मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पुसे १५ (तमु ल्होसार) र यसको सांस्कृतिक महत्व

पुसे १५ (तमु ल्होसार) र यसको सांस्कृतिक महत्व

यसवर्ष गुरुङ समुदायको नयाँ वर्ष सर्प वर्ष (सर्प वर्गको वर्ष) परेको छ । यसबाट पनि गुरुङहरू प्रकृतिको पूजा गर्ने वर्ग हुन् भन्ने बुझिन्छ ।


  • डा. नरनाथ पाण्डे
  • पुष १४ २०८१, आइतबार

नेपाली पात्रोमा अन्ततः पुसे १५ पनि आइपुगेको छ । यो जाडो महिना अर्थात् डिसेम्बर÷जनवरी महिनामा पर्ने पर्व, क्रिश्चियनहरूको जिसस क्राइस्टलाई सम्झने भव्य पर्वको वरपर आउने पर्व र अङ्ग्रेजी नयाँवर्ष प्रारम्भ हुने वरपर पर्ने पर्व पनि हो । यो पर्व नेपाली समाजमा पनि भव्यताका साथ मनाइन्छ र यो पर्वको सांस्कृतिक महत्वलाई बुझेर यो दिननेपाल सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ । विभिन्न जातजाति, भाषाभाषी, रितिरिवाज र परम्परा मनाउने साझा फुलबारी रहेको नेपालमा नेपालीका आफ्नै मौलिक सामाजिक र सांस्कृतिक चाडपर्व रहेका छन् । यसैक्रममा पुसे १५ पनि एक पर्व हो । हुनत यो पर्व गुरुङ जातिले विशेष रुपमा मनाउने गरेको पर्व हो । जसलाई गुरुङसमुदायले आफ्नो नयाँवर्षको रुपमा मनाउने गर्छन् रयस पर्वलाई तमु ल्होसार पनि भनिन्छ, जुन नयाँ वर्षको पहिलो दिन हो । शब्द अनुसार तमु भन्नाले गुरुङ र ल्होसार भन्नाले नयाँ वर्ष भन्ने हुन्छ । यो बुद्ध धर्म मान्ने समुदाय र खासगरी गुरुङ समुदायले यसलाई मुख्य पर्वका रुपमा मनाउँछन् । वर्षभरिमा ल्होसार तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार पर्दछन् जुन विभिन्न समुदायले विभिन्न तरिकाले मनाउने गर्दछन् । यो पर्वका दिन आफ्ना परिवारका सबै सदस्य जम्मा हुने, शुभकामना आदानप्रदान गर्ने, मिठा मिठा परिकार बनाएर खाने, धनुषकाँडलगायतका अन्य खेलहरू खेल्ने, मनोरञ्जन गर्ने, सांस्कृतिक चलन अनुसारका कार्यक्रमको आयोजना गर्ने र ठूलाबडाबाट आशिर्वाद समेत ग्रहण गर्ने गर्दछन् ।यो पर्वमा उनीहरूले नयाँ र सफा भाङ्ग्रा, कछाड र घलेक लगाउँछन् भने महिलाहरूले सुनका गहनासमेत लगाउँछन् । उनीहरूले समूहमा रोधीघरमा नाचेर र दोहोरी गीत गाएर रमाइलो गर्छन् भने खानामा सेलरोटी, मासु लगायत अनेक परिकारहरूसँगै घरमै बनाइएको रक्सी खाने गर्छन् । गुरुङ्गहरूको पात्रो अनुसार प्रत्येक वर्ष कुनै न कुनै जनावरको नामबाट वर्षको नाम राखिएको हुन्छ र १२ वर्षमा यी जनावरहरूको नामको वर्ष पुनरावृत्ति हुनेगर्छ । यसवर्ष गुरुङसमुदायको नयाँ वर्ष सर्प वर्ष (सर्प वर्गको वर्ष) परेको छ । यसबाट पनि गुरुङहरू प्रकृतिको पूजा गर्ने वर्ग हुन् भन्ने बुझिन्छ ।
