माननीय नेता ज्यु, तपाईले पटकपटक भोट माग्नु भो, हामी गरिबको दैलोमा टेकिदिनुभयो । हामी प्रसन्न बन्यौं । तपाईंले अनगिन्ती आश्वासनका झोक्काहरु छर्नु भो, गाउँ घरमा सुर्यको प्रकाश नछिर्ने बुइगलसम्मले खुशीको स्वास फेरे । हजुरलाई भोट दिने पक्का पक्कीमा बिदा गर्यौं । त्यसपछि निरन्तर तपाईंको राफरवाफ बढ्दै गयो । छिमेकीको रेडियोले दिनहुुँ हजुरको समाचार फुकिरह्यो । बिचरा छिमेकीको छोरो १० वर्षे जनयुद्ध लडेर साउदीको भेडिफामबाट फर्किदा त्यति एउटा रेडियो किनेछ । हामी धन्य भएका छौं । हजुरको समाचार सुनेर खुशी यति छौं कि त्यो बिचरो रेडियो किन्ने केटोलाई धन्यवाद दिनसम्म पाएका छैनौं । तपाईंले गाउनु भएको समृद्धिको नारा सुनेर, अस्ति भर्खरै चुनाव जितेपछि अविर जात्रामा फुलमाला र खादाले सझिएर, हजुर अघिअघि हिंड्नु भयो रे, त्यो देख्ने सौभाग्य हाम्रो भाग्यमा रहेनछ । एउटा बिन्ती छ तल्लाघरे छिमेकीले विदेश गएर रेडियो मात्रै किन्न भ्याएछ । मोबाइल ल्याउँदा सरकारलाई महंगो कर तिर्नु पर्छ भनेर रेडियो ल्याएको रे ! बिचरो बाठो छ । अब माथिल्ला घरे जेठो ऋण लागेर विदेशिन खोज्दै छ सक्नु हुन्छ भने त्यति केटोलाई विदेश पठाउने नीति बनाइदिनु पर्यो । सम्पत्तिका नाममा श्रीमती छोराछोरी र बुढा बाउआमा छन्, बैंकले ऋण पत्याएन भन्थ्यो । मान्छे धरौटी राख्न मिल्ला कि नमिल्ला ? मिल्छ भने बैंकको हाकिमलाई सम्झाइ दिनुपर्यो । यो जेठो विदेश पुग्यो भने पनि हजुरलाई प्रसस्तै फाइदा हुने छ । अर्को पटक भोट माग्न आउँदा सुकिलो गुन्द्रीमा बस्न पाउनु हुनेछ, सके विड भएकै गिलासमा चिया पिउनु होला, नभए पनि आज बेलुकीलाई भात पकाउने चामल दिनुस् भोट तपाईंलाई भन्ने छैनौं । यति भएपछि सुखी नेपाली समृद्ध नेपालको अभियान अवश्य पूरा हुने छ । विपिको समाजवाद झाङ्गिने छ । माक्र्स र लेनिनका दर्शनले फस्टाउने मौका पाउने छन् । तपाईँजस्ता राजनीति गर्नेहरुका लागि थप हौसला मिल्ने छ । अब जनताले बिना मुल्य भोट दिने भए भनेर पार्टीको विस्तारित बैठकमा थामी नसक्नु हाँसो उठ्ने छ ।
चुनावी नारा र घोषणापत्रले वैधानिकता पाए भनेर भट्याउने दिन नआउँदै हजुरले आफैंसंग चुनावमा भिडेको पार्टीलाई गठबन्धनको सहयात्री चयन गर्नु भएछ । अहिले उहीँ व्यक्तिको इसारामा हिंड्नु पर्ने रहेछ, चुनावमा किन तँ मेरो तँ उस्को भनेर जनतालाई भाग लगाउनु भयो ? किन दाजुभाइ बिचमा राजनैतिक तगारो हाल्नु भो ? आफ्नै बाबुछोरामा राजनैतिक वृत्त सिर्जना गर्नु भो ? चुनावकै कारण हाम्रो गाउँमा धेरै जनाको बोलचाल बन्द भएको छ । भेटेर सोध्नु थियो । पोहोर आउँदा तपाईंको पिएले नजिक पर्नै दिएन । अस्ति आउँदा त सुरक्षाकर्मी नै