आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

केही जोडीहरू किन छुट्टाछुट्टै सुत्दैछन्

केही जोडीहरू किन छुट्टाछुट्टै सुत्दैछन्

यूकेमा सन् २०२० मा न्याश्नल बेड फेडेरेसनले गरेको अध्ययनमा छ जनामा एक जना ब्रिटिशहरू सँगै बसे पनि छुट्टाछुट्टै सुत्ने देखिएको थियो ।


  • फर्नान्दा पल
  • पुष २५ २०८१, बिहिबार

कोभिड–१९ महामारीअघि त्यस्तो समस्या थिएन । तर महामारीपछि सेसिलिया आफ्ना श्रीमान्को घुर्ने बानीका कारण निदाउन सकिनन् । उनले आफ्ना पतिको घुराइ कम गराउने प्रयास स्वरूप उनलाई कोल्टे सुताउने प्रयास गरिन् । तर त्यसले पनि काम गरेन ।
ती ३५ वर्षे महिलालाई अब असह्य भयो। अनि उनीहरू एउटा निर्णयमा पुगे ।
त्यो उनीहरू सँगै र एउटै कोठामा नसुत्ने निर्णय थियो ।
‘म आफ्नो काममा केन्द्रित हुन सकिरहेकी थिइनँ । दिनभरि थकित हुन्थेँ । एक दुई रातको लागि तपाईँ सहन सक्नुहुन्छ तर लामो समयसम्म त्यसरी बाँच्न सकिँदैन,’ सेसिलिया भन्छिन् । ‘त्यो कहाँ सजिलो विकल्प थियो र ! त्यसले हाम्रो मन कुँडियो । तर जब मैले हामी त्यसरी पनि सुत्न सक्छौँ भन्ने महसुस ग¥यौँ म त्यसपछि खुसी भएँ’ उनी सुनाउँछिन् ।
सेसिलिया र उनका ४३ वर्षका श्रीमान्ले ‘स्लिप डिभोर्स’ अर्थात् छुट्टिएर सुत्ने अभ्यास अपनाएका छन् । ‘स्लिप डिभोर्स सुरुमा अस्थायी रूपमा गरिन्छ । तर त्यसपछि जोडीले छुट्टाछुट्टै सुत्दा अझै राम्रोसँग निदाएको महसुस गर्छन्,’ अमेरिकास्थित म्याकलिन अस्पतालकी मनोचिकित्सक स्टेफन कोलिअर भन्छिन् ।
‘सामान्यतया त्यसको प्रमुख कारण स्वास्थ्य हो… कोही मानिसहरू घुर्छन्, खुट्टा चलाइरहन्छन्, कोही निद्रामै उठेर हिँड्छन् वा स्वास्थ्यका कारण कोही उठेर शौचालय गइरहन्छन् । यसको असर उनीहरूका जोडीलाई पर्छ,’ उनले बीबीसीसँग भनिन् ।
‘त्यसकारण यो नयाँ प्रवृत्ति निकै लोकप्रिय हुँदैछ ।’

