पर्वत/जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको नवरत्न आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले कहीँ आफ्नो भनाइ राख्ने पाए भने विद्यार्थी जोगाउनको लागि विद्यालय परिसरमा तार बारको माग गर्छन् । नगरपालिकाको आयोजनामा हुने प्रधानाध्यापकहरूको बैठकमा होस वा अनुगमनका लागि विद्यालयमा पुग्ने टोली र आन्तरिक तथा बाह्य सहयोगदाताहरूसँग पनि उनले सधैँ सकेसम्म पर्खाल नभए पनि तारको बारको माग गर्दै आएका छन् ।
कुश्माको ‘कर्णाली’ रूपमा समेत बोलाइने आर्थरको बगालथोकमा रहेको उक्त विद्यालयमा पुग्नको लागि नै समस्या छ । नजिकै स्याङ्जा जिल्लाको सिमाना रहेको बगालथोकमा रहेको उक्त विद्यालय भौतिक रूपमा विकट स्थानमा छ । विद्यालयमाथि रहेको कहालीलाग्दो भीर, विद्यालयको अर्को छेउमा पनि डर लाग्दो भीर, अनि त्यही विद्यालय पनि सामुदायिक बनको बीच भागमा ।
विद्यालयमा १४ जना विद्यार्थी र पाँच जना शिक्षक छन्। विद्यालयको केही पर पातलो बस्ती छ, त्यही बस्तीका अधिकांश बसाइँ सरेर बजार र त कोही वैदेशिक रोजगारीमा छन् । सुनसान गाउँमा कसैलाई बोलाउने हो भने पनि ज्येष्ठ नागरिक बोल्छन् । त्यही अवस्थामा पनि विद्यालयले १४ जना विद्यार्थी पाउनु ठूलो कुरा भएको प्रधानाध्यापक पौडेलले बताउँछन् । अहिले विद्यालयको पीर भनेको तीनै १४ जना बालबालिका र पाँच जना शिक्षकहरूको भौतिक सुरक्षाको भएको उनको भनाइ छ ।
चिसो ठाउँका रूपमा परिचित आर्थरको बगालथोक उक्त क्षेत्रको न्यानो ठाउँ हो । एकान्त, नजिकै ठूला भीर, मानिसको आवतजावत खासै नहुने, भिरालो जमिनमा बिहानदेखि बेलुकैसम्म घाम लागेर न्यानो बन्दा जङ्गली जनावरहरू विद्यालय नजिकै आएर बस्दा विद्यार्थी आक्रमणमा पर्न सक्ने चुनौती रहेको छ ।
‘अलिक पहिलेको कुरा हो, हाफ टाइममा विद्यार्थीहरु ग्राउन्डमा खेलिरहेका थिए, उताको भवनको माथिपट्टि घाममा चितुवा सुतिरहेको रहेछ। बच्चाहरू चिच्याउँदै अफिसमा आए, सबैलाई कक्षाकोठामा थुनेर राखियो’, प्रअ पौडेलले भने, ‘विद्यार्थी शौचालय जाँदा पनि जङ्गली जनावरको आक्रमणमा पर्छन् कि भन्ने पीर, खेल्न थोरै उत्तापट्टि निस्के भने भीरबाट खसे कि भन्ने पीर, अर्को छेउमा जाँदा माथिको भिरबाट ढुङ्गा झरेर लाग्यो कि भन्ने पीर ।’
विद्यालयको माथिल्लो भागमा रहेको अग्लो भिरबाट बेला बेलामा ढुङ्गा खसेर विद्यालयको छेवैमा आइपुग्छन्। तर, विद्यालयको छेउमा रहेका बाँसका झाङले ती ढुङ्गाको गति रोकिदिँदा हालसम्म चोट भने कसैलाई लागेको छैन। सोही विद्यालयको ‘ग्राउन्ड’ बाट नै दुई गाउँमा आउजाउ गर्ने बाटो रहेकोले विद्यालयमा आफू नहुँदाको दिनमा महिला शिक्षक र बालबालिकाहरू मात्रै हुँदा पनि त्रास हुने गरेको पौडेलको भनाइ छ ।
जङ्गली जनावरबाट हुन सक्ने आक्रमण, विद्यार्थी भिरबाट खस्न सक्ने जोखिम, भिरबाट आउन सक्ने ढुङ्गा र यात्रीहरूबाट महिला र बालबालिकाहरूमाथि हुन सक्ने कुनै दुर्व्यवहारबाट बचाउने एउटै विकल्प भनेको विद्यालय परिसरलाई तार बार वा पर्खालले घेर्नु मात्रै हो ।
विद्यालय सामुदायिक बनमा रहेकाले विद्यालयको छुट्टै लालपुर्जा बन्न सकेको छैन । विद्यालयको आफ्नै लालपुर्जा नभएकै कारण कतिपय इच्छुक दाताहरूले त्यो काम अगाडि बढाउन सकेका छैनन्। नगरपालिकाको शिक्षा शाखामा त तार बारको कुरा विगतदेखि नै उठाउँदै आएको भए पनि त्यो माग पनि पूरा भएको छैन ।
कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारी हालै मात्रै उक्त विद्यालयको अनुगमनमा पुग्दा पनि शिक्षकहरुले ६० मिटर लम्बाई र ४० मिटर चौडाइको क्षेत्रफलमा रहेको विद्यालय परिसरमा तार बारको माग गरे। विद्यालयको भौतिक अवस्था नियालेपछि शाखा प्रमुख तिवारीले विद्यालय जोखिममा रहेको बताउँदै सुरक्षात्मक तार बारका लागि नगरपालिकामा कुरा राख्ने बताए ।