वरिपरी रहेछन् । मैले भेट्ने कुरै भएन । विचरा हजुरलाई देखेर एक मन दुख लाग्यो, कतिसम्म असुरक्षित बनायो तपाईंलाई हाम्रो भोटले भन्ने लाग्यो । आफैंलाई धिक्कारे ! यी भोट दिने हातले हजुरमाथी ठुलै अन्याय गरेको भान भयो । मेरो र म जस्ता भुइँ मान्छेहरुले जानी नजानी एक माना चामल र २÷४ रुपैयाँ पैसाको आशामा स्वस्तिक चिन्ह लगाउदा हजुर आफ्नै जन्मभूमिमा असुरक्षित हुनुपर्यो । एक मन दुखी भए पनि अर्को मन ठिकै होला, मेरो नेता मेरो भोटको उपादेयता यत्रो उछालसंग गाउँमा आएको छ । दुइचार दिन अघिबाटै कार्यक्रम सफल पार्न घरघरमा ह्विप जारी गर्ने ती ठिटाहरुले काम पाएका छन् । हामीहरु जानै पर्छ भन्ने आदेश आयो गयौं । हाम्रो सहभागिताले कार्यक्रमले कत्तिको सफलता पायो कसैले समिक्षा गरेनन् होला । बेलुका घर आएपछि छोराछोरीको भोकका अगाडि श्रीमतीको कोलाहलले पुरै गाउँ थर्काएमान भयो । मैले दिनको उज्ज्यालो सम्झे, कार्यक्रममा सहभागी ठुलाबढाहरु सम्झे, सबैका आँखाले मेरो फुस्रो शरीरमा हेरिरहेको सम्झे, मन भारी भो, कसैसँग एक शब्द बोलिन, रिस उठे ‘कि ऐना हेर्नू कि अन्यत्र जानू’ भन्ने बुढापाकाको भनाइ सम्झे, घरमा ऐना नभएकाले म घर बाहिर निस्के तल्लो उपल्लो घरका छिमेकीकोमा पनि उस्तै रडाको रहेछ । विछिप्त मन लिएर घर फर्किए । भोकले पीडित बनेका छोराछोरीका बालअबोध अनुहारमा तपाईंले भाषणमा भने जस्ता मताधिकार, सम्पन्नता र खुशी रत्तिभर थिएनन् । हजुरले ढाँटे जस्तो भान भो, निशङ्कोच हजुरलाई झुटो व्यक्तिको आरोप के लगाउन लागेको थिए । म भित्र सच्चा कार्यकर्ताको रगत उम्लिन थाल्यो । फेरि यहीँ मनले होइन म आफैले त्यतिको विश्वास गरेर जिताएको मान्छेले कसरी ढाट्छ यो हुनै सक्दैन भन्ने लाग्यो । फेरि दिउँसोको भाषणले मथिङ्गलमा स्थान पायो । नेता ज्युले भन्दै हुनुहुन्थ्यो, यहाँ विद्यालय खुल्ने छ । खोलामा पक्की पुल बनाउने जिम्मा मेरो भयो । चौविसै घण्टा विशेषज्ञ डाक्टरसहित ठूलो अस्पताल बन्नेछ । कोहि पनि मान्छे सिटामोल नपाएर मर्ने छैन । सडक सञ्जालले प्रत्येक टोल टोल छुने छ । एक घर एक धाराको अभियानमा यो पुरै गाउँ समेटिने छ । बिजुली बत्तिले गाउँ झलमल्ल हुनेछ । परिवार छोडेर कोहि पनि विदेशीनु पर्ने छैन । सिंचाइको लागि कुला बन्ने छन् । बिउबिजनको समस्या हट्ने छ । रासायनिक मल र किटनाशक औषधि निशुल्क वितरण हुने छ । यहाँ उत्पादित वस्तुलाई सिधै निर्यात गर्ने वातावरण बनाइने छ । यहाँ कोहि पनि भोकै रहने छैन । यत्तिकैमा छिमेकीले सुत्केरी ब्यथाले च्यापेर सुन्तली मरेको खबर ल्याए । गाउँमा अस्पताल नबन्दै मर्नु परेकोमा दुखी मन गराउँदै थिएँ । कान्छो छोराले भोक खट्न नसकेर निन्याउरो मुख लिएर भन्यो । ‘बा तपाईं पनि सानोमा यसरी नै भोकै बस्नु हुन्थ्यो’ म अवाक भए नेता ज्यु, मिल्छ भने अर्को पटक गाउँ आउँदा हामी जस्ता गरिबलाई भाषण सुन्न बाध्य नपार्नु होला । हाम्रा सन्तानको भोक मेटाउन पाउने अधिकार नखोस्दिनु होला ।
