सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

के ढोरपाटनमा पर्याप्त छन् नाउर र झारल ?

के ढोरपाटनमा पर्याप्त छन् नाउर र झारल ?


  • जीवन भण्डारी
  • पुष २७ २०८१, शनिबार

जैविक विविधता, सांस्कृतिक, धार्मिक महत्वका स्थानहरुको संरक्षणका साथै प्राकृतिक सौन्दर्यताले भरिपुर्ण भू–दृष्य साथै दुर्लभ वनस्पति र वन्यजन्तुको संरक्षण तथा व्यवस्थापन गरि पर्या–पर्यटनको विकास गर्ने हेतुले बि.स. २०३९ चैत्र २८ मा स्थापना भई बि.स. २०४४ बैशाख १४ को राजपत्र भाग ३ खण्ड ३७ संख्या २ मा सूचना प्रकाशित भई ढोरपाटन शिकार आरक्षको घोषणा गरिएको हो ।

ढोरपाटन शिकार आरक्ष बागलुङ, म्यादी र पुर्वी रुकुममा फैलिएको छ । कुल भू–भागको ६०% पुर्वि रुकुम, २६% बागलुङ र १४% म्यादीले ओगटेको छ । यसको क्षेत्रफल १३२५ वर्ग कि.मी. निर्धारण गरिएको छ । पुर्वमा चुरेन हिमालबाट सुरु भई धौलागिरी हिमालको चुचुरो, पश्चिम लुगुम, टक, यम्खार गाउँ हुँदै जाङ्ला भञ्ज्याङ, उत्तरमा सुनदह हुँदै चुरेन हिमालसम्म र दक्षिणमा भाल्ने डाँडा हुँदै कुचिवाङ खोलाको मुहानसम्म आरक्षले चार किल्ला मान्दै आएको छ । यो नेपालको एकमात्र शिकार आरक्ष हो । नाउर, झारल, बँदेलका साथै केही पंक्षीको शिकार गर्न सकिन्छ । राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहयोगमा राष्ट्रिय प्रकृती संरक्षण कोषले ५ वर्षमा गणना गरी वार्षिक कोटा निर्धारण गर्ने गर्दछ । बिभिन्न चरणको प्रक्रिया पुरा गरि स्वदेशी तथा विदेशी पेशेवर शिकारीहरुले शिकार गर्न पाउने व्यवस्था रहेको छ । हालसम्म ८ वटा कम्पनीहरु बैधानिक रुपमा शिकार गर्न संलन्न हुँदै आएका छन् ।

आरक्षमा सुर्तिवाङ, फागुने, बार्से, घुस्टुङ, सुनदह, दोगाडी र सेङ गरि ७ वटा ब्लगहरु छट्टाईएको छ । बार्से म्यादीमा, सुर्तिवाङ र फागुने बागलुङमा पर्छ भने बाँकी ४ ब्लगहरु पुर्वी रुकुममा पर्छ । नाउर (जंगली भेडा) उच्च भूभाग ३५०० मिटर माथि नाङ्गो पाटनमा बस्ने भएकाले गणना सकिन्छ । त्यस्तै झारल, घोरल, रतुवा, बँदेल लगायतका अन्य जनावर जंगल क्षेत्रमा बस्ने हुँदा गणना गर्न सकिदैँन । गणना गरिएको अवस्था पनि छैन् ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ढोरपाटन शिकार आरक्ष कार्यालय ढोरपाटनको अनुसार बि.स. २०४७ बाट शिकार गर्न थालिएको हो । बि.स. २०५५ देखि बि.स. २०६४ सम्म राजनैतिक द्धन्द्धका कारण ९ वर्ष शिकार पुर्ण रुपमा बन्द गरिएको थियो । आरक्षमा बि.स. २०८१÷८२ को पहिलो सिजन सकिंदासम्म नाउर, झारल, रतुवा र बँदेल गरि ४ सय ९ वटाको शिकार गरिएको छ । जुन तथ्यांक बि.स.२०६७ पछिको मात्र हो । त्यो भन्दा पहिला के कति शिकार भएको भन्ने तथ्यांक तत्कालिन बिद्रोही माओवादीहरुले आरक्ष मुख्यालय पाखाथरमा रहेको सम्पुर्ण कागजात जलाईदिएकाले उपलब्ध छैन ।