‘मिलेनिअल्स’हरूमाझ बढ्दो चलन
गत वर्षको अन्त्यतिर एकजना चिरपरिचित अमेरिकी नायिका क्यामरन डिआजले एक पोडकास्टमा आफू र आफ्ना श्रीमान् एउटै कोठामा नसुत्ने गरेको बताएकी थिइन् ।
‘फरक–फरक सुत्ने कोठालाई हामीले सामान्य मान्दै जानुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भनेकी थिइन् । उनको भनाइले सामाजिक सञ्जालमा हजारौँ प्रतिक्रिया निम्त्यायो । सञ्चारमाध्यममा कैयौँ लेख र टिप्पणीहरू प्रकाशित भए । यद्यपि यो घटना एउटा मात्रै थिएन ।
अमेरिकन अकाडमी अफ स्लिप मेडिसिनको सन् २०२३ को एक अध्ययन अनुसार अमेरिकामा सर्वेक्षणमा भाग लिएका एकतिहाइ जोडीहरूले सुताइको गुणस्तर सुधारका लागि कहिलेकाहीँ वा नियमितजसो अलग–अलग कोठामा सुत्ने गरेको बताएका थिए ।
उक्त अध्ययनका अनुसार यस्तो प्रवृत्ति मिलेनिअल्स भनिने सन् १९८१ देखि १९९६ बीचमा जन्मिएका वा अहिले २८ देखि ४२ वर्षको बीचको उमेर समूहमा रहेका जोडीहरूमा धेरै देखिएको छ ।
यो उमेर समूहका करिब आधा अर्थात् ४३ प्रतिशत सर्वेक्षणका सहभागीहरूले आफूहरू जोडीसँग छुट्टिएर सुत्ने गरेको बताएका थिए ।
यसपछि यस्तो अभ्यास गरिरहेको समूह सन् १९६५ देखि १९८० बीचमा जन्मिएका ‘जेनेरेशन एक्स’ छ ।
यो समूहका ३३ प्रतिशत सहभागीले यस्तो अभ्यास गरेको बताएका छन् ।
त्यसपछि ‘जेनेरेशन जेड’ भनिने १९९७ देखि २०१२ बीचमा जन्मिएको पुस्ता (२८ प्रतिशत) र बेबी बूमर्स भनिने सन् १९४६ देखि १९६४ बीचमा जन्मिएको पुस्ता (२२ प्रतिशत) छ ।
‘युवा पुस्ताले किन यसो गरिरहेका छन् भन्नेबारे ठ्याक्कै थाहा हुन नसके पनि यसबारे केही परिकल्पनाहरू छन् । त्यसमध्ये एउटा चाहिँ छुट्टाछुट्टै सुत्ने कुरामा अहिले सङ्कोच कम छ । यो सांस्कृतिक परिवर्तन हो । मलाई के लाग्छ भने ‘यदि म राम्रोसँग सुतेँ भने म राम्रो महसुस गर्न सक्छु । त्यसो भए किन नगर्ने’,’ डाक्टर कोलिअर भन्छिन् ।
इतिहासको विकास क्रमसँगै यसमा परिवर्तन हुँदै आएको देखिन्छ ।
केही इतिहासकारहरूका अनुसार ‘डबल बेड’ अर्थात् जोडी सँगै सुत्न मिल्ने बिछ्यौना आफैँमा आधुनिक अवधारणा हो । यसको प्रयोग औद्योगिक क्रान्तिसँगै मानिसहरू धेरै जनघनत्व भएका ठाउँहरूमा जान सुरु गरेसँगै बढेको उनीहरू बताउँछन् । तर १९ औँ शताब्दी अघिसम्म विवाहित जोडीहरू छुट्टाछुट्टै सुत्ने अभ्यास सामान्य थियो ।
‘आर्थिक सामाजिक अवस्था जति उच्च हुँदै गयो यो अभ्यास त्यति नै धेरै बढ्दै गयो । राज परिवारका मानिसहरू कसरी सुत्थे भनेर तपाईँले थाहा पाउन सक्नुहुन्छ,’ क्याथोलिक युनिभर्सिटी अफ चिले अन्तर्गतको चिकित्सा विद्यालयमा सुताइ समस्या हेर्ने चिकित्सक पाब्लो ब्रोकमन भन्छन् ।

