म्याग्दी/जिल्लामा एउटा पूरानो उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ । म्याग्दीको अति विकट धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँको अवस्था, विवशता र बाध्यतालाई तोड्न अब सडक सञ्जाल गाउँमै पुग्ने भएको छ ।
प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको सदरमुकाम बेनीबाट करिब २६ कोस पश्चिममा अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गूर्जा यातायातको पहुँचबाट निकै टाढा गुर्जा हिमालको फेदमा अवस्थित एउटा मात्र गाउँ गुर्जालाई सडक सञ्जालले जोड्न लुलाङ र गूर्जाको सीमाना देउराली धुरीसम्म ट्रयाक (मार्ग) खुलेको हो ।
संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको प्राथमिकतामा रहेको सडकखण्ड अन्तरगत लुलाङबाट देउरालीसम्म छ किलोमिटर मार्ग निर्माण भएको धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । ‘गाउँपालिकाको गौरवको योजना हो, सडक सञ्जालले गूर्जाको सम्भावनाहरू उजागर गर्नेछ’ गाउँपालिका अध्यक्ष पुनले भने ।
संघीय, प्रदेश र गाउँपालिकाबाट चार करोड बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले ३ करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो। गाउँपालिकाको केन्द्र मुना हुँदै आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै ४ किलोमिटर ४ सय मिटर सडकको मार्ग निर्माण भएकोमा अब छिटै गूर्जाबाटै सवारी चढेर गन्तब्यसम्म पुग्न सकिने वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । ‘गूर्जाबासीको सपना पूरा हुदैछ, अब एकैदिनमा सदरमुकाम बेनीबाट गुर्जा पुगिन्छ, स्थानीय उत्पादनले पनि बजार पाउँछ’ अध्यक्ष छन्त्यालले भने ।
गाउँपालिकाको केन्द्र मुनाबाट एकदिनमा पुगिने गूर्जा अब सवारीसाधनमा ३ घण्टामै सहजै पुग्न सकिन्छ भने लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा चार घण्टा हिँड्नुपर्नेमा अब आधाघण्टामै छोटिएको अध्यक्ष छन्त्यालको भनाई छ । अहिले ट्याक खुलेपछि बोलेरो, ट्याक्टर र मोटरसाइकलमा स्थानीयबासी आवतजावत गर्ने गरेका छन् ।
देउरालीबाट गुर्जातर्फ सडक निर्माणका लागि चालु आवमा संघीय सरकारले दुईवटा शीर्षकमा १ करोड ३५ लाख, प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले ३५ लाख विनियोजन गरेका छन् । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।
दशकौंदेखि राज्यको सेवा सुविधा र पहँुचबाट टाढा रहेको गूर्जामा सडक सञ्जाल पुगेपछि ग्रामिण पर्यटनको प्रचुर सम्भावना, बहुमूल्य खानी, जडिबुटी र जैविक विविधताको सदुपयोग हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘यहाँका सम्भावनामा लगानीको आवश्यकता छ, अब गूर्जामा उत्पादन हुने बस्तुलाई सहज हुनेछ, स्वदेशी पर्यटकको पहुँच समेत बढ्नेछ’ अध्यक्ष श्रेष्ठले भने ।
ग्रामिण पर्यटन अन्र्तरगत रुकुम र बागलुङ जोड्ने बस्तीहरुलाई समेटेर पदमार्ग समेत विस्तार गरिएकाले ग्रामिण क्षेत्रमा पदयात्रा गर्न उत्कृष्ट गन्तब्य बन्ने पर्यटन ब्यवसायीको भनाई छ । लुकेको बस्तीको परिचयले चिनिने गूर्जामा २ सय ३० घरधुरीमा रहेको छ । यहाँका बासिन्दा बिरामी हुँदा महंगोमा हेलिकप्टरमा यात्रा गर्नुपर्ने बाध्यता थियो । म्याग्दीको ६ वटा स्थानीय तहका ४५ वडामा सडक सञ्जाल नजोडिएको गूर्जा मात्रै थियो ।