शिकारका लागि छुट्टाइएको ब्लगमा गरिएको शिकारको बिवरण हेर्दा नाउर २६३, झारल १२६, रतुवा १५ र बँदेल ५ वटा शिकार गरिएको छ । जसमध्ये सबैभन्दा धैरै दोगाडी ब्लगमा नाउर ९०, झारल १९ वटा शिकार गरिएको छ । झारल सबैभन्दा धेरै फागुने ब्लगमा ३५ वटा, नाउर ३४ शिकार गरिएको छ । म्याग्दी खण्डको बार्से ब्लगमा नाउर २९ र ५ वटा रतुवाको शिकार गरिएको छ । त्यस्तै सबैभन्दा कम शिकार गरिएको ब्लग सुर्तिवाङ हो । जसमा २ वटा मात्रै झारलको शिकार गरिएको छ । बँदेलको शिकार सबै फागुने ब्लगमा गरिएको छ । शिकारका लागि धनाढ्य पेसेबर शिकारीहरु आउने गर्छन् । अहिलेसम्मको तथ्यांक हेर्दा सबैभन्दा धेरै युरोपका छन् । जसमा रुस, स्पेन, फ्रान्स, जर्मनी, बेलारुस, बुल्गेरिया, लातभियाका छन् । अमेरिकन, मेक्सिकन, अष्ट्रेलियन पनि आउने गर्छन् । त्यस्तै एसिया महादेशबाट भने उजेकिस्तानका नागरिकले मात्रै शिकार गरेका छन् ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ढोरपाटन शिकार आरक्ष कार्यालय अनुसार, २०३६ को गणनामा नाउरको संख्या १४६० थियो । झुण्ड १३२ थियो भने २०७९ मा नाउर १२९०, झुण्ड ७९ थियो । त्यस्तै सबैभन्दा बढी नाउर २०७३ मा २२०२, झुण्ड ८३, सबैभन्दा कम २०६४ मा ८५२ र झुण्ड ७३ मात्रै गणना गरिएको थियो ।

आरक्षमा बि.स. २०८१ सालको पहिलो सिजन सकिंदासम्म नाउर, झारल, रतुवा र बँदेल गरि ४०९ वटाको शिकार गरिएको छ । जुन बि.स. २०६७ पछिको तथ्याङ्क हो । बि.स. २०४७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ३६ नाउर र १६ वटा झारल शिकार गर्न अनुमति दिएको देखिन्छ । बि.स. २०५५ सम्म ८ वर्ष नियमित शिकार भएको देखिन्छ । जुन समयमा शिकारको संख्या बढी हुने गरेको पाईन्छ । यसरी द्धन्द्धकालको ९ वर्षलाई छोडी हेर्दा २४ वर्षको अवधिमा तथ्यांक नभएको अवस्थामा के कति जंगली जनावरहरु शिकार भएको अनुमान लगाउन मात्रै सकिन्छ ।

यसरी वर्षेनी अबोध जंगली जनावरहरु हन्टिङ ट्रफीको लागि मारिनु के उचित हो त ? भलै नेपालले शिकार खेलाए बापत राम्रै अर्थोपार्जन त गरेको छ । तर हरेक ५ वर्षमा हुने गणनामा नाउरको संख्या घट्दो क्रममा देखिन्छ । कतै लोप भई जाने त होईनन् ? कहिंकतै प्रश्न उठेको सुनिदैन । के बैधानिक रुपमा शिकार खेलाएर मात्रै नाउर लगाएतका जनावरको संख्यामा गिरावट आएको हो त ? कि गणनामा त्रुटी भएको हो ? कि आरक्षमा ब्वाँसा, हिमचितुवाको संख्या बढेकाले अन्य जनावर घटेका हुन ? कि आरक्षमा चोरी शिकारी भएको त छैन ? कैयन प्रश्नहरु छन् सम्बन्धित निकाय सामु । पक्कै पनि सरोकारवाला निकायको ध्यान पुग्ने छ कुनै दिन ।

ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्रको रैथाने बासिन्दा भएकाले आरक्षसँग जोडिएका अनेक किस्साहरु छन् । स्थानीय भएको नाताले शिकार आरक्षभित्र हुने गरेका केही गतिबिधीहरुको थोरबहुत जानकार छु । मेरा केही अनुभवहरु राख्दा सान्र्दभिक नै होला ।

गत दशै बिदाको मेसोमा आरक्ष भित्रका ब्लगहरु घुम्ने मेसो मिलेको थियो । आरक्षमा पाईने जिवजन्तु, चराचुरुङ्गी आदिको गतिबिधी नियाल्न लोभ त थियो तर छोटो समयको घुमाइ अनि प्रतिकुल मौसमका कारण त्यो सम्भव भएन् । फागुने ब्लग पार गरि घुस्टुङ ब्लग भित्रको थागुर भन्ने ठाउँमा केही गोठहरु थिए । रुकुमेली साहुको सानो होटलमा बास बसियो । नाउर झारल सम्बन्धि मेरो जिज्ञासामा साहु भन्दै थिए, ‘दशै लागेसँगै बुकी सुनसान भयो हिजो राती ९ बजेतिर सिकारीले पाँच पटक बन्दुक हाने मुर्चुला देउराली तल हुनुपर्छ । रातमा हान्छन् शिकारीहरु ।’ शिकार आरक्ष पेल्मा पोष्टमा कार्यरत राम क्षेत्री (परिवर्तित नाम) कर्मचारी ढोरपाटन कार्यालयमा पुग्न अबेर भएकाले त्यहीं बसेका थिए । उनी भन्दै थिए, ‘सबैभन्दा बढी झारल चोरी शिकार हुने घुस्तुङ ब्लगमा हो । चोरी शिकारीको गिरोह नै सक्रिय छ । चिनेर पनि केही गर्न नसकिने अवस्था छ । यस्तो जंगलको बाटो एक्लै हिंड्नुपर्छ, ज्यानको मायाले गर्दा केही गर्न र बोल्नै नसकिने रैछ त्रास छ हजुर ।’

ज्यानको माया कसलाई पो नहोस् । ति कर्मचारीको कुरा गम्भिर थियो । ति सरकारी कर्मचारीलाई चोरी गर्ने शिकारी पक्राउ गर्न नसकेकोमा हिनताबोध थिएन बरु ज्यान बचाउन पाएकोमा खुशी थिए उनी । उनको कुरा गराईबाट प्रष्ट हुन्थ्यो । २०७३ देखी शिकार आरक्ष सुरक्षार्थ नेपाली सेनाको एक गुल्म तैनाथ रहेको छ । सेनाको गुल्म मुख्यालय पाखाथरमा छ । गुर्जाघाट, निसेलढोरामा र देउरालीमा सुरक्षा पोस्ट खडा गरिएको छ । जुन शिकार आरक्षको तल्लो क्षेत्र हो । सबैभन्दा धेरै आरक्ष भूभाग रहेको पुर्वि रुकुम र म्याग्दी खण्ड जुन ठाँउमा आवस्यकता छ त्यहाँ सुरक्षा पोस्ट राखिएको छैन ।