यसका फाइदा के छन्
विज्ञहरूका अनुसार फरकफरक कोठामा सुत्ने निर्णय गरेका जोडीहरूलाई कैयौँ फाइदा छन् । ‘यसको मुख्य फाइदा भनेको उनीहरूमा नियमित गहिरो निद्राको विकास हुनसक्छ । राम्रो निद्रा पाउनु समग्र भलाइका लागि अत्यावश्यक छ,’ डा. कोलिअर भन्छिन् ।
‘यदि एकजना व्यक्ति सुत्न सक्दैनन् भने त्यसले उनको रोग प्रतिरोधी क्षमतादेखि शारीरिक कामकाज लगायतका सबै कुरामा पनि असर पर्छ । यससँगै तपाइँ छिटो रिसाउनुहुन्छ र अधैर्य हुनुहुन्छ । यसले कुनै प्रकारको डिप्रेशन पनि निम्त्याउन सक्छ,’ उनी भन्छिन् ।
ती मनोचिकित्सक ‘स्लिप डिभोर्स’ले स्वस्थ सम्बन्ध कायम राख्न पनि सहयोग पुग्ने विश्वास गर्छिन् । ‘हामीलाई के थाहा छ भने जुन जोडीले राम्रोसँग आराम पाउँदैनन् उनीहरूबीच धेरै झैझगडा हुने सम्भावना हुन्छ, धेरै झर्किन्छन् र समानुभूति गुमाउँदै जान्छन्,’ उनी भन्छिन् ।
अमेरिकन अकाडमी अफ स्लिप मेडिसिनका श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ सीमा खोसला पनि यस विषयमा सहमति जनाउँछिन् ।
‘कमजोर सुताइले तपाईँको मनोदशा खराब बनाउन सक्छ । निद्रा नपुगेका मानिसहरू आफ्ना जोडीसँग झै–झगडा गर्ने सम्भावना धेरै हुन्छ । उनीहरूको निन्द्रा बिथोल्ने व्यक्तिहरूप्रति धेरै रिस हुनसक्छ जसले सम्बन्धलाई नकारात्मक असर गर्छ,’ अमेरिकन अकाडमी अफ स्लिप मेडिसिनले स्लिप डिभोर्सबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले भनेकी थिइन् ।
‘रातको समयमा राम्रो निद्रा पाउनु स्वास्थ्य र खुसीका दुवैका लागि महत्वपूर्ण छ । त्यसकारण केही जोडी आफ्नो समग्र भलाइका लागि छुट्टाछुट्टै सुत्नु कुनै अचम्मको कुरा होइन,’ उनले थपिन् । सेसिलियाका हकमा आफ्ना जोडीभन्दा फरक कोठामा सुत्न सुरु गरेयता उनको जीवन परिवर्तन भएको छ ।
‘त्यसो गर्दा अझै धेरै सहज हुन्छ । राम्रोसँग सुत्न पाइन्छ वा ओछ्यानमा अझै धेरै ठाउँ प्रयोग गर्न पाइन्छ अनि अरूलाई असर नपारी कोल्टे फेर्न सकिन्छ…’ उनी भन्छिन् ।
‘साथै तपाईँको जोडी उठ्दा आफू पनि सँगै उठ्न परेन । तपाईँ आफू जतिबेला उठ्न आवश्यक छ त्यतिखेर उठ्न सक्नुहुन्छ ।’

