सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्वास्थ्यका तगारा हट्छन्, पर्खाल भत्किन्छन् : मन्त्री पाठक

स्वास्थ्यका तगारा हट्छन्, पर्खाल भत्किन्छन् : मन्त्री पाठक

धौलागिरि प्रादेशिक अस्पताललाई एक सय शैयाको रुपमा स्तरोन्नती गर्ने विषयमा कसैलाई शंका नगर्न मन्त्री पाठकको आग्रह थियो ।


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०८१, मंगलबार
??????

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा देखिएका तगारा हट्ने र पर्खाल भत्कने बताएका छन् ।
मंगलबार धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा अस्पताल व्यवस्थापन समिति गठन आदेश २०८० को दफा ३ बमोजिम जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा गठित अध्यक्ष तथा सदस्यहरुको पदावली कार्यक्रममा बोल्दै मन्त्री पाठकले भने, ‘यो अस्पतालमा मिडवाई फरी वा नर्सिङ पढाउने भन्नेबारे व्यवस्थापन समितिको अध्ययन पछिको निष्कर्ष र सबैको सुझाव सल्लाह लिएर अघि बढिने छ ।’
धौलागिरि प्रादेशिक अस्पताललाई एक सय शैयाको रुपमा स्तरोन्नती गर्ने विषयमा कसैलाई शंका नगर्न मन्त्री पाठकको आग्रह थियो । ‘मेडवाई फ्रि वा नर्सिङ पढाउने विषयमा मुख्यमन्त्री पनि सकारात्मक हुनुहुन्छ’ मन्त्री पाठकले भने, ‘यो कसैको प्रतिष्ठाको विषयमा होइन, सबैको साझा विषय हो ।’ बागलुङबाट प्रतिनिधित्व गर्ने माननीयहरु मुख्यमन्त्रीसंग बसेर यो विषयमा टुंगो लगाउने उनको भनाई थियो ।’
स्वास्थ्य क्षेत्रमा केही काम गर्ने लक्ष्य र योजनाका साथ आफु अघि बढेको मन्त्री पाठकले बताए । ‘स्वास्थ्य क्षेत्रमा अफ्ठ्यारा छन्, तर यसले मलाई छुदैन’ मन्त्री पाठकले भने, ‘जनताको स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई प्रभावकारी बनाउन मलाई सबैको साथ र सहयोग चाहिन्छ ।’ धौलागिरि प्रादेशकि अस्पतालको उन्नती र प्रगतिको लागि आफु सधैं सक्रिय रहने मन्त्री पाठकले प्रतिवद्वता व्यक्त गरे ।
नीति बनाउने र नियमन गर्ने व्यक्तित्व नै व्यवस्थापन समितिमा रहेकाले अस्पतालको सेवाबाट जनता लाभान्वित हुने पाठकको विश्वास थियो । कार्यालय समयमा अस्पतालमा आउने बिरामीलाई प्रतिक्षामा राखेर बाहिर आफ्नो व्यवसाय प्रवद्र्वन गर्ने वा मेडिकलमा धाउने प्रवृत्ति बढिरहेकोप्रति रोष व्यक्त गर्दै मन्त्री पाठकले चेतावनी दिँदै भने, ‘अस्प्ताल आउने नागरिककलाई प्रभावकारी सेवा दिन नसक्ने डाक्टर र कर्मचारीको यस्तो रबैया अब स्वीकार्य हुँदैन ।’
भिडियो एक्स–रे गराउन आउने सेवाग्राहीले बढि सास्ती खेपिरहेको चर्चा गर्दै मन्त्री पाठकले भने, ‘भिडियो एक्स–रेमा खटिने डाक्टरलाई म सुध्रन आग्रह गर्छु, चिन्तित मनन गर्नुहोला, राम्रो काम गरे संरक्षण गर्छु नत्र कार्वाही भोग्न तयार हुनुहोला ।’ पाठकले स्वास्थ्यकर्मीलाई ड्युटीफुल हुन आग्रह गरे । कार्यालयको ड्युटी सकेर डाक्टरलाई व्यवसाय गर्न उनको आग्रह थियो । राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नेगरी कार्यविधि बनाउनेबारे छलफल भईरहेको उनले बताए ।
मन्त्री पाठकले अस्पताल व्यस्थापन समितिका अध्यक्ष अमर बहादुर थापा लगायतका सदस्यहरुलाई पदावली गराएका थिए । प्रदेश सरकारको निर्णय अनुसार अध्यक्षमा जिल्ला समन्वय समितिको प्रमुख अमर थापा रहेका छन् भने सदस्यहरुमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल सदस्य छन् । त्यस बाहेक कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख किसोर श्रेष्ठ समेत सदस्य रहने प्रावधान छ ।

सो अवसरमा बोल्दै नवनियुक्त अध्यक्ष थापाले अस्पताललाई जनतामुखी बनाउने प्रतिवद्वता व्यक्त गरेका थिए । स्वास्थ्यकर्मी र प्रशासन चलाउने कर्मचारीले आफ्नो दायित्व पुरा गरे अस्प्तालबाट सर्वसाधारण जनताका लागि स्वास्थ्य सेवा सर्वसुलभ हुने थापाले बताएका थिए ।
अस्पतालका प्रमुख डा. किरण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर तथा अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तथा अस्पताल व्यवस्थापन समितिका सदस्य नेत्र प्रसाद सुवेदी, पूर्व अध्यक्ष नारायण प्रसाद शर्मा, स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका चिकित्सा महाशाखा प्रमुख डा. रमेश कुमार केसी लगायतले बोलेका थिए । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शर्मासहित सदस्यहरुलाई सम्मान गरिएको थियो । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. किरण तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत डा. अमिट ढुंगाना र संचालन अस्पतालका मेडिकल रेकर्डर नवराल पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->