यसैगरी अन्य समुदायले समेत पुसे १५ का अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेर रमाइलो गरी मनाउने गर्दछन् । यो पर्व जाडोको मध्य भागमा पर्दछ र प्रायः चिसो मौसम हुनेहुँदा सबैले बढी भारयुक्त खाद्यपदार्थ (सेलरोटी, अचार, माछामासु) लगायत तरुल जस्ता कन्दमुल पनि खाने गर्छन् र चिसोका कारण पाचनको समस्या त्यति नहुने र प्रायः खाना पचाउने गर्छन् । त्यस्तै यतिबेला वर्षभरिकै सबैभन्दा छोटा दिनहरू पर्ने भएकाले छिटै सूर्यास्त हुनेगर्छ । आफ्नो संस्कृति अनुसार वयस्कहरूले रातभरि नै गीत गाउने, रमाइला गफगाफ गर्ने, नाचगान गर्ने, खाने, पिउने र पर्याप्त मनोरञ्जन लिने गर्छन् । आगो बालेर बस्ने, नाच्ने, गाउने र तात्तातो खानेकुरा खाने हुँदा खासै जाडोको अनुभव पनि गर्दैनन् । यो बाहेक गुरुङ समुदायले विभिन्न मन्त्रहरू लेखिएका रंगीचंगी तोरण र झण्डाहरू समेत घरमा, डाँडाकाँडामा र बौद्ध बिहारमा झुण्डाउने चलन छ जुन वर्षभरि कल्याणका लागि यसरी झुण्डाउने गरिएको विश्वास गर्दछन् ।
पुसे १५ नेपाल बाहेक तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया तथा बेलायतलगायत संसारका अन्य देशमा बस्ने गुरुङ्गहरूले समेत मनाउने गर्छन् भने यो दिन नेपालका अन्य समुदायका मानिसहरूले पनि रमाइलो गरी मनाउँछन् । विभिन्न साथी समूह मिलेर घुम्न निस्कने, वनभोज गर्न जाने, विभिन्न संघ संस्था र समूहमा बस्नेहरू पनि वनभोज जाने र मिठा मिठा परिकार खाने, दिनभर रमाइलो गर्ने, नाचगान गर्ने गरेर दिन बिताउँछन् । मुख्य खानाको रुपमा यो दिन लट्टे खाना बढी प्रचलित रही आएको छ । अनदीको चामल दूधमा मह,खुदो वा चिनी र घिउ राखेर पकाएर चिल्लो तथा चाम्रो खालको बनाएर खाने चलन पनि छ । त्यस्तै, चिउरा, भुजा, दही खाने चलन पनि रहेको छ भने आजकाल खानाको रुपमा मासु र मासुका विभिन्न परिकारहरू पकाएर खाने चलन बढ्दै जाँदा परम्परागत खाना प्रायः विस्थापित भैसकेका छन् ।
यसरी जसले जसरी चाडबाड मानेता पनि नेपालमा हरेक जातजातिहरू एकआपसमा मिलेर सबैले सबैका चाडपर्वमा सहभागी भएर खुसी बाँड्दै मनाउने प्रचलन भने अति प्रशंसनीय रहेको छ । यिनै विशेषताले भरिपूर्ण भएको हाम्रो समाज वास्तवमा संस्कृतिको धनी रहेको छ ।संयोग नै मान्नुपर्छ, यसवर्षको पुसे १५ का दिन सोमबारे औंसीसमेत परेको छ जुन अति राम्रो र दुर्लभ दिन पनि हो । यो दिन मौन रहेर स्नान गर्ने, ध्यान बस्ने, पूजाआजा गरी शिवजीको प्रार्थना गर्ने चलन रहेको छ । यसरी पुसे १५ को दिन हिन्दु धर्माबलम्बीका लागिसमेत विशेष महत्वको रहेको छ र यो दिन पवित्र दिनका रुपमा स्थापित भएकोमा कुनै शङ्का छैन ।
(लेखक डा. पाण्डे जीवनशैली व्यवस्थापनमा विद्यावारिधि, प्राध्यापक तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन् । सं.)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->