आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा कप राष्ट्रिय बास्केटबल : घरेलु टोली गण्डकी च्याम्पियन

पोखरा कप राष्ट्रिय बास्केटबल : घरेलु टोली गण्डकी च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • माघ १० २०८१, बिहिबार

पोखरा/पोखराको बास्केटबलमा ऐतिहासिक मानिएको पोखरा कप राष्ट्रिय बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको छ । गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा बिहिबार सम्पन्न फाइनल खेलमा बागमति प्रदेशलाई ८१–७८ को स्कोरले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । अत्यन्तै रोमाञ्चक बनेको फाइनल खेलको पहिलो र दोस्रो क्वाटरमा गण्डकीले अग्रता लिएपनि तेस्रो क्वाटरको खेल सकिदा बागमतिले अग्रता कायम गरेको थियो । चौथो तथा अन्तिम क्वाटरको समेत अन्त्यसम्म बागमति नै हाबी रहेपनि अग्रता कायम गर्न नसक्दा अन्ततः गण्डकीले ३ अंकको झिनो अन्तरले जित हासिल गर्न सफल भएको हो । गण्डकीको जितमा अस्विन चालिसेले उत्कृष्ट प्रदर्शनी गर्दै व्यक्तिगत २० स्कोर गरे । उपाधिसँगै गण्डकीले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गरेको छ । यस्तै बागमति प्रदेशले उपविजेता हुँदै ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको छ । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो । लुम्बिनीले ३३ हजार तीन सय ३३ रुपैयाँ हात पा¥यो । यस्तै प्रतियोगितामा गण्डकीका राज गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । गण्डकी बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले गण्डकीमा बास्केटबलको राष्ट्रिय स्तरको प्रतियोगिताको खडेरी लागिरहँदा अहिले त्यसको अन्त्य भएको बताए । उनले संघको नयाँ कार्यसमिति आएसँगै गतिविधिहरु अघि बढेको समेत सुनाए । पोखरामा यस अघि भएको बास्केटबलको सबैभन्दा ठूलो खेल नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बास्केटबल इभेन्ट थियो । त्यो बाहेक राष्ट्रिय स्तरको प्रतियोगिता हुन सकिरहेको थिएन । गण्डकी प्रदेशमा बास्केटबलको क्रेज निकै राम्रो रहेपनि यसलाई प्रबद्र्धन गर्न आवश्यकता रहेको उनको भनाइ थियो । ‘बास्केटबलको इभेन्ट नै नभएको भने होइन । विभिन्न क्लबहरुले क्लबस्तरीय प्रतियोगिता गरिरहेकै छन् । खाली राष्ट्रिय स्तरकै मात्र नभएको हो’ उनले भने, ‘वास्तवमै भन्नुपर्दा गण्डकीका धेरै ग्रामिण क्षेत्रमा हरेक वर्ष बास्केटबल प्रतियोगिता हुँदै आइरहेका छन् । त्यसको पनि प्रबद्र्धन गर्नु आजको आवश्यकता हो ।’ गण्डकी प्रदेशले बास्केटबलमा समेत सम्भावना बोकेको उनी सुनाउछन् । तीन दिनसम्म चलेको प्रतियोगितामा गण्डकीसँगै बागमती, कर्णाली, लुम्बिनी र मधेश प्रदेशको सहभागिता रहेको थियो । सुदुरपश्चिम र कोशी प्रदेशको सहभागिता रहेन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->