बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिकाको खोजी

उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिकाको खोजी

‘देखेर हैन, बुझेर व्यवसाय थाल्दामात्र सफल’


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८१, आइतबार

पोखरा/  पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) को सहकार्यमा ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरेको छ ।

ग्रामीण पर्यटन प्रवद्र्धनसँगै गाउँमा उद्यमशिलता खोजी एवं त्यसको बजारीकरणको सम्भावनाको समेत खोजी गर्ने उद्देश्यले मादी गाउँपालिका–३, याङ्जाकोटमा आयोजित कार्यशालाको वडाध्यक्ष विकास गुरुङले उद्घाटन गरे । गुरुङले व्यवसाय गर्नु भनेको नाफाको सपनामात्र नभएर सम्भावित नोक्सान सहनुसमेत भएको बताउँदै लगानी गर्नेलाई राज्यबाट विशेष सुविधा दिनुपर्ने बताए ।

‘लगानी गर्दा घाटा पनि हुनसक्छ । व्यवसाय गर्नेले लगानी गर्छ, त्यो लगानीको सुरक्षाको लागि राज्यले विशेष वातावरण बनाइदिनुपर्छ,’ उनले भने, ‘उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना हुने खालका उद्योग÷व्यवसाय गर्नेलाई प्रोत्साहित गर्नु नै राज्यको कर्तव्य हो ।’ मादी गाउँपालिकाले पर्यटन प्रवद्र्धनसँगै पूर्वाधार निर्माण र एवं ग्रामीण उत्पादनको बजारीकरणको लागि काम गरिरहेको बताउँदै उनले सो क्षेत्रमा उत्पादित बस्तुको बजारीकरणमा पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने बताए ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्यम गर्नु भनेको आफू आत्मनिर्भर हुनुमात्र नभएर रोजगारी सिर्जना गर्नु तथा देशको अर्थतन्त्रलाई टेवा दिनु भएकोले राज्यले व्यावसायिक वातावरण निर्माणको लागि योजनावद्ध काम गर्नुपर्ने बताए । उद्योग÷व्यवसाय गर्ने वातारण निर्माण गर्नु राज्यको दायित्व भएको भन्ने वडाध्यक्ष गुरुङको भनाइमा सही थप्दै अध्यक्ष कार्कीले भने, ‘आयातमुखी अर्थतन्त्रलाई सुरुमा निर्वाहमुखी र पछि निर्यातमुखी बनाउनको लागि योजनाबद्ध रुपले काम गर्नुपर्छ । गाउँमा उत्पादित कृषिजन्य बस्तुको बजारीकरणमा सहयोग गर्नुपर्छ । यो अभियानमा पोउवा संघ पालिका एवं महानगरसँग सहकार्य गर्न तयार छ ।’ अभिमुखीकरण कार्यक्रमका प्रमुख प्रशिक्षक आरसी लामिछानेले राज्यका नीतिहरुबारे जानकारी राख्दै उत्पादकत्व बढाउने खालका इलम गर्नको लागि इच्छा र नयाँ सोच जरुरी रहेको बताए । उनले अर्काको देखासिकी गरेर हैन कि योजना बनाएरै व्यवसाय गर्दामात्र सफलता हात लाग्छ भन्ने कुुरा बुझन् व्यवसायीसँग आग्रह गरे ।

व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले देशका पालिकामध्ये पहिलोपटक महानगरले व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत् निजी क्षेत्रका समस्या समाधान, उद्यमशिलता विकास र रोजागारीको लागि नयाँ कामहरु गरिरहेको चर्चा नयाँ सोचसहित उद्योग/व्यवसाय गर्नेलाई महानगरले आर्थिक र प्राविधिक सहयोग गर्ने जानकारी दिए । ‘मान्छे बिरामी भयो भने अस्पताल वा क्लिनिक जान सकिन्छ, व्यवसाय नै बिरामी भयो भने कहाँ जाने ? पोखरा महानगरको व्यवसाय प्रवद्र्धन केन्द्र उद्योग÷व्यवसायलाई तन्दुरुस्त राख्ने थलो हो,’ उनले भने, ‘निजी क्षेत्रसँगकै सहकार्यमा हामीले कामहरु गरिरहेका छौँ र निजी क्षेत्रमैत्री वातावरण निर्माणमा नै हाम्रो ध्येय हो ।’

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका लेखा अधिकृत छवि तिमिल्सिनाले पालिका भनेको दिने र निजी क्षेत्र भनेको लिने संस्था हो भन्ने सोच्न नहुने बताउँदै सार्वजनिक निजी साझेदारीलाई सफल पार्न दुबैबीच एकता हुनुपर्नेमा जोड दिए । उद्घाटन सत्रमा धन्यवाद ज्ञापन गर्दै संघका उद्योग उपाध्यक्ष दीनेशचन्द बास्तोलाले दिगो आर्थिक विकासका लागि योजनाबद्ध रुपले अगाडि बढ्नु, उद्यमशीलता प्रवद्र्धन गर्नु तथा डिजिटल इनोभेसनलाई आत्मसात् गर्न सहजीकरण गर्ने दिशामा अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताए ।

संघका महासचिव शोभा गौतमका अनुसार दुईदिने कार्यशाला गोष्ठीमा सार्वजनिक निजी साझेदारीमार्फत् नयाँ अवसर सिर्जना गर्ने, श्रोत र साधनको लागि नयाँ अवसरहरु खोज्ने, स्रोतको प्रभावकारी व्यवस्थापन गर्ने, र अन्तर्राष्ट्रिय व्यापार प्रवाहसँग निजी क्षेत्रलाई समायोजन गर्नका लािग आवश्यक पर्ने रणनीतिबारे प्रशिक्षण दिइएको थियो । कार्यशालामा प्रमुख प्रशिक्षक डा. आरसी लामिछाने र सार्र्वजनिक निजी साझेदारी अनि नूतन सम्भावनाबारे व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले प्रशिक्षण दिएका थिए । महासविच गौतमका अनुसार कार्यशालाले निजी क्षेत्रको संस्थागत क्षमतामा बढाउने, क्षेत्रीय तथा राष्ट्रिय स्तरमा पोखरालाई आर्थिक विकासको केन्द्रबिन्दु बनाउन नयाँ रणनीतिक योजना पनि तय गरेको छ । कार्यशालामा निजी क्षेत्रका ८० जना उद्योगी÷व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->