पोखरा/ कास्की बचत तथा ऋण सहकारी संघको २४ औँ वार्षिक साधारण सभा एवं रमाइलो वनभोज कार्यक्रम शनिवार पोखरा २५ हेमजामा अवस्थित माछापुच्छ्रे पाटी प्यालेसमा सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिस्ट्रार भेषराज रिजालले २०५६ देखि सहकारी संघको निरन्तर सक्रियताले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए । सोही अवसरमा सहकारी अध्यादेशको नयाँ व्यवस्थाबारे थप प्रस्ट पारेका थिए । कार्यक्रमका बिच जिल्ला सहकारी संघ लि. कास्की, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र को–अपरेटिभ म्यानेर्जस क्लब, कास्कीले संयुक्त रूपमा रजिस्टार भेषराज रिजाललाई सहकारी सम्बन्धमा, ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१ सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।
ध्यानाकर्षण पत्रमा उल्लेख भएका विषयमा आफ्नो समर्थन रहेको उल्लेख गर्दै सम्बन्धित ठाउँमा आफ्नो क्षेत्रबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे सहकारीहरूलाई आवश्यक कानुनी प्रावधान पालन गरेर आफ्नो कार्यक्षत्रमा काम गर्न आग्रह समेत उनले गरे ।
पोखरा महानगर प्रवक्ता एव वडा नं २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले, सहकारीले अब बचत तथा ऋणमा मात्र सीमित नभई उत्पादनमा पनि केन्द्रित हुन पर्ने धारणा राखे । उत्पादनमा जानका लागि महानगर सहकार्य गर्न तयार रहेको भन्दै उनले सहभागी सहकारीका प्रमुख एवं प्रतिनिधिहरूलाई एक सहकारी एक उत्पादनमा जान गम्भिर भएर लाग्न अनुरोध गरे ।
पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारीले, केहि सहकारीहरूका कमीकमजोरीले गर्दा पछिल्लो समय सबै सहकारीका अध्यक्ष, सञ्चालक भनेका ठग नै हनु भन्ने भाष्य निर्माण भएको भन्दै यस्ता भ्रमको अन्त्य गर्न, सहकारीहरू नीति नियममा चल्नु पर्ने र भ्रमको अन्त्य गर्न सबै एक भएर जुट्न जोड दिए । अध्यादेशमा रहेका विमतिका बुँदाप्रति सबैले आ–आफ्नो क्षेत्रबाट दबाब दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा शुभकामना दिँदै कास्की बचत संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार भेषराज बराल, पूर्व अध्यक्ष एवं सल्लाहकार भिम गुरुङ,सुदिप ढकाल, नेफस्कून सञ्चालक कमला गिरी ,जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइराला, सि.एम.सि अध्यक्ष मोहनप्रसाद अधिकारी, महानगरपालिका सहकारी संघका अध्यक्ष लिलाधर बराल लगाएतले अध्यादेश,२०८१ सम्बन्धमा एक साथ ध्यानाकर्षण गराएका थिए । सभाले सचिव मीनराज तिमिल्सिना ,कोषाध्यक्ष केशवशरण पौडेल र लेखा सुपरिवेक्षण समिति संयोजक केशवप्रसाद ढकालद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१÷८२को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
मोहनप्रसाद अधिकारी र बिरुवा साकोसलाई सम्मान
संघले साधारण सभाको अवसरमा उत्कृष्ट सहकारी र उत्कृष्ट व्यवस्थापकलाई सम्मान गरेको छ । बखान सहकारी अवार्डबाट उत्कृृष्ट संस्थामा विरुवा साकोस पोखरा १७ सम्मानित र राइफाइसन सहकारी अर्वाडबाट उत्कृष्ट व्यवस्थापकमा मोहनप्रसाद अधिकारी सम्मानित भएका थिए । सोही अवसरमा संघलाई आर्थिक सहयोग गर्ने विशाल, हितैषी, पोखरा रोयल, हेमजा, गौरीशंकर, पृथ्वी, मातृमूमी साकोस साथै इन्फो डेप्लोर्पस र फिन्याक्ट सफ्टवायर प्रालिलाई प्रशंसा पत्र तथा मायाको चिनोका साथ सम्मान गरिएको थियो ।
कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष ईश्वर प्रसाद सुवेदीले र सञ्चालन सचिव मीनराज तिमिल्सिनाले गरेका थिए ।




