बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सरकारले निजी क्षेत्रको वर्षाैदेखिको समस्या समाधान गर्यो : अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रको वर्षाैदेखिको समस्या समाधान गर्यो : अध्यक्ष ढकाल


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०८१, बुधबार

म्याग्दी/नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि अहिलेसम्मकै उत्कृष्ट काम गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । आर्थिक अवस्था खुम्चिएको अवस्थामा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न कानुन संशोधन गरी सहज वतावरण बनाएको बताए । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सञ्चालित आठौं संस्करणको म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको मंगलबार समापन कार्यक्रमका प्रमुख अतिथि ढकालले नेपालमा लगानीको प्रसस्तै सम्भावनालाई आर्थिक नितिले समेत थप बल पुगेको बताए ।
‘सरकारले हामीलाई काम गर्ने वातावरण बनाएको छ,लगानी तथा उद्यमसँग सम्बन्धित कानुनहरू संशोधन सराहनीय छ’ अध्यक्ष ढकालले भने । उनले नेपाल सरकारले कानुनमा देखिएका समस्या समाधान गरेको अवस्थामा अब पनि लगानीमैत्री वातावरण छैन भन्नु गलत भएको बताए । ‘निजी क्षेत्रको मनोबल बढाउन अहिलेसम्म गरिएको प्रयास सरकारले अनुमोदन गरेको छ’अध्यक्ष ढकालले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि समावेश गर्ने प्रावधान हटाएर सरकारले ब्यवसायीलाई लगानीमैत्री वातावरण बनाएको बताए ।
अध्यक्ष ढकालले बर्तमान सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधारर भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा निजी क्षेत्रसँग जोडिएका क्षेत्रका लागि स्वर्णिम अवसर भएको बताएका थिए ।अध्यक्ष ढकालले अब जिल्लाभित्र लगानीका सम्भावनामा संयुक्त लगानीका लागि आफुँ तयार रहेको बताए।‘यहाँ ब्यवसायीक योजना बनाउनु मैले पनि लगानी गर्छु सबै मिलेर जिल्लामा रोजगार दिन मिल्ने क्षेत्रमा लगानी गरौं’ अध्यक्ष ढकालले भने ।
म्याग्दी महोत्सवको समापनमा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ शान्त र उत्साहजनक उपस्थितीमा सम्पन्न भएको बताए ।
‘लक्ष्य गरेअनुसारकै कारोवार भएको छ, महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभारी छौं, हामीले अव उत्पादन र रोजगारमुखी क्षेत्रमा बजेट भित्राउन पहल गछौं‘ अध्यक्ष श्रेष्ठले भने । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुलामञ्चमा गत पुस २८ देखि माघ ८ गतेसम्म १० दिनसम्म चलेको महोत्सवमा करिब १० करोडको कारोबार र १ लाख दर्शकले प्रत्यक्ष, अप्रत्यक्ष अवलोकन गरेको संघका कोषाध्यक्ष एवम् आर्थिक संयोजक सुमन श्रेष्ठले बताए ।
महोत्सवमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च भएर म्याग्दी उद्योग बाणिज्य संघलाई पाँच लाख १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य लिएको छ । महोत्सवमा कृषि प्रदर्शनी, कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्र्यौली नृत्य, एकल र खुला नृत्य प्रतियोगिता, फोटो प्रदर्शनी लगायत आयोजना गरिएको थियो ।
महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २८०स्टलहरूमा समेत उत्साहजनक कारोबार भएको छ । परम्परागत रूपमा लाग्दै आएको मेलालाई व्यवस्थित गर्दै २०६० सालदेखि म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजकत्वमा प्रत्येक तीन–तीन वर्षमा म्याग्दी महोत्सव आयोजना हुनेगरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->