बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यस्ता छन् कोलेस्ट्रोलबाट जोगिने ५ उपाय

यस्ता छन् कोलेस्ट्रोलबाट जोगिने ५ उपाय


  • डा. स्मृति शाक्य
  • पुष २३ २०८१, मंगलबार

कोलेस्ट्रोल भनेको हाम्रो रगतमा पाइने चिल्लो पदार्थ हो। यो चिल्लो पदार्थ सामान्य हुनु आवश्यक छ। सामान्यभन्दा बढी भयो भने त्यसलाई उच्च कोलेस्ट्रोल भनिन्छ।

धेरैमा कोलेस्ट्रोल बढेको कुनै लक्षण देखिँदैन। रगत परीक्षणपछि मात्र ‘ब्लड कोलेस्ट्रोल’ बढेको थाहा हुन्छ। यसलाई लिपिड प्रोफाइल टेस्ट भनिन्छ।

यसको लक्षण नदेखिने हुनाले जोखिम कति छ भनेर युवा अवस्थादेखि नै समय समयमा परीक्षण गर्न आवश्यक छ। कसैलाई मुटु रोग छ, स्ट्रोक भएको छ, मधुमेह छ भने झन् समय समयमा रगत परीक्षण गर्नुपर्छ।

कोलेस्ट्रोल बढ्नुका मुख्य पाँच कारण छन्।

पहिलो, खानपिन हो। अस्वस्थकर, चिल्लो, प्रशोधित खानाले शरीरमा खराब कोलेस्ट्रोल बढ्छ। त्यस्तै बोसो बढी भएको, मासु र तारे, भुटेका खानाले कोलेस्ट्रोल बढ्छ।

दोस्रो, व्यायाम अभाव हो। हामीले दैनिक व्यायाम गर्नुपर्छ। दिनमा कम्तीमा आधा घन्टा फटाफट हिँड्नुपर्छ। हप्तामा कम्तीमा पाँच दिन यसरी हिँड्नुपर्छ।

कोलेस्ट्रोल बढ्नुको तेस्रो कारण मोटोपन हो। मोटो मानिसमा कोलेस्ट्रोल बढ्ने सम्भावना धेरै हुन्छ।

चौथो कारण धूमपान र मद्यपान हो।

पाचौं, वंशाणुगत कारण हो। आफ्नो रगतको नातामा कसैलाई कोलेस्ट्रोल बढेको छ भने त्यो व्यक्तिमा पनि हुने सम्भावना हुन्छ।

कोलेस्ट्रोल धेरै प्रकारका हुन्छन्। सजिलो हिसाबले भन्दा टोटल कोलेस्ट्रोल, हाई डेन्सिसिटी लिप्रोप्रोटिन (एचडिएल), लो डेन्सिसिटी लिप्रोप्रोटिन (एलडिएल), र ट्राइग्लिसिराइड (टिजी) परीक्षण गरिन्छ।

एलडिएललाई खराब अर्थात् ब्याड कोलेस्ट्रोल भनिन्छ। यस्तो कोलेस्ट्रोल बढ्दा शरीरका धमनीहरूमा बोसो जम्न थाल्छ। त्यो बोसो जम्दा जम्दा मुटुको धमनी साँघुरिन्छ र अवरूद्ध भएर हृदयाघात हुन सक्छ। मस्तिष्कको धमनी ब्लक भयो भने स्ट्रोक हुन सक्छ।

एचडिएल ‘गुड कोलेस्ट्रोल’ हो। यसले हाम्रो शरीरमा भएको खराब कोलेस्ट्रोल बाहिर निकाल्न मद्दत पुर्‍याउँछ। त्यही भएर एचडिएल कोलेस्ट्रोल हाम्रो रगतमा धेरै भएको राम्रो हुन्छ। यो थोरै हुँदा नराम्रो हुन्छ।

टिजी बढ्यो भने प्यांक्रियाजमा समस्या भएर प्यांक्रियाटाइटिस हुन सक्छ। यसले गर्दा कलेजोमा पनि बोसो जम्न थाल्छ र कलेजो सञ्चालनमा समस्या हुन सक्छ।

कोलेस्ट्रोलको उपचारमा दुइटा कुरामा सुधार गर्नुपर्छ; खानपिन र जीवनचर्या। जंक (पत्रु) खानु छोड्नपर्छ। धेरै चिल्लो, तारेको, भुटेको खान बन्द गर्नुपर्छ। कम्तीमा आधा घन्टा व्यायाम गर्नुपर्छ। मोटोपन घटाइयो भने कोलेस्ट्रोल घटाउन मद्दत पुग्न सक्छ। धूमपान र मद्यपान पूर्ण बन्द गर्नुपर्छ।

दिनचर्या परिवर्तन गर्दा समेत कोलेस्ट्रोल सामान्य भएन भने चिकित्सकको परामर्शमा औषधि खानुपर्छ।

एक पटक औषधि खाएपछि सधैं खानुपर्छ कि बीचमा छोड्न मिल्छ भन्ने धेरैको चासो हुन्छ।

हामीले औषधि कुन कुरालाई लक्षित गरेर दिएको हो भन्ने महत्त्वपूर्ण हुन्छ। जस्तो, कसैलाई मुटु रोगको धेरै जोखिम छ वा स्ट्रोक भएको छ भने, औषधिको निरन्तरता जरुरी हुन्छ। कम जोखिम हुने अवस्थामा दैनिकी सुधारेर कोलेस्ट्रोल सामान्य बनाउन सकिन्छ र औषधिको डोज घटाउन या बन्द गर्न मिल्न सक्छ। तर सबै काम चिकित्सकको परामर्श अनुसार मात्र गर्नुपर्छ। कोलेस्ट्रोलको औषधिले साइड इफेक्ट भएमा परिवर्तन गर्नुपर्छ।
(डा. शाक्य त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत उपप्राध्यापक एवं मुटुरोग विशेषज्ञ हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->