गाउँमा नुनको सोझो गर्ने गरिब बस्छन् तपाईंहरुका प्रगतिशील सिद्धान्त पोतिएका मन्तव्यले उनीहरुको चुलो बल्दैन सोचिदिनु होला । हामी गरिबलाई साँची राखेर तपाईले जसलाई जति प्रशंसा, गाली, तिरस्कार र खिसीटिउरी गरे पनि हामीलाई केही नहुने रहेछ किनकी हजुरका भाषण र सपना देखाउने प्रवृत्तिले हामीलाई वर्षौ पर्खायो । हुन त तपाईं चुनाव जितेको ६ महिनामै धनाढ्यको सुचिमा स्थापित मान्छेलाई यो देशमा गरिब को छ र ? भन्ने लाग्ला, तपाईंको सोचाइ गलत छँदै छैन । तपाईं राजनीतिमा लागेदेखि अहिलेसम्म खुशी मात्रै हुने म मात्रै हौंला । अरु तपाईंका आफन्त इष्ट मित्रहरु सम्पन्न बनिसके । हजुरसङ्ग सङ्गै छाता ओड्ने÷ओडाउनेदेखि गाउँमा आउँदा अघिपछि हिंड्नेसम्म सबै सम्पन्न बने, रोजगारीमा लागे, कोहि हाकिम भए कोहि शिक्षक कर्मचारी के के के के तर म बाँचेको मात्रै छु । यतिका मान्छेलाई निर्णायक काममा लगाउन सक्ने मेरो नेतालाई सलाम छ ।
यो हिउँदको चिसो छल्न सकेछौं भने अर्को चुनावमा हजुर आउँदा सपरिवार आउने छौं र हजुरको यहीँ जीवन निरन्तरताको कामनासहित भोट खसाउने छौं । पार्टीले आयोजना गरेका हरेक कार्यक्रम सफल पार्न लागि पर्ने छौं । हुन त बर्खाको डर पनि उत्तिकै छ परन्तु बर्खामा बाढीले न बगाए, झरिले जत्तिसुकै भिजे पनि परान जाँदैन हिउँदको जाडो हामी भोका नाङ्गाको शत्रु नै रहेछ । त्यसमाथि भुकम्पले स्पर्श गरेको मेरो घर र मुटु कतिखेर ढल्छ पत्तो छैन तथापि हजुरका लागि म सधैं हाजिर छु । तपाईंको नाममा जिन्दावाद जोडेर वर्षौं नारा लगाएँ । हजुर र हजुरका आफन्त, इष्टमित्र र नजिकका मान्छे ठाउँमा लागे, धनी भए एक दिन मेरो पनि पालो आउला भनेर पर्खी रहेछु । यो विश्वास नटुटाइ दिनु होला ।
तपाईंले माथिल्ला घरे जेठोलाई विदेश पठाउन सहयोग नगरे पनि तल्लोबाटो हिंडेरै विदेश पुगेछ । धेरै पैसा कमायो नि नेता ज्यु उस्ले, ठूलो टिभी ल्यायो अनि बिजुलीको काम गर्ने सोलारको पातो पनि, अहिले त हामी गाउँभरिका मान्छे जेठोको घरमा जम्मा भएर टिभी हेर्दै छौं । हजुरले बोलेका कुरा पूरा नभएकोमा पनि खुशी छौं । किनकी हामीले टिभीमा देखेका छौं । हजुरले बिजुली नल्याइदिएर राम्रो गर्नु भो अस्ति शहरमा बिजुली सर्ट भएर धेरै मान्छे मरेछन् । अनि सडक नभएपछि गाडी भाडा तिर्नु नपर्ने, दुर्घटनामा ज्यान नजाने रहेछ । यता शिक्षाको कुरा गर्दै हुनुहुन्थ्यो