के बेफाइदा पनि छन् ?
सबैभन्दा प्रमुख बेफाइदा भनेको यस्तो अभ्यासका लागि एउटा थप बिछ्यौना चाहिन्छ र सम्भवतः थप एक कोठा पनि । त्यसकारण कैयौँ जोडीहरूका लागि यो विकल्प उपलब्ध नहुन सक्छ ।
कोठा र बिछ्यौनाको प्रबन्ध भए पनि यस्तो निर्णयका केही नकारात्मक पाटोहरू पनि छन् । कैयौँ जोडीहरूमा यसो गर्दा सामीप्य गुम्दै जाने डर हुने विज्ञहरू बताउँछन् ।
‘मेरा श्रीमान्सँगको सम्बन्धको प्रगाढतामा केही परिवर्तन आएको मलाई पनि लाग्छ,’ सेसिलिया स्विकार्छिन् । ‘सम्बन्ध र सामीप्यमा असर पर्छ । तर त्यो धेरै गम्भीर हदसम्म होइन । मेरो विचारमा फाइदा धेरै छन्,’ उनी थप्छिन् ।
डा. कोलिअरका अनुसार दिनभरि काम गर्नेहरूका लागि आफ्नो जोडीसँग नजिक हुने समय भनेको बिछ्यौनामा पुगेपछि हो । ‘त्यसकारण यसको समाधान भनेको सँगै बिताउने समय सकेसम्म धेरै निकाल्नु हो,’ उनी भन्छिन् । डा. ब्रोकमन ‘स्लिप डिभोर्स’ले सबै जोडीका लागि काम नगर्ने बताउँछन् ।
‘जोडी सँगै सुत्दाका केही जैविक फाइदाहरू पनि छन् । कैयौँका हकमा सँगै सुत्दा उनीहरूको सपनामार्फत् सम्बन्ध स्थापित हुने गर्छ । मानव जातिमा यो आदिम कालबाटै स्थापित विशेषता हो । उदाहरणका लागि महिलाले स्तनपानका समयमा आफ्ना बच्चाहरूसँग यस्तो बन्धन स्थापित गर्ने गर्छिन् । उनीहरूको सुत्ने तालिका पनि एउटै हुनेगर्छ र दुवैले आराम पनि पाउँछन् ।’
ती निद्रा विशेषज्ञ थप्छन्ः ‘अध्ययनहरूले कैयौँ वर्षदेखि सँगै सुतिरहेका जोडीहरूमा एक अर्काबीच बन्धन स्थापित भएदेखि गहिरो निद्रा पर्ने पनि देखाएका छन् । यसबाट हामीले आफ्नो सुताइको गुणस्तर सुधार गर्न सक्छौँ ।’
विशेषज्ञहरूका अनुसार छुट्टाछुट्टै सुत्ने निर्णय लिएका जोडीहरूले केही सुझावहरु पालना गर्नुपर्ने हुन्छ । ‘यदि जोडीमध्ये एक जनालाई मात्रै यस्तो गर्न रुचि हुने र अर्कोलाई नहुने हो भने यसले काम गर्दैन । त्यसले रोष मात्रै जन्माउँछ,’ कोलिएर भन्छिन् ।
‘केही मानिसहरू एक्लै सुत्न चाहँदैनन् र त्यसले उनीहरूलाई नराम्रो महसुस हुन्छ । त्यसपछि उनीहरू सँगै सुत्ने सम्झौता गर्छन् ।’ यसमा ब्रोकमन सहमति जनाउँछन् ।
‘घुर्ने, सपनामा हिँड्ने र खुट्टा चलाइरहने जस्ता साँच्चिकै समस्या भएका मानिसहरूका हकमा कठिन हुनसक्छ । किनभने केही मानिसहरू छुट्टाछुट्टै बिछ्यौनामा सुत्न चाहँदैनन् । खास गरी पुरुषहरू यस्तो चाहँदैनन्,’ उनी भन्छन् ।
अध्ययनहरूले भने केही देशहरूमा छुट्टाछुट्टै सुत्ने प्रवृत्ति बढिरहेको देखाएका छन् । यूकेमा पनि सन् २०२० मा न्याश्नल बेड फेडेरेसनले गरेको अध्ययनमा छ जनामा एक जना ब्रिटिशहरू सँगै बसे पनि छुट्टाछुट्टै सुत्ने देखिएको थियो । जसमध्ये पनि १० जोडीमध्ये नौजना फरक–फरक कोठामा सुत्ने गरेका थिए ।
सन् २००९ मा भएको यस्तै अध्ययनमा १० जोडीमध्ये एक फरकफरक बिछ्यौनामा सुत्ने गरेको देखाएको थियो । ‘यसले के देखाउँछ भने पछिल्लो एक दशकमा छुट्टाछुट्टै सुत्ने दर दोब्बर भएको छ,’ न्याश्नल बेड फेडेरेसनले भनेको छ ।
को कहाँ सुत्छ भन्दा पनि सम्बन्धमा रहेका धेरै भन्दा धेरै जोडीहरू रातको समयमा राम्रो निद्रा चाहन्छन् भन्ने देखिन्छ । सिसेलिया परिवर्तित नाम हो ।
अन्तर्वार्तामा उनले आफ्नो नाम सार्वजनिक गर्न नचाहेका कारण उनको नाम गोप्य राखिएको छ ।
–बीबीसी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->