म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा मालिका गाउँपालिका–३, रूमको रेन्बो ट्राउट माछा, भिरमह, सिलाजित लगायतका जडिबुटी समेत पाइन्छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सञ्चालित आठौं संस्करणको म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको अवसरमा कृषिजन्य स्थानीय अर्गानिक उत्पादनहरुको बिक्री, वितरणसहित प्रदर्शन गरिएको छ ।
महोत्सव लगाइएको बेनीको खुलामञ्च परिसरभित्र बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा उत्पादित कृषि, घरेलु तथा सामूहिक उत्पादनहरुको प्रदर्शन गरिएको छ ।म्याग्दीमा जल,जमिन, जंगलभित्र पाइने सबै अर्गानिक तथा जडिबुटी अल्लो र त्यसबाट निर्माण गरिने सामग्री रहेको छ । अल्लोबाट निर्माण गरिएका सामग्रीको माग बढ्दै गएपछि म्याग्दीमा महिला उद्यमीहरूले अल्लो र ढाकाका साम्रगी बिक्री गरिरहेका छन् ।लेकाली साग, ढकायो,च्याउ,सिल्टीमुर, भटमास,चरेलाको सुकुटी, मुलाको धजरा,सिन्की, अल्लो र ढाकाको कपडा बढी बिक्री भएको छ । महोत्सवको मूल आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले यसपटक म्याग्दीमा उत्पादिन बस्तुहरूको स्टलबाटै धमाधम बिक्री समेत भइरहेको बताए । ‘स्थानीय उत्पादनलाई हामीले प्राथमिकता दिएका छौ,यसपटक बिक्रीवितरण समेत उत्साहजनक छ, सबैतिरबाट उत्पादन आउँदा उद्यमी समेत उत्साहिन हुनुहुन्छ’ अध्यक्ष श्रेष्ठले भने ।
उनका अनुसार महोत्सवस्थलमा म्याग्दीमा उत्पादन हुने सबैजसो प्रर्दशनीमा रहेको बताउँदै अव बिक्री अनुसार उत्पादनमा समेत थप सहज हुने बताए । महोत्सवमा रहेका स्थानीय तह र उद्यमी गरी दुई उत्कृष्टलाई नगद सहित सम्मान गरिने छ । महोत्सव बिक्री वितरणका लागि सजिलो माध्यम भएकाले यसपटक उत्साह थपिएको धवलागिरीको स्टलमा रहेका अनिल भण्डारीले बताए । पालिकाभित्र उत्पादन भएका सबै बस्तुलाई एकैठाउँबाट बिक्री गर्न सजिलो भएको भण्डारीको भनाई छ । ‘हामीलाई निकै सहज भएको छ, स्टलमै गार्उँपालिका झल्किएको छ’ ब्यवसायी भण्डारीले भने । सरकारी तथा गैरसरकारी संस्थामार्फत तालीम लिएर उद्यमी बनेका अधिकांशले उत्पादनले बजार पाउन थालेपछि अन्य घरायसी कामसमेत छोडेर अल्लो र ढाकाका सामग्री बनाउने तथा अर्गानिक उपभोग्य बस्तु बिक्री गर्ने गरिएको अन्नपूर्ण गाउँपालिका–८,राम्चेकी अगुवा महिला राममायाँ पुनले बताइन् ।
स्थानीय उत्पादनहरुको बिक्री, वितरण र प्रदर्शन गर्नको लागि म्याग्दी उद्योग वाणिज्य संघले निःशुल्क रुपमा स्टल उपलब्ध गराएको थियो । म्याग्दीका उत्पादन र महिला उद्यमीले राखेका अन्य स्टललाई समेत सहुलियत प्रदान गरिएको महासचिव नारायण जिसीको भनाई छ । माघ ८ गतेसम्म सञ्चालन हुने महोत्स सामानको खरिद–बिक्री र मनोरञ्जनका लागि मात्र नभएर जिल्लाको समग्र सम्भावना उजागर गरी लगानी भित्र्याउने, आर्थिक गतिविधिलाई चलायमान बनाउने, स्थानीय उत्पादनको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा सघाएको छ । परम्परागत माघेसंक्रान्ति मेलालाई निरन्तरता दिन म्याग्दी र कालीगण्डकीको दोभानमा पर्ने बेनी बजारमा ०५८ देखि ०७८ सम्म सातपटक म्याग्दी महोत्सव आयोजना भएको थियो । महोत्सवमा एक लाख स्वदेशी पर्यटक भित्राउने र १० करोडबराबरको व्यापारिक कारोबारको लक्ष्य राखिएको छ ।