हजुरले, भो त्यो पनि पर्दैन हाम्रो देशमा पढेको योग्य मान्छेले कहिल्यै काम नपाउँदा रहेछन् । पल्लो गाउँको बलबहादुरको छोराले डिग्री उत्तीर्ण गर्दा समेत जागिर नपाएर मलेसिया गयो । यता साहुघरे जिम्मुवालका छोराले १२ कक्षा पढ्दै गर्दा जागिर पाएछ । यहाँ त राजनैतिक पहुँचका आडमा जागिर खादा रहेछन् । सरकारी कर्मचारी र शिक्षक बनाउन त अलिकति पैसासङ्ग ठुलाबडाको बोलवाला चल्दो रहेछ । यहाँ राम्राको होइन हाम्राको उन्नति खोजिदोरहेछ । हिजो विद्यालयका प्रअबाटै बालिका बलात्कार भन्ने समाचार आएको थियो । अब पढाइ होइन नेता ज्यु हाम्रा सन्तानको सुरक्षा चाहिन्छ । हाम्रो स्वअस्तित्व चाहिन्छ । हाम्रा बालबालिकाको इज्जत चाहिन्छ । अर्को कुरा पढेलेखेका मान्छे जति विदेश जानू पर्दो रहेछ । पढाइलेखाई शिक्षित बनाएर छोराछोरी नै गुमाउनु भन्दा त नपढाई आफैसङ्ग राख्दा बुढेसकालमा सहारा बन्लान कि ? यता उत्पादित कृषि वस्तु बजार पु¥याउछु भन्नुहुन्थ्यो, भो हामीलाई निर्यात गर्नु छैन । हाम्रो तरकारीले बजारमा महङ्गो मूल्य पाउदो रहेछ हामीलाई जम्मा २०÷२५ रुपैयाँ किलोमा चित्त बुझाउनु पर्ने, गाई भैंसी दुहेर खाटी दूध बेच्ने हामीले ५०÷६० रुपैयाँ पाउछौ । उता बजारका व्यापारीले दुधको अस्तित्व नै मेटाएर बेच्दा पनि दोब्बर मुल्री पाउने । आखिर यो सब केका लागि किसानको दुख कस्ले बुझ्ने? बेच्नु छैन हाम्रो अन्न, फलफूल, तरकारी र दूध फेरि पैसा पाइदो रहेनछ । बिचरा उखु किसानले वर्षौंको भुक्तानी नपाएर रोइरहेका रहेछन् । अस्पतालको विशेषज्ञ सेवा उस्तै महङ्गो रहेछ घरखेत बेच्दा पनि पाँच दिने उपचार सम्भव नहुने, अनि डाक्टर उस्तै अप्रेसन गरे पेट मै कैँची छोड्ने, रासायनिक मल किटनाशक औषधि केही चाहिदैन हामीलाई हाम्रा बाउबाजेले जे जसरी जीवन धाने उसरी नै दैनिकी चलाउछौं रासायनिक मल र किटनाशक औषधि राखेर उत्पादित वस्तुको प्रयोगबाट रोगी बन्नु छैन । सिंचाइको कुलोमा खोलाको भेल पसेर सबै खेती नष्ट गरेका ठाउँ नेपालमा धेरै रहेछन् । हाम्रो अगाडि सिंचाइको कुरै नगर्नुस् अनि घरघरमा धारा पु¥याएर के गर्नु हुन्छ नेता ज्यु शुद्ध पिउने पानी नआउदो रहेछ त्यस्तो धमिलो पानीमा राजनीति गर्न छोड्दिनुहोस् । हामी ढुङ्गे धाराबाटै पानी बोक्छौं स्वस्थ जीवन बाच्छौं । जे होस् हजुर र हामी दुवै भाग्यमानी रहेछौं । हजुरले हाम्रो लागि कुनै काम नगरी बोलेर चित्त बुझाउनु भो, हामीले कुनै सेवासुविधा नलिई खुशी भयौं तसर्थ हामी नेता कार्यकर्ता दुवै भाग्यमानी, हामी धनी भयौं । आफ्नै खुट्टामा उभिन सक्ने भयौं । अबदेखि सधैं हजुरलाई नै भोट दिन्छौं । हजुरले रुपैयाँ खर्च गर्नु पर्दैन । धन्यवाद ।।