समय समयमा शिकार आरक्षले भरुवा बन्दुक, पासो, घरेलु हतियारसहित चोरी शिकारी पक्राउ गर्यो भन्ने समाचार मिडियाहरुमा सुन्ने र पढ्ने गरिन्थ्यो । त्यस्तै समाचार गत वर्ष मंसिर २ मा चोरी शिकार गर्दै गरेका म्यादी जिल्ला धौलागिरी गाउँपालिका गुर्जाखानीका पे्रम छन्त्याल, पहलमान छन्त्याल र सुमन छन्त्याललाई भरुवा बन्दुक, पासो, नाउरको मासुसहित बार्से ब्लकको मनसुन मेलाबाट पक्राउ गरिएको भन्ने समाचार देशका मुल धारका मिडियाहरुले प्राथमिकताको साथ स्थान दिएका थिए । सरसर्ती हेर्दा त्यो घटनाले पुष्टी गर्छ कि मनसुन मेला ३५०० मिटर माथिको क्षेत्र हो । त्यहाँ कुनै सुराकी बिना आरक्ष कर्मचारी र सेना जान सक्ने सम्भावना नै छैन । कहिलेकाहीँ नेपाली सेना गस्ती गर्न तल्लो एरियामा जाने गर्छ । सुरक्षा पोस्ट र रेञ्ज पोस्ट रुवालचौर, घुस्टुङ, पेल्मा, पुपाल, डुले, स्याङखोला जस्ता उच्च क्षेत्रहरु जहाँ चोरी शिकारी अत्याधिक हुने गर्छ, त्यहाँ आवस्यक देखिन्छ । ढोरपाटनको फाँटमा भए जतिका सेना, शिकार आरक्ष कर्मचारी कोचेर राखिएको छ । जबकी त्यहाँका जनताहरु चोरी शिकार गर्न नहुनेमा आफैमा सचेत छन् । दुले, पेल्मा, टक शेरा, गुर्जाखानी पोष्टमा कार्यरत शिकार आरक्ष कर्मचारीहरुको हालत राम क्षेत्रीको जस्तै छ । मुर्खदेखि दैव डराउनु भन्ने उखान उनीहरुमा लागु हुन्छ ।

२०६४ को गणनामा नाउरको संख्या ८५२ मात्रै गणना भएको देखिन्छ । तत्कालिन बिद्रोही माओबादीको आधार इलाका भएकाले चोरी शिकार भएर घटेको हुनसक्छ । तर २०६८ मा १६४८ र २०७३ को गणनामा २२०२ नाउरको गणना गरिएको छ । हरेक ५ वर्षमा हुने गणनामा नाउरको संख्यामा तलमाथी देखिन्छ । यि आँकडा हेर्दा आरक्षउपर शंका उत्पन्न हुन्छ । तथ्यांक हेर्दा स्थानीयलाई चित्तबुझ्दो छैन् । शिकार आरक्षको सुरक्षार्थ नेपाली सेना खटिएको अवस्थामा जंगली जनावरको संख्यामा बृद्धि हुनुपर्नेमा उल्टो घट्दो छ । जुन चिन्ताको विषय हो । किन र कसरी नाउरको संख्यामा उतारचढाव आएको हो खोजी गनुपर्ने देखिन्छ । शिकार आरक्षको एकजना जिम्मेवार कर्मचारीको अनुसार, आरक्षमा हिम चितुवाको संख्या बढेसँगै नाउरको संख्यामा कमि देखिएको हो अनुमान छ ।

शिकार आरक्ष स्थापना कालदेखिनै आरक्षमा कार्यरत जो गणनामा पटक पटन सहभागि भएका थिए । हाल अवकाश प्राप्त ति कर्मचारीहरु सँगको छलफलमा स्यामलाल मगर (परिवर्तित नाम) भन्छन, ‘हाम्रो पालामा गणना गर्ने प्रबिधीको विकास भएका थिएन । बाइनोकुलरको साहायताले हेरेर गणना गर्नुपर्यो । प्रत्येक ब्लकमा छुट्टाछुट्टै गिन्ती हुन्थ्यो । सबै ब्लकको गणना सकेपछि हाकिमहरुले माथि पठाउँथे । कुनै कुनै ठाँउमा जान सकिदैनथ्यो, अनुमानको भरमा पनि नाउरको संख्या टिपाईएको हुन्थ्यो ।’

हिजोआज प्रविधिले फड्को मारिसकेको अवस्था छ । ढोरपाटन शिकार आरक्षको सातै ब्लकमा नाउर गणनामा त्रुटी हुँदैन होला । कतै ति स्यामलाल मगरले भनेझै अनुमानको भरमा नाउरहरुको नम्बर माथि चढाईएको त छैन ? हन्टिङ ट्रफीको लागि आउने ति शिकारी खेलाडीहरुको लागि शिकार गर्न दिंदै गर्दा कतै ढोरपाटनका बुकी फाँट, खगरमा डुल्ने नाउर अनि चिमली र भुजिपातको झाडीमा लुक्ले झारल लोप भई जाने त होईनन् ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->