्मान गरिएला भन्ने लागेको थियो । तर विडम्बना हाम्रो पालिका मातहतका वडाहरुको बालमैत्री वडा घोषणा कार्यक्रममा यो दृश्य देख्न सकिएन । पालिकाले लिएको यति ठुलो अभियानमा विरोध जनाएको पटक्कै होइन । हाम्रो नगरपालिकाले लिएको बालमैत्री नगर अभियान सफल पार्नु हामी सबैको दायित्व हो । गलत अर्थ किन्चित नलागोस् । यो विषयमा बोल्ने अधिकार मलाई होला नहोला मैले देखेको र अनुभव गरेको कुरालाई एकत्रीत गर्ने काम मात्रै गरेको छु । कार्यान्वयन पक्ष फलदायी बनोस् ।
बालमैत्री अवधारणाले बालबालिकाको हितविरुद्ध हुने जुनसुकै हिंसा उन्मूलन गरि अधिकारको प्रत्याभूत गराओस् शुभकामना दिनु न्यायोचित नै हुन्छ भन्ने ठानेको छु । तर कार्यक्रम गरियो त केवल औपचारिकता निर्वाह गरियो । आमासमुह, सरकारी कर्मचारी, प्रअ र अतिथि लगायत ठुलाबढालाई सम्मान गरियो । बालमैत्रीका नाममा गरिएको यत्रो तामझाममा बालबालिकाको सम्मान नहुनु दुःखद् छ । बालमैत्री वडा र पालिका घोषणा कार्यक्रम त गरिखाने निहुँ जस्तो लाग्यो ।
के विद्यालयमा रङरोगन गर्दैमा विद्यार्थी र अभिभावकका बालमैत्री आचारसंहिता विद्यालयका भित्तामा टास्दैमा बालमैत्री हुन्छ ? सूचना अधिकारी, बालमैत्री र लैङ्गिक फोकल पर्सन तोकेर बाजागाजासहित मञ्चबाट भाषण गर्दैमा अभियान सफल भएको दाबी गर्न मिल्छ ? पंक्तिबद्द लाइनमा घण्टौं उभिएका बालबालिकाको पीडालाई कसैले बुझ्दैनन्न । शिक्षकहरु विद्यालय, वडा र नगरको प्रतिष्ठा जोगाउन कडा नियम लादिरहेछन् । जनप्रतिनिधिहरु वडाको सान बचाउन भव्यताको उद्घोष गरिरहे छन् । प्रमुख अतिथी, विशिष्ट अतिथिदेखि मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरु छमछम नाचिरहेछन् । के बालमैत्री अवधारणाको उपादेयता यहि हो ? हुन विद्यार्थी, बालबालिका, शिक्षक र विद्यालयले अघिल्लो वर्षदेखि नै नगरपालिकाको यस नगर अभियानमा साथ दिइरहेका छन् । त्यस दिनदेखी आजसम्म बालबालिकाले अभियान सफल पार्न धेरै दिनको पढाइ त्यागेका छन् । पालिकाको लक्ष्य पूरा गर्न तन, मन वचनले लागेका बालबालिका कुनै दायित्व नबुझी ¥यालीमा सहभागिता जनाउन मात्रै सक्षम भएका हुन् त ?
बालबालिकाहरुले आफ्नै नाममा चलिरहेको शासनका लागि प्लेकार्ड बोकेर लाइनमा उभिनु जायज होला तर घण्टौंको दुख कस्ले अनुभव गर्ने ? विद्यार्थीको पहिलो सर्त पढाइ हो । उनीहरु स्वतन्त्र हुनुपर्छ भन्नेमा दुई मत छैन । बालमैत्री शासनमा त बालबालिकाले सुख पाउनु पर्थ्यो आखिर किन दुख दिइदैछ पटकपटक ? या त कार्यक्रमको मर्यादा बढाउन सजिलो माध्यम विद्यार्थी भएर हुनुपर्छ होइन भने मञ्चमा भरिभराउ अतिथिहरु चिलाचौडा सोफामा बस्नु स्वभाविक भए पनि घण्टौंको र्यालीपछि मैदानमा बालबालिकालाई बिसाउन लगाएर भाषण गर्नु अस्वभाविक छ ।
यस अभियानमा ऐक्यवद्धता जनाउन अभिभावक, विद्यालय र विद्यार्थीले बालमैत्री आचारसंहिता पालना गर्नुपर्छ । बालबालिकासङ्ग सम्बन्धित ५१ सुचकको कार्यान्वयनमा सबै तह जुट्नुपर्छ । कुनै किसिमको दण्ड, सजाय र दमनको वातावरण हुनुहुदैन । उनीहरुका सिर्जना, कला र सीपले फक्रिने अवसर पाउनुपर्छ । बालमैत्री कक्षाकोठा, स्वच्छ पानी, सरसफाइ, बाल उद्यानको व्यवस्थापन, बालश्रम, बाल यौन दुव्यवहार, बाल हिंसा, बालविवाह, मादक पदार्थ सेवन, किनबेच र कुलत तथा दुव्र्यसनलाई निरुत्साहित गरि मानव बेचबिखन र मानव अङ्ग किनबेचविरुद्ध सचेत गराउने, खाने, सुत्ने, पढ्ने, लेख्ने र खेल्ने समय निर्धारण, नियमित स्वास्थ परीक्षण, विद्यालय (बाल विकास केन्द्र) भर्ना, खोप र पोषणयुक्त खानेकुराबारे सचेतना जगाउनु पर्छ । तर यी सबैका बाबजुद शुन्य दायित्वभित्र बाल संजालका पदाधिकारीलाई राखेर बाह्य तामझाम अस्वाभाविक छ